काठमाडौं(जस)–वैदेशिक रोजगार विभागले मेनपावर वा व्यवसायीले एजेन्ट राखेमा कडा कारवाही गर्ने जनाएको छ । विभागका महानिर्देशक भीष्म कुमार भूसालले एजेन्ट नराख्ने विषयमा ऐनले नै दिएको अधिकारलाई पुनः एकपटक सूचना जारी गर्दै ७७ वटै जिल्लामा कार्यान्वयनमा लाने तयारी गरेको बताए । ‘एजेन्ट राख्ने विषयमा मेनपावर वा व्यवसायीहरुले थाहा पाइन्न भनेर पन्छिने बाटो नहोस् भनेर पूनः सूचना प्रकाशित गरेका हौं,’ उनले भने ।
यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्र पठाउने तयारी समेत गरेको विभागले जनाएको छ । मेनपावर तथा व्यवसायीहरुका ऐजन्टले विदेश पठाइदिने भन्दै कामदारहरुको पार्सपोर्ट होल्ड गर्ने तथा बढी रकम लिने गर्दा वैदेशिक रोजगारमा जाने कामदारहरु आर्थिक मारमा पर्ने गरेका छन् ।