आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

मजदुर विवादका कारण ५ दिनदेखि होटल हायात बन्द, विदेशी पर्यटकलाई अन्यत्रै सारियो

मंगलबार, असार ३ २०७६

काठमाडौं, ३ असार । कर्मचारीहरुको विवादका कारण पाँचतारे होटल हायात ५ दिनदेखि बन्द भएको छ। श्रम ऐन अनुसार आफूहरुले सेवासुविधा नपाएको भन्दै कर्मचारीहरुले होटलका काम बिहीबारदेखि ठप्प पारेका छन्।

कर्मचारीहरुलाई श्रम ऐन तथा सम्झौता अनुसकारको सेवा सुविधा उपलब्ध नगराएसम्म होटलका सम्पूर्ण काम ठप्प पार्ने अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए।

लामो समयदेखि होटलले कर्मचारीहरुलाई काममा लगाउने तर सेवा सुविधा लगायत बिदा दिनसमेत आनाकानी गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको कर्मचारीहरुले बताएका छन्। श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार कर्मचारीहरुले पाउनुपर्ने बिदा लगायत अन्य सेवा सुविधा, कर्मचारीहरुको ग्रेड वृद्धि हुनुपर्ने माग कर्मचारीहरुले राखेका छन्।

होटल हायातले नेपाली विदेशी नेपाली कामदारहरुलाई प्रतिस्थापन गर्न विदेशी कामदार ल्याएको र नेपाली कामदारहरुलाई हेप्ने तथा विस्तारै सेवा सुविधाबाट वञ्चित गरी कामबाट हटाउने उपाय रचेको आधिकारिक ट्रेड युनियनले आरोप लगाएको छ।

होटलको व्यवस्थापन पक्षले भारतीय कामदार ल्याई नेपाली कामदारलाई तिनै कामदारबाट हेप्न लगाउने प्रवृत्ति देखिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहाल बताउँछन्।

होटल हायातमा ४ जना भारतीय कर्मचारीहरु रहेको र लगभग ३ सयको हाराहारिमा नेपाली कर्मचारीहरु रहेको होटलले जनाएको छ ।

होटलका एचआर कोअर्डिनेटर सुरेश केसीले कर्मचारीहरुले अनावश्यक माग राखेर होटल बन्द गरेकाले व्यवस्थापन पक्षलाई होटल बन्द गरेर बस्नुको विकल्प नरहेको बताए। ‘कर्मचारीहरुले होटलको व्यवस्थापन पक्षलाई नै घुँडा टेकाउने गरी अनावश्यक माग राखेर हड्ताल गरिरहेका छन्। हामी यस्ता अनावश्यक माग पूरा गर्न सक्दैनौं,’ उनले भने, ‘जहिलेसम्म बन्द गर्नुपर्ने हो, बन्द गर्छौं।’

होटलका पर्यटकलाई सारियो
कर्मचारीहरुको हड्तालसँगै सम्पूर्ण काम ठप्प भएपछि होटलमा रहेका विदेशी पर्यटकहरु अन्यत्र सारिएको होटल व्यवस्थापन पक्षले जनाएको छ। ‘होटलमा केही पनि काम नभएपछि पर्यटकहरु अन्यत्र सारिएको हो, होटल अहिले पूरै बन्द छ.’ होटलका एचआर कोअर्डिनेटर केसीले भने। हड्तालपछि होटलको अन्तराष्ट्रिय बुकिङ नै बन्द गरिएको जनाइएको छ।

‘कर्मचारीहरुले होटल/उद्योग भनेको हड्ताल गरेर खाने भाँडो सम्झिएपछि के लाग्छ र?’ केसीले थपे। निकै लामो समयदेखि मजदुर र मालिकबीच विवाद रहँदै आएको होटल हायातमा कर्मचारीहरुको अनियमितता बढ्न थालेसँगै स्पष्टीकरण सोधिएपछि यसले चर्को रुप लिएको हो। केही कर्मचारी आफूखुसी काममा उपस्थिति नहुने तथा बिदामा बस्ने गरेकाले स्पष्टीकरण सोधिएको र त्यही विषयलाई लिएर कर्मचारीहरु विवादमा उत्रिएको व्यवस्थापन पक्षको दाबी छ। तर होटलका कर्मचारीहरुले भने नेपाली कामदारलाई होटलले गर्ने हेपाहा प्रवृत्ति र व्यवहारका कारण आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताउँदै आएका छन्।

के छन् कर्मचारीका माग?
समान स्केलका स्वदेशी/विदेशी सबै कामदारको समान ज्याला हुनुपर्ने, स्वदेशमै दक्ष जनशक्ति हुँदाहुँदै विदेशी कामदार नियुक्त गर्न नपाउने, सम्पूर्ण मजदुर कर्मचारीलाई समान व्यवहार गरिनुपर्ने, हाल विद्यमान रहेको ९ प्रतिशत वार्षिक तलब वृद्धिदरलाई बढाई १५ प्रतिशत वार्षिक वृद्धिदर कायम गर्नुपर्ने, एउटै पदमा ५ वर्ष वा सोभन्दा बढी काम गरेका कर्मचारीको स्वतः पदोन्नति हुनुपर्ने, यस्ता कर्मचारीहरुलाई वार्षिक ५ हजार तलब वृद्धि गरिनुपर्ने लगायत माग कर्मचारीहरुले राख्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार