बुधबार, जेष्ठ २९ २०७६
काठमाडौँ(जस–प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताले नै प्रजातान्त्रिक मतको नेतृत्व गर्नुपर्ने, नेताले उनीहरूको कुरा सुन्नुपर्ने र प्रजातन्त्रको प्रतिरक्षा जनताको मस्तिष्कमा उनीहरूको मूल्य र जीवनमा निर्माण गर्नुपर्ने’ बताएका छन् । अक्सफोर्ड युनियनमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयमा व्याख्या गर्दै प्रधानमन्त्री ओलीले वर्तमान विश्वले प्रजातन्त्रप्रति विश्वास गुमाएको जस्तो, प्रजातन्त्रले समानता, न्याय, रोजगारी, स्वतन्त्रता तथा ठोस नतिजा दिन नसकेको जस्तो र प्रजातन्त्र औपचारिकता, भाषणमा सीमित भए जस्तो देखिए पनि प्रजातान्त्रिक सरकार जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्ने र जनताको आधारभूत आवश्यकता सुनिश्चित हुनुपर्ने बताए । कोही पनि भोको नरहने तथा कोही पनि भोकबाट नमर्ने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए ‘‘बाँच्न पाउने अधिकार अन्य सबै मानवअधिकारभन्दा ठूलो अधिकार हो”, उनले भने ।
प्रधानमन्त्री ओलीले ज्ञानको सिर्जना तथा वितरण गरेर अक्सफोर्ड विश्वविद्यालयले विश्वको शिक्षामा गरेको योगदान अतुलनीय भएको बताए । उनले भने, ‘‘पाँच दशकसम्म प्रजातान्त्रिक अधिकारका लागि सङ्घर्षमा बिताएको, चौध वर्षसम्म कठोर कारागार भोगेको र चार वर्षसम्म कारागारको एकल कोठरीमा बिताएको आफूलाई शिक्षासम्म पहुँच तथा स्वतन्त्रताको महत्व राम्रोसँग थाहा छ ।’’प्रधानमन्त्री ओलीले वर्तमान विश्वको चरित्र आशा र पीडा, उपलब्धि र असफलता तथा सम्भावना र समस्या सबैबाट उल्लेख गर्न सकिने बताउँदै विश्वले जतिसुकै समृद्धि हासिल गरे पनि गरीबी, असमानता, द्वन्द्व, जलवायु परिवर्तन र आतङ्कवादबाट मुक्ति नपाएको तर्फ ध्यानाकर्षण गरे । उनले विश्वका सबैभन्दा ठूला अर्थतन्त्रबीचको द्वन्द्वले बहुपक्षीय व्यापार प्रणालीमा प्रश्न उठाएकोतर्फ पनि सङ्केत गरे ।
‘‘शान्ति, प्रजातन्त्र, तथा विकास एकापसमा जोडिएका कुरा हुन् । प्रजातन्त्र तथा विकास शान्तिमा निर्भर छ, विकास नभए शान्ति हुँदैन र प्रजातान्त्रिक प्रणालीले मात्र विकासको मार्ग खोल्न सक्छ । शान्ति युद्धको अभावभन्दा बढी कुरा हो, यो विचार, अवस्था, संस्कृति तथा समाज र मुलुकको मार्ग हो । सिर्जना र खोजजस्तै द्वन्द्व तथा हिंसा पनि मानव मस्तिष्कमा रहन्छ । अज्ञान, लोभ र असहिष्णुपनाले यसको जरालाई मल दिन्छ । यसैले शान्तिको जग मानव मस्तिष्कमा नै बनाउनुपर्छ’’ प्रधानमन्त्री ओलीले भने ।
राजनीतिमा स्वतन्त्रता र जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्ने, आर्थिकस्तरमा गरीबी, असमानता तथा पछौटेपना हट्नुपर्ने, सामाजिकस्तरमा समावेशीपना र न्याय हुनुपर्ने, प्राविधिकस्तरमा विध्वंसात्मक प्रविधि जनतालाई बलियो बनाउन उपयोग हुनुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री ओलीले विश्वव्यापी पर्यावरण अप्रजातान्त्रिक भए प्रजातन्त्र मुलुकको सीमामा दिगो हुन नसक्ने र दिगो विकासका लक्ष्य प्राप्तिले समग्र प्रजातन्त्रलाई अभ्यासमा ल्याउन सक्ने तथा प्रजातन्त्रमा समान अधिकार, समान अवसर, समान सुरक्षा तथा समान सम्मान हुनु आवश्यक रहेको बताउँदै भने, ‘‘मानव र यो पृथ्वीको सुरक्षा कसरी सुनिश्चित गर्ने र यसलाई भविष्यको पुस्तामा कसरी हस्तान्तरण गर्ने भन्ने नै सबैभन्दा ठूलो चुनौती हो ।’’
प्रधानमन्त्री ओलीले नेपालले सन् १९५१(विसं२००७–८), १९९०(विसं २०४६) र २००६(विसं २०६२। ६३¬) मा प्रमुख राजनीतिक परिवर्तन भोगेको, सन् १९५०(विसं २००७) मा जनताको आन्दोलनले राणाशासन फ्याँकिएको, सन् १९९० मा राजतन्त्र संवैधानिक भएको र सन् २००६ को आन्दोलनबाट राजतन्त्र फ्याँकिएको उल्लेख गर्दै सन् २००८ देखि २०१५(विसं २०६५–२०७२) सम्म नयाँ संविधानको प्रकृति क्षेत्र तथा विषयवस्तुमा छलफल भएको र सन् २०१५ को सेप्टेम्बर(विसं २०७२ असोज ३)मा संविधानसभाबाट नयाँ संविधान घोषणा भएको जानकारी दिए । उनले राजनीतिक बहुलवाद, आवधिक निर्वाचन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, मौलिक स्वतन्त्रता, मानवाधिकार, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण, नियन्त्रण तथा सन्तुलन, जनताको सार्वभौमसत्ता संविधानको मूल प्रकृति रहेको उल्लेख गर्दै भने, ‘‘संविधानले महिलालाई सङ्घीय संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व दिएको छ र अल्पसङ्ख्यक समुदायले पनि प्रतिनिधित्व प्राप्त गरेका छन् ।’’
‘‘सन् २०१७(विसं २०७४) को आमनिर्वाचनले नेपाल कम्युनिष्ट पार्टीलाई बलियो र स्थिर सरकारको नेतृत्व दिएको छ । नेपालको सङ्घीय प्रणालीले ७५३ स्थानीय, सात प्रादेशिक तथा केन्द्रीय(सङ्घीय) सरकार दिएको छ । नेपाल शान्ति, स्थिर र समृद्धिको मार्गमा रहेको छ । नेपालको अबको सङ्घर्ष गरीबी, अविकसितता, असमानता, अशिक्षा र पछौटेपनासँग भएको छ’’, प्रधानमन्त्री ओलीले भने । उनले नेपालीको दिगो आकाङ्क्षा ‘समृद्ध नेपाल तथा सुखी नेपाली’ भएको र सन् २०३०(विसं २०८७) सम्म दिगो विकासको लक्ष्य प्राप्त गरी नेपाल मध्यम आययुक्त मुलुक बन्न चाहेको बताए । ‘‘नेपाली विकासको नमूनामा सबैका लागि खाद्य सुरक्षा, आवास, लुगा, शिक्षा, स्वास्थ्य तथा सुरक्षा परेका छन् । सर्वजन हिताय सर्वजन सुखाय नेपालीको प्रयासका प्रमुख विषय बनेका छन्’’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका क्रममा राजधानी लण्डन आइपुगेका छन् स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गरे । प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरू उपस्थित थिए ।
प्रधानमन्त्री ओलीले मंगलबार आफ्ना बेलायती समकक्षी टेरिजा मे सँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । बेलायती संसद्मा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ । प्रधानमन्त्रीसँग मंगलबार नेपाली दूतावासमा गैरआवासीय नेपाली सङ्गठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताएका छन् । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेको जानकारी दिए । प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुगे लगत्तै हेलिकोप्टरमार्पmत अक्सफोर्ड पुगेका थिए । विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य व्यक्त गर्दै आएका छन् ।
प्रधानमन्त्री ओली र नर्वेली प्रधानमन्त्रीबीच भेट
यसअघि सोमबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी सम्मेलनका क्रममा जेनेभामा प्रधानमन्त्री केपी शर्मा ओली र नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबीच भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीबीच नेपाल र नर्वेबीच आपसी मित्रता र सम्बन्ध अझै बढाउने विषयमा सहमति भएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij