काठमाडौँ(जस)–नेपाली जनसम्पर्क समितिको विश्वस्तरीय प्रशिक्षण कार्यक्रम डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार राति प्रारम्भ भएको छ । तीन दिनसम्म चल्ने कार्यक्रमको प्रथम दिन नेपाली जनसम्पर्क समिति डेनमार्कको १४औँ वार्षिकोत्सवसँगै महत्वपूर्ण विषयमा प्रशिक्षण एवं सार्थक अन्तक्र्रिया भएको नेपाली काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिए ।
प्रशिक्षणअन्तर्गतका ‘विश्व तापमान ः असर र जिम्मेवारी’ विषयमा डिआइपिडीका पूर्वनिर्देशक ब्जोर्न फोर्डे, ‘डेनमार्कको स्वास्थ्य प्रणाली नेपालका लागि शिक्षा’ विषयमा साउर्थन युनिभर्सिटी डेनमार्कका एशोसिएट प्रा डा अमृत राई तथा ‘आधुनिक कृषि प्रणाली’बारे सुरज ढकालले कार्यपत्र प्रस्तुति गरेका थिए । काङ्ग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले उद्घाटन गरेको कार्यक्रममा महामन्त्री डा शशाङ्क कोइरालालगायत नेताहरुले सम्बोधन गरेको उनले बताए । नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति वीरेन्द्रसिंह कार्कीको सभापतित्वमा भएको प्रथम दिनको कार्यक्रममा नेपाली राजदूत युवनाथ लम्साल र गैरआवासीय नेपाली सङ्घका अन्तर्राष्ट्रिय उपाध्यक्ष कुल आचार्यले मन्तव्य दिएका थिए ।