काठमाडौं(एजेन्सी)–भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सिंहले आफु सबै फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । युवराजले क्रिकेट बोर्डले अनुमति दिएमा विदेशका टी–० लिग भने खेल्ने बताएका छन् । सन् २००० हजारमा भारतीय राष्ट्रिय टिममा एकदिवसीय खेलमा डेभ्यु गरेका युवराजले आफ्नो १७ बर्षको अन्तर्रा्ष्ट्रिय क्रिकेट क्यारियरलाई सोमबार अल बिदा गरेका छन् । सन् २०१७ देखि राष्ट्रिय टिममा नपरेका युवराजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गर्दै आफुले आफ्नो पिताको सपना पुरा गर्दै भारतको लागि खेलेर विश्वकप जितेको स्मरण गरेका छन् ।
२०११ को विश्वकप जित्दा महत्वपूर्ण भूमिका खेलेका युवराजले क्यान्सर रोगको सामना गर्दै क्यान्सरको सफल उपचारपछि अहिले फ्रेन्चाईजी क्रिकेट आइपिएलमा मुम्बई इण्डियनबाट खेलिरहेका छन् । युवराजले अब आफुले युवीक्यान फाउन्डेसनबाट क्यान्सर पिडितको उपचारमा लाग्ने बताएका छन् । युवराजले ४ सय भन्दा बढी अन्तर्रा्ष्ट्रिय खेलमा भारतको प्रतिनिधित्व गर्दै खेल्न पाउदा आफुलाई गर्व लागेको बताए ।युवराजले सन् २००७ को टी–२० विश्वकपमा इङल्याण्डविरुद्ध एकै ओभरमा ६ छक्का हानेर तहल्का मच्चाएका थिए ।
युवराजले भारतका लागि ४० टेस्ट, ३०४ एकदिवसीय र ५८ टी–२० खेल खेलेका छन् । युवराजले टेस्ट क्रिकेटमा ३ शतक र ११ अर्धशतकसहित १९ सय रन बनाएका छन् । त्यस्तै एकदिवसीय क्रिकेटमा ३०४ खेल खेल्दै ८ हजार ७ सय एक रन बनाएका छन् । एकदिवसीय खेलमा १४ शतक र ५२ अर्धशतक बनाएका छन् । त्यस्तै टी–२० क्रिकेटमा युवराजले ५८ खेल खेल्दै ८ अर्धशतकसहित ११ सय ७७ रन बनाएका छन् । त्यस्तै युवराजले ४० टेस्ट क्रिकेटमा ९ विकेट लिएका छन् । त्यस्तै ३०४ खेलमा १ सय ११ विकेट लिएका छन् भने त्यस्तै ५८ टी(२० क्रिकेटमा २८ विकेट लिएका छन् ।