आइतबार, असार ८ २०७६
प्रदीप घिमिरे
व्यवसायी, गायक तथा समाजसेवी
फ्लोरिडा, अमेरिका
प्रदीप घिमिरे एक यस्तो व्यक्तित्व हुन्, जसलाई व्यवसाय, समाजसेवा र गायन तीनै क्षेत्रमा सफल मानिन्छ । उनलाई धेरैले ‘मल्टिट्यालेन्टेड बिजनेसम्यान’ पनि भनेर चिन्छन । सुनसरीको इटहरीमा जन्मिएका घिमिरे बचपनदेखि नै प्रतिभाशाली थिए । सानै उमेरदेखि गीतसङ्गीतमा औधी रुचि राख्थे । यद्यपि, उनले आफ्नो करियरको पहिलो पेसा व्यवसाय नै बनाए र दोस्रो गायन बनाए । विगत लामो समयदेखि घिमिरे फ्लोरिडा अमेरिकामा सक्रिय रुपमा व्यवसाय र गायनमा जम्दै आएका छन् ।

नेपालमा स्नातकोत्तर (एमएड) सम्मको पढाइ सकेर उच्च माध्यमिक विद्यालय र ताहाचल क्याम्पसमा अङ्ग्रेजी शिक्षकको रुपमा काम गरिरहेका घिमिरेलाई अचानक डिभी परेपछि सन २००३ मा अमेरिका प्रस्थान गरेका थिए । सन २००८ मा उनी अमेरिकन नागरिक भए । पछि २००९ मा सपरिवार नै अमेरिकामा बसाई सरे । जिन्दगीमा कठिन सङ्घर्ष गरेपश्चात अहिले घिमिरे एकदम सफल व्यवसायी एवं गायकको रूपमा प्रख्यात छन् फ्लोरिडामा । उनी अब्बल व्यवसायी, सफल गायक, समाजसेवीसँगै खेलाडी पनि हुन । क्रिकेट र फुटबलका खेलाडीका रुपमा चिनिने घिमिरे जिन्दगीमा आर्थिक समृद्धिकोलागि व्यवसाय गर्छन, दुःख सुखमा रमाउन गीत सङ्गीतमा लाग्छन, जिन्दगीको खुसी सन्तुष्टीको लागि समाजसेवा गर्छन् र शारीरिक फिटनेसको लागि विभिन्न खेल खेल्ने गर्दछन् ।

अमेरिका आएर लामो समय रेस्टुरेन्टमा काम गरेको अनुभवलाई सँगालेर उनले सन २००६ देखि भने आफ्नै रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरे । अहिले उनी फ्लोरिडाको ज्याक्सनभिले बिचमा ज्याक्स स्पाइस रेष्टुरेष्टसञ्चालन गर्दै आइरहेका छन् । जसले उनलाई अहिले रेस्टुरेन्ट र फुडिङमा विज्ञता नै हासिल भएको छ । उनी बताउँछन–‘अमेरिकामा नेपालीहरूले आफ्नै रेष्टुरेष्ट खोल्न सम्भव भनेको मेहेनत र ईमान्दारिताले मात्र सम्भव हुन्छ । र, मेरो अनुभवअनुसार अमेरिकामा व्यवसाय गर्नु निकै राम्रो छ । आम्दानी, खुसी र सन्तुष्टिको हिसाबले यहाँ व्यवसाय सर्वोत्तम रहँदै आएको छ । र म पनि अत्यन्तै खुसी छु ।’

सन २००८ मा जब उनी अमेरिकन नागरिक भए तब उनलाई एकदमै नमज्जा र नरमाइलो लाग्यो । तर, पछि आफ्नो बिजनेस र करिअर झन्–झन् राम्रो हुँदै जान थालेपछि र नेपालमा राजनीतिक अस्थिरताको पराकाष्ठा देखिरहन परेपछि भने उनी खुसी हुन थालेका हुन । उनी बताउँछन–‘नेपालमै बसेको भए मैले अहिले जुन किसिमको व्यवसाय र आम्दानी गर्छु त्यो सम्भव थिएन, त्यसरी नै आम्दानी नभएपछि समाजसेवा र सामाजिक जिम्मेवारीता बहन पनि सम्भव हुँदैन थियो । त्यसर्थ, अमेरिकाले म जस्तो गाउँले मानिसलाई एउटा सफल व्यवसायी बन्न सुन्दर वातावरण प्रदान गरेकोमा म सर्वदा कृतज्ञ नै रहनु पर्दछ । नेपालमा अझै पनि लगानीमैत्री एवं व्यावसायमैत्री वातावरण बन्न नसकेकोमा भने बहुत दुःख लागिनै रहन्छ । यद्यपि, म पछिल्लो समय नेपालमा केही विशेष लगानी गरुँ जसले नेपालको समृद्धिमा मैले पनि केही टेवा पुराउन सकुँ भन्ने मनोभावले नेपालमा लगानी गर्ने सोच बनाईनै सकेको छु । लगानी पनि विशेष खालको युनीक कार्यक्षेत्रमा लगानी गर्ने सोच बनाएको छु । हामी कामको सिलसिलामा जहाँ जता भएता पनि आफ्नो जन्मभूमि र देशप्रतिको माया सबैलाई सदैव भइनै रहन्छ । त्यसर्थ, हामीले युवाअवस्थामा विदेशमा सिकेको ज्ञान, सिप, प्रविधि, क्षमता र आर्जन गरेको सम्पत्तिलाई नेपालको विकास र समृद्धिमा लगानी गरेर देशको उन्नतिको सहयात्री बन्ने मेरो ठुलो सपना छ । तर, यो सपना पुरा हुनको लागि हामीलाई नेपालमा व्यवसाय गर्ने प्रोपर्टी किन्नको लागि दोहोरो नागरिकता आवश्यक पर्दछ । सरकारले हामीलाई त्यो सुविधा दिए देखि यहाँ कयौँ नेपालीहरू नेपालमा लगानी गर्न तयार छन् ।’

घिमिरे त्यस्ता व्यक्ति हुन जसले अमेरिकामै रहेर पनि नेपालमा गाह्रो–साह्रो पर्दा, नेपालीहरूलाई दुःख पर्दा विभिन्न अभियान चलाएर पैसा जम्मा गरेर नेपाल पैसा पठाउछन । उनले उता विभिन्न सांस्कृतिक कार्यक्रमहरूमार्फत फन्डराइज गर्छन्, नेपाली चाडपर्वहरूमा अमेरिकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्छन् । र, यसरी संकलन भएको पैसा नेपालमा पठाउँछन । जस्तै उनले भूकम्प गएको बेलामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गरेका थिए । उनी आफ्नै नेतृत्वमा अहिलेसम्म लगभग २० भन्दा बढी कार्यक्रमहरू सम्पन्न गरिसकेका छन् । यस्ता कार्यक्रमहरू आयोजना गर्ने समिति नासा कन्भेन्सनको केन्द्रीय अध्यक्ष पनि हुन् घिमिरे । र, आउँदो सेप्टेम्बर ३० देखि १५ औँ नासा कन्भेन्सन गदै छन् । यस्ता कार्यक्रमहरूमा खेलकुद, मनोरञ्जन, नेपाली डायस्पोरा लैजाने, नेपाली कलाकार लैजाने, स्थानीय कलाकारको सहभागितामा सांस्कृतिक, साहित्यिक कार्यक्रम गर्ने गरेका छन् । उनीहरूले आयोजना गर्ने हरेक यस्ता कार्यक्रमहरूमा ती क्षेत्रमा भएका नेपालीलाई समेटेर सबै नेपालीबीच भाइचाराको सम्बन्ध गाँस्ने, छलफल गर्ने, समस्या परेका नेपालीलाई सहयोग आदान प्रदान गर्ने र देशको लागी हामीले के गर्न सक्दछौ भन्ने बारे छलफल गर्ने गर्दछन् । उनी भन्छन–‘हामीले यहाँ आयोजना गर्ने विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा धेरै नेपाली कलाकाहरुलाई निमन्त्रणा गरेर यहाँ ल्याएका छौ । जस्तै– रामकृष्ण ढकाल, शिव परियार, न्युह बज्राचार्य, अन्जु पन्त, सत्यराज लगायतलाई यहाँ ल्याएर भव्य कार्यक्रमहरू संचालन गरिसकेका छौं ।’

र अर्को महत्वपूर्ण कुरा के पनि छ भने घिमिरे एउटा गायकको रूपमा पनि चिनिन्छन । अमेरिकामा बसेर पनि नेपाली गीत सङ्गीतलाई अत्यन्तै माया गर्ने नेपालीहरूमा पर्छन प्रदिप घिमिरे । यद्यपि, उनी आफूलाई व्यावसायिक गायक भन्दा पनि सौखिन गायकको रूपमा चिनाउँछन । तर, उनले अहिलेसम्म ८ वटा एल्वम निकालिसकेका छन् । उनले अमेरिकाको फ्लोरिडामा आफ्नै ब्याण्ड स्थापना गरेर ब्याण्डका सम्पूर्ण बाद्ययबादन सामग्रीहरुसमेत जोेडेका थिए । ‘अग्नि ब्याण्ड’को नाममा आफ्नो ब्याण्ड स्थापना गरेर विभिन्न कार्यक्रमहरू पनि गरे । नेपाली कलाकार र नेपालका राजनीतिक नेतृत्वहरू फ्लोरिडा पुग्दा घिमिरेलाई नभेटी फर्कने कमै हुन्छन् । विभिन्न चर्चित गायकहरूसँग मिलेर उनले विभिन्न गीतहरू पनि निकालेका छन् । जस्तै– इन्दिरा जोशीसँग मिलेर बजाइदेऊ ताली, टिका प्रसाईँसँग मिलेर ए मेरी लुरी जस्ता गीतहरू निकालेका थिए । उनी भन्छन–‘गीत सङ्गीत मेरो सोख भएकोले मलाई आत्मसन्तुष्टि दिने माध्यम हो । त्यसर्थ, म गीत सङ्गीतबाट कहिल्यै पनि दूर जान सक्दिन । गीत सङ्गीतमा म आफू व्यावसायिक रूपमा लाग्न नसकेता पनि मैले मेरो छोरी प्रनिता घिमिरेलाई पनि म्युजिक फिल्डमै सक्रिय हुनलाई प्रोत्साहित गरेको छु । उनी अध्ययन सँगै सङ्गीतको विद्यार्थी पनि हुन । सङ्गीत मेरो दुख सुखको साथी पनि हो । सङ्गीतले हरेक मानिसहरूको उडाज जीवनमा हरियाली ल्याइदिन सक्छ ।’

उनी भन्छन–‘अमेरिकामा नेपालीहरूको अवस्था मिश्रित छ । अमेरिका मेहेनत गर्नेको लागि अवसरै अवसरको देश हो । यहाँ नेपालीहरू सफलताको खुड्किलोमा धेरै माथि पुगेका छन् । अमेरिकामा हरेक काम गर्नकोलागि विश्वासपूर्ण वातावरण र पारदर्शिता भएकोले यहाँको अवसरहरूलाई क्यास गर्न सक्नेले राम्रो गरिरहेका छन् । सबै आ आफ्नो खुबीमा भर पर्दछ कसले के कति गर्दछ भन्ने कुरा । र अर्को कुरा, नेपालमा काम गर्ने वातावरण रह्यो भने धेरै म जस्ता नेपालीहरू नेपाल फर्कनकोलागि तम्तयार भएर बसेका पनि छन् । नेपाल सरकारले अवसर र सेकुरीटी दिए म लगायत धेरै नेपाली नेपाल नै फर्केर त्यहाँ व्यापार गर्न रेडी छौँ । किनभने, अमेरिकाको सफलताको राज भनेको स्वतन्त्र व्यवसाय र इमानदारीतापूर्वक मेहेनत नै हो । संसारभरका मान्छे अवसर खोज्न अमेरिका पुग्छन । अमेरिका सरकारको स्वतन्त्र नीतिकै कारण अमेरिका विकास भएको हो । यहाँको कानुन बलियो छ । रुल एण्ड रेगुलेसन राम्रो छ । नेपालले पनि यी कुरा अवलम्बन गरे देश अगाडि बढ्छ ।’
यदि सरकारले सुरक्षाको वातावरण उपलब्ध गराए नेपालमा नौलो एवं ठुलो व्यवसाय गर्ने चहना छ घिमिरेको । ‘नेपालको पर्यटन क्षेत्रमा काम गर्ने इच्छा छ । सरकारबाट सहयोगको आशामा छु । हामी जस्तो नेपालीलाई राज्यले अवसर दिनुपर्छ अनि मात्र देशमा विकास सम्भव छ । किनभने, युवाहरूको सहभागिता र सक्रियता बिना विकास र समृद्धि आएको विश्वको कुनै पनि मुलुक छैन । नेपाल विश्वको एउटा सुन्दर देश हो । नेपाल बसेर नेपालको समृद्धिमा केही काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ,’ उनी भन्छन । अमेरिकामा सिकेको विभिन्न ज्ञान, सिप र क्षमतालाई नेपालमा लगेर नेपालको विकासमा प्रयोग गर्न सक्न पाए भन्ने लागिरहन्छ उनलाई । घिमिरेको सबैभन्दा विशेष गुण के हो भने– नेपाली भन्नासाथ उनले जसलाई पनि सहयोग गर्दछन् ।
अन्त्यमा आफ्नो मातृभूमिप्रतिको मायालाई उनी यसरी व्यक्त गर्छन–‘अमेरिका जो आए पनि आफ्नो जन्मभूमि नेपाललाई भुल्नु हुँदैन । अमेरिका छाडेर नेपाल फर्कनेलाई सरकारले नयाँ नीति ल्याएर उनीहरूलाई नेपालमै बस्न प्रोत्साहित गर्नुपर्दछ । हामीजस्तालाई नेपाल आउने वातावरण बनाउनु पर्दछ नेपाल सरकारले । किनभने, अबका दिनमा पनि म मुख्यरुपमा व्यवसायमा नै लाग्छु । र व्यवसाय सँगै सङ्गीत र सामाजिक कार्यलाई अगाडी बढाउने छु । तर, यी कामहरू आफ्नै देशमा गर्न पाए मनमा छुट्टै शान्ति अनुभूत हुन्छ । यद्यपि, जहाँ रहे पनि नेपाल भुल्दिन । पहिलो प्राथमिकता व्यवसाय नै हो, व्यवसाय राम्रो भए अरू सबै राम्रो हुन्छ ।’






जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij