काठमाडौं(जस)–काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा आगामी भदौ २० र २१ गते ‘मिस्टर काठमाडौं’ शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा महिला एथलेटिक्स फिजिक्स, जुनियर मिस्टर काठमाडौं शारीरिक सुगठन र पुरुष स्पोर्ट्स फिजिक्स स्पर्धा पनि समावेश गरिएको छ । सबै स्पर्धामा एक सय ३० बढी खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा मिस्टर काठमाडौंतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथि गरि कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन प्रिजजिङ राउण्ड हुनेछ । त्यसपछि प्रत्येक तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा गराई पाँच जना खेलाडीलाई फाइनल चरणमा छनोट गरिने छ । समूहगत विजेता खेलाडीबीच पुनः प्रतिस्पर्धा पछि समग्रमा पहिलो हुने खेलाडीले ‘मिष्टर काठमाडौं’ को उपाधि जित्नेछ । उपाधिसँगै मिस्टर काठमाडौंले एक लाख ५० हजार रुपैयाँ र ब्यानेट प्राप्त गर्नेछ । अन्य विधाका विजेताले पनि नगद पुरस्कारसहित आकर्षक उपहार प्राप्त गर्नेछन् ।