काठमाडौं(जस)– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलको समीकरण पुरा भएको छ । सोमबार सम्पन्न समुह ए अन्तर्गत प्रदेश ३ र सुदूरपश्चिम प्रदेशबीचको खेलपछि सेमिफाइनलमा पुग्ने चारै टिमको टुंगो लागेको हो । सोमबार सम्पन्न खेलमा प्रदेश ३ ले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै समुह ए मा पहिलो भएर सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १५५ रनको लक्ष्य पछाएको प्रदेश ३ ले ३३.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
समुह ए बाट प्रदेश ३ ले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक बटुल्दै समुहमा पहिलो हुदै सेमिफाइनलमा पुगेको छ भने समुह ए बाटै शसस्त्र प्रहरीको एपीएफ क्लब ४ खेलमा ३ जित र एक हारसहित ६ अंक बटुल्दै रनरेटको आधारमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह बिबाट नेपाल पुलिस क्लबले सबै चार खेलमा जित हासिल अग्र्दै ८ अंक बटुलेर पहिलो हुदै र त्रिभुवन आर्मी क्लब ४ खेलमा ३ जित र एक हारसहित ६ अंक बटुल्दै दोस्रो भएर सेमिफाइनलमा पुगेको छ । प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल आगामी बुधबार र दोस्रो सेमिफाइनल खेल आगामी विहिबार हुने छन् । फाइनल खेल आगामी शनिबार हुने छ ।