काठमाडौं(जस)–नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) को अनुरोधमा उमेशलाई नेपालको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) तीन बर्षदेखि आइसीसीको निलम्बनमा परेका कारण प्रशिक्षक नियुक्ति लगायत राष्ट्रिय टोलीको ब्यवस्थापन आइसीसी आफैंले गरिरहेको छ ।
आइसीसीले आवश्यक सहयोग र सुझाव भने राखेपसँग लिने गरेको छ । उमेशलाई आगामी डिसेम्बरमा नेपालमा आयोजना हुन लागेको १३ औं साग गेम्सलाई मध्यनजर गरी प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो । उनको पारिश्रमिक सात हजार अमेरिकी डलर भन्दा बढी हुने बताइएको छ ।
यसअघि नेपालमा विदेशी प्रशिक्षकको रुपमा श्रीलंकन मूलमा क्यानेडियन पुबुदु दासानायके नेपाली टोली हेरेका थिए । उनी स्वदेश फर्किएप्छि पछि नेपालकै प्रशिक्षक जगत टमटाले टोली हेर्दै आएका थिए । उमेशलाई यसअघि पनि आईसीसीले नेपालले यूएईविरुद्ध खेलेको एकदिवसीय र टी–२० क्रिकेट शृंखलामा ब्याटिङ कन्सल्टेन्टका रुपमा खटाएको थियो ।