काठमाडौं(एजेन्सी)–जारी विश्वकप क्रिकेटमा भारतले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न आफ्न विश्वकपको पहिलो खेलमा भारतले दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रीकाले दिएको २२८ रन पछाएको भारतले ४७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतलाई सहज जित दिलाउने क्रममा रोहित शर्माले शतकीय पारी खेलेका थिए । रोहितले अविजित रहदै १२२ रन बनाएका थिए । १४४ बल खेलेका रोहितले १३ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै भारतका लागि महेन्द्र सिंह धोनीले ३४, केएल राहुलले २६, कप्तान विराट कोहलीले १८, शिखर धवनले ८ रन बनाएर आउट भएका थिए भने हार्दिक पाण्डेयले अविजित १५ रन बनाएका थिए ।
दक्षिण अफ्रीकाका बलर कागीसो रबाडाले २ विकेट लिए भने क्रिस मोरिस र एन्डीले फेल्ह्युकवायोले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ९ विकेट गुमाउदै २२७ रन बनाएको थियो । दक्षिण अफ्रीकाका लागि क्रिस मोरिसले सर्वा्धिक ४२ रन बनाएका थिए । उनले आक्रामक ब्याटिंग गर्दै ३४ बलमा ४२ रन बनाएका थिए । त्यस्तै कप्तान फाफ डुप्लेसिसले ३८ रन बनाए भने एन्डीले फेल्ह्युकवायोले ३४ रन बनाएर आउट भएका थिए । त्यस्तै डेभिड मिलरले ३१, कागीसो रबाड़ाले अविजित ३१, भान डेर दुसानले २२ रन बनाएका थिए । त्यस्तै हसिम अमला ६, क्वेनटन डिकक १० तथा जेपी डुमिनी ३ रन बनाएर आउट भएका थिए ।
पहिलो विकेट ११ रनमा गुमाएको दक्षिण अफ्रीकाले दोस्रो विकेटका लागि २४ रन बनाउदा गुमाएको थियो । त्यस्तै तेस्रो विकेटका लागि डुप्लेसिस र भान डेरबीच ५४ रनक ओसाझेदारी भएको थियो । त्यस्तै आठौ विकेटका लागि मोरिस र रबाड़ाबीच ६६ रनको साझेदारी भएको थियो । त्यस्तै मिलर र फेल्ह्युकवायोले पनि ४६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दक्षिण अफ्रीकालाई कम रनमा समेट्न भारतीय बलर युजवेन्द्र चहल र जसप्रित बुमराहले उत्कृष्ट बलिङ गरेका थिए । बुमराहले १० ओभरमा एक मेडनसहित ३५ रन दिएर २ विकेट लिए । त्यस्तै चहलले १० ओभरमा ५१ रन दिएर ४ विकेट लिएका थिए । भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा ४४ रन दिएर २ विकेट लिए भने कुलदीप यादवले एक विकेट लिएका थिए । खेलमा शतकीय पारी खेलेका रोहित शर्मा प्लेयर अफ द म्याच बनेका थिए । यससँगै भारतले आफ्नो पहिलो खेलमा जित हासिल गर्दै विश्वकपमा विजयी शुरुवात गरेको छ भने दक्षिण अफ्रीकाले लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।
बंगलादेशविरुद्ध न्युजिल्याण्ड विजयी
विश्वकप क्रिकेट अन्तर्गत न्युजील्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा न्युजील्याण्डले बंगलादेशलाई २ विकेटले पराजित गरेको हो । बंगलादेशले दिएको २४५ रनको लक्ष्य पछाएको न्युजील्याण्डले ४७.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । न्युजील्याण्डका लागो रोज टेलरले सर्वाधिक ८२ रन बनाएका थिए । त्यस्तै कप्तान केन विलियम्सनले ४० रन बनाएका थिए । त्यस्तै मार्टिन गप्टिल र जेम्स नशीमले २५–२५ रन बनाए भने कोलिन मुर्नोले २४, मिचेल सान्टनरले १७ रन र ग्राण्डहोमले १५ रन बनाए । बंगलादेशका लागि मेहदी हसन, शकिब अल हसन, मोहमद सैफुद्धीन र मोसडेक होसैनले २–२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले ४९.२ ओभरमा अल आउट हुदै २४४ रन बनाएको थियो । बंगलादेशका लागि शकिब अल हसनले सर्वा्धिक ६४ रन बनाएका थिए । त्यस्तै मोहमद सैफुद्धीनले २९ रन बनाएका थिए । त्यस्तै मोहमद मिथुनले २६, सौम्य सरकारले २५, तामिम इकवालले २४, मह्मुदुल्लाहले २०, मुशफिकुर रहिमले १९ रन बनाएका थिए । न्युजील्याण्डका बलर माट हेनरीले ४ विकेट लिएका थिए । त्यस्तै ट्रेन्ट बोल्टले २ विकेट लिएका थिए । त्यस्तै लुकी फर्गुसन, ग्राण्डहोम र मिचेल सान्टनरले एक एक विकेट लिएका थिए ।
न्युजील्याण्डका रोज टेलर खेलको प्लेयर अफ द म्याच बनेका थिए । प्रतियोगितामा न्युजील्याण्डले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ । न्युजील्याण्डले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा दक्षिण अफ्रीकालाई पराजित गरेको बंगलादेश भने आफ्नो दोस्रो खेलमा हार बेहोरेको छ ।