काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओली युरोपको एकसाता लामो भ्रमण सम्पन्न गरी आज आइतबार बिहान स्वदेश फर्कंदैछन् ।
जेठ २५ गते स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आज स्वदेश फर्कन लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आज बिहान १० बजेर २५ मिनेटमा त्रिभुवन विमानस्थल आइपुग्नेछन् ।
प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई ओलीले सम्बोधन गरेका थिए । यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए ।
यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।