काठमाडौँ(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताएका छन् । अन्तरर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।उनले भने, “हामी अत्यन्त सक्रिय रह्यौँ, हामीले हाम्रा नीति, उपलब्धि, आवश्यकता र आकाङ्क्षालाई सबै ठाउँमा सान्दर्भिक ढङ्गले सान्दर्भिक ठाउँमा कुरा उठाएका छौँ, अघि बढाएका छौँ ।”
नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता धेरै पुरानो भएकाले त्यसले आइतबारको आवश्यकतालाई निर्देशन र नियमित गर्न नसक्ने जनाउँदै उक्त सम्झौतालाई पुनरावलोकन गरी द्विपक्षीय सहमतिका आधारमा अघि बढन चाहेको विचार र सोच बेलायतसँग राखेको उनले जानकारी दिए ।
एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, “हामीले हाम्रा जहाज युरोपलगायत विश्वका जुनसुकै आकाशमा उडाउन प्रयत्न गरिरहेका छौँ । यो विषयमा भ्रमणका बेला सरोकारवालसँग गम्भीरताका साथ कुरा उठाएका छौँ ।”
‘कहीँकतै धक्का परेको भए गुठी विधेयक सच्याइन्छ’
गुठी विधेयकका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भइसकेकाले जनताको इच्छा, भावना र हितविपरीत सरकारले कुनै पनि कुरा नगर्ने स्पष्ट पारे । उनले भने, “जनतालाई सर्वाेपरी देवता मान्ने, जनताको इच्छा, आकाङ्क्षा, हित र आदेशानुसार काम गर्ने जनउत्तरदायी सरकारले जनताको कुरा सुन्छ, जनताको हितमा काम गर्छ, कहीँकतै कमीकमजोरी देखियो भने त्यसलाई सच्याउने छ ।”
कतिपय ठाउँमा गुठीका नाममा जनता र गरीबमाथि शोषण भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “मोही, बहाल, धार्मिक गुठी, सांस्कृतिक र परम्परासँग जोडिएका गुठीमा कहीँकतै धक्का परेको रहेछ भने सरकारले त्यसमा विचार गर्नेछ । आबेग, उत्तेजना, द्वन्द्व, आन्दोलन गर्ने नभई नेपालको अबको समय भनेको संवाद, सहमति, सहकार्य र अग्रगमन भएको बताउँदै प्रधानमन्त्री ओलीले विरोधको भावनालाई उचालेर कहाँ पुग्छु भन्ने भावना नराख्न सबैलाई सुझाव दिए । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको युरोप भ्रमणका क्रममा भएका गतिविधि र उपलब्धिबारे जानकारी दिए ।
प्रधानमन्त्र्री ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आइतबार स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीको सम्मान सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो । मन्त्रीगण, नेपाल सरकारको उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख पनि प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री ओलीले जेठ २७ गते आइएलओको शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना भएको विशेष समारोहमा भाग लिनुका साथै बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीको भ्रमण दलमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद बिन्दा पाण्डेलगायत थिए । प्रधानमन्त्री ओली शतवार्षिकीका समारोहमा भाग लिन तथा बेलायत र फ्रान्सको औपचारिक भ्रमणका लागि गत जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।