काठमाडौँ(जस)–वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले वृद्धि भएको उल्लेख छ । बैंकका अनुसार दश महीनाको अवधिमा रु सात खर्ब २५ अर्ब ३० करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९.४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब २६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २.२ प्रतिशतले घटेको थियो ।
हिमाल मूल्य बढ्यो
राष्ट्र बैंकका अनुसार मुलुकको अन्य भूभागको तुलनामा हिमाली क्षेत्रमा मूल्यवृद्धि भएको छ । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति हिमालमा ६.१ प्रतिशत पुगेको हो । गत आवको सोही अवधिमा त्यस्तो मुद्रास्फीति ६.३ प्रतिशत थियो । गत वर्षको तुलानामा चालु आवको दश महीनामा ०.२ प्रतिशत मूल्यस्फीति घटेको हो ।
काठमाडौँ उपत्यकामा ६.०५, पहाडमा ५.० र तराईमा ४.९ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.३, ३.३, ५.७ र ४.० प्रतिशत रहेको थियो । नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो । थोक मुद्रास्फीति ५.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.० प्रतिशत रहेको थियो ।
चालू खाता घाटा सवा २ खर्ब पुग्यो
चालू आर्थिक वर्षकोे १० महिनाको अवधिमा मुलुकको चालू खाता एवम् शोधनान्तर स्थिति कमजोर देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालू खाता घाटा र शोधनान्तर स्थिति अघिल्ला आर्थिक वर्षको तुलनामा बढ्दै गएको देखिएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा चालू खाता घाटा करिब ३० अर्ब रुपैयाँले र शोधनान्तर घाटा करिब ४० अर्ब रुपैयाँले बढेको छ ।
चालू आर्थिक वर्षको १० महिना अवधि अर्थात वैशाख मसान्तसम्ममा चालू खाता घाटा बढेर २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको १० महिनामा १ अर्ब ८६ करोड रुपैयाँ रहेको चालू खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । १० महिना अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० रुपैयाँ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनामा १८ करोड ४८ लाख रुपैयाँले घाटामा रहेकोमा समीक्षा अवधिमा ६० करोड २ लाख रुपैयाँले घाटामा रहेको छ । समीक्षा अवधिमा पँुजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पँुजीगत ट्रान्सफर १४ अर्ब १५ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।