काठमाडौं, ६ असार । द्विपक्षीय श्रम समझदारी भएको आठ महिना लामो समयपछि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीलाई कार्यान्वयन गराउन उच्चस्तरीय संयुक्त प्राविधिक टोलीको बैठक गर्ने विषयमा सहमति भएको छ ।
जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलो)को शतवार्षिकी सभालाई संवोधन गर्न पुगेका मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालबीच शिष्टाचार भेटमा एक महिनाभित्र उच्चस्तरीय प्राविधिक टोलीको बैठक गर्ने सहमति भएको नेपाली टोलीले जनाएको छ । गत कार्तिक १२ गतेको दिन हतार हतार होटल हायातमा पहिलो बैठक बसेको थियो ।
उक्त बैठकपछि दुई देशबीच भएका छलफलले कुनै परिणाम देखाएको छैन । नेपाल र मलेसियाबीच मलेसियाले स्थापना गरेको कामदार भर्ना सम्वन्धी संयन्त्रका बारेमा परस्पर असहमति रहेको छ । नेपालस्थित मलेसियाली दूतावासले मलेसियाले यसअघि स्थापना गरेका संयन्त्र नै आधिकारीक रहेको र उनीहरु मार्फत नै नेपालले कामदार पठाउनु पर्ने बताउँदै आएका छन् । मलेसिया सरकारले पनि पुरानै प्रणालीमा विदेशी कामदार लिने बताउदै आएको छ तर श्रममन्त्री बिस्ट भने संयन्त्र परिबर्तनको लागी लबिङ्ग मै रहेको म्यानपावर ब्याबसायीहरु बताउछन ।