काठमाडौं(एजेन्सी)–विश्वकप क्रिकेट अन्तर्गत भारतले अस्ट्रेलियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । भारतले दिएको ३५३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाउदै ३१६ रन बनाएपछि भारत ३६ रनले विजयी भएको हो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ६९ रन बनाए भने डेभिड वार्नरले ५६ र एलेक्स केरेले ५५ रन बनाएका थिए ।
त्यस्तै उसमान ख्वाजाले ४२, कप्तान एरोन फिन्चले ३६, ग्लेन म्याक्सवेलले २८ रन बनाएर आउट भएका थिए । त्यस्तै मार्कोश स्टोइनिस शुन्यमा आउट भए भने नाथन कुल्टर नीलले ४, पाट कमिन्सले ८, मिचेल स्टार्कले ३ र एडम जाम्पाले १ रन बनाएका थिए । अस्ट्रेलियाका लागि स्मिथ र वार्नरबीच सबैभन्दा धेरै ७२ रन्को साझेदारी भएको थियो भने स्मिथ र ख्वाजाले ६९ रनको साझेदारी गरेका थिए । त्यस्तै वार्नर र फिन्चले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । भारतका बलर भुवानेश्वोर कुमार र जसप्रित बुमराहले ३(३ विकेट लिए भने युजवेंद्र चहलले २ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाउदै ३५२ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ११७ रनको शतकीय पारी खेलेका थिए । धवनले १०९ बलमा १६ चौका प्रहार गर्दै ११७ रन बनाएर आउट भएका थिए । धवनले रोहित शर्मासँग मिलेर पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए भने कप्तान विराट कोहलीसँग दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । त्यस्तै अर्का ओपनर रोहित शर्माले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए ।
त्यस्तै कप्तान विराट कोहलीले ८२ रन बनाएका थिए । विराटले ७७ बलमा ४ चौका र दुइ छक्का प्रहार गर्दै ८२ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले आक्रामक ब्याटिंग गर्दै २७ बलमा ४८ रन बनाएर आउट भएका थिए । पाण्डेयले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४८ रन बनाएका थिए । हार्दिकले कप्तान विराटसँग ८१ रनको साझेदारी गरेका थिए । त्यस्तै महेन्द्र सिंह धोनीले १४ बलमा २७ रन बनाएर आउट भएका थिए । त्यस्तै केएल राहुलले अविजित ११ रन बनाएका थिए । अस्ट्रेलियाका बलर मार्कोस स्टोइनिसले २ विकेट लिए भने पाट कमिन्स, मिचेल स्टार्क र नाथन कुल्टर नीलले एक एक विकेट लिएका थिए । शतकीय पारी खेलेका भारतका शिखर धवन खेलको प्लेयर अफ द म्याच बनेका थिए । यो जितसँगै प्रतियोगितामा भारतले लगातार दोस्रो जित हासिल गरेको छ भने अस्ट्रेलियाले तीन खेलमा पहिलो हार बेहोरेको छ । विश्वकप अन्तर्गत सोमबार दक्षिण अफ्रीका र वेस्टइन्डिजबीच खेल हुदै छ ।