सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

तातोपानी नाका आजबाट खुल्यो

बुधबार, जेष्ठ १५ २०७६

सिन्धुपाल्चोक, १५ जेठ । भूकम्पका कारण चार वर्षदेखि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आजबाट सञ्चालनमा आएको छ । बुधबार बिहान ना. ६ ख ६४५१ नम्बरको कन्टेनर भ्यानले नेपालमा ऊन ल्याएसँगै नाका औपचारिकरुपमा सुचारु भएको हो ।

तातोपानी नाका सुचारु गर्नका लागि नेपालकातर्फबाट उद्योग वाणिज्य मन्त्री मात्रिका यादव, सांसद अग्निप्रसाद सापकोटा र चीनका वाणिज्य उपमन्त्री झाङ जिङचेन र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले संयुक्तरूपमा नाकाको उद्घाटन गरेका हुन् ।
नाका खुलेसँग बुधबार नै खासाबाट ऊन बोकेका ४ कन्टेनर नेपाल आउँदै गरेको र नेपालबाट हस्तकलाका सामान बोकेका २ ट्रक चीनतर्फ जाँदै गरेका छन् ।

मन्त्री मात्रिका यादवले तातोपानी नाका खुलेसँगै नेपाल ल्याण्डलकबाट ल्याण्डलिंक मुलुक भएको टिप्पणी गरे ।

मन्त्री यादवले औपचारिक कार्यक्रममा बोल्दै चारवर्षदेखि हराएको स्थानीयको खुसी नाका खुलेसँगै फर्किएको बताएका छन् । उनले नेपालमा भइरहेको व्यापारघाटा कम गर्न चीनको सहयोगमा उत्पादनमा लाग्न अग्रसर हुने बताए । यादवले चीनलाई नेपालमा विकास निर्माणका कार्यमा सहयोग गर्न र उद्योगमा लगानी गर्न पनि आग्रह गरेका छन् ।

साथै चिनीयाँ उपवाणिज्यमन्त्री झाङ जिङचेनले तातोपानी नाकाको महत्व व्यापारिक रुपमा मात्र नभएर ऐतिहासिक र सांस्कृतिक रुपमा पनि रहेको बताए ।

चीन सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा लार्चास्थित भोटेकोशीको ११२ मिटर पक्की पुलका साथै ५०० रोपनी क्षेत्रमा फैलिएको अत्याधुनिक सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

यसअघि सीमापुलस्थित लिपिङबाट भन्सारको काम हुँदै आएकामा त्यहाँदेखि ६.५ किलोमिटर तलरहेको लार्चाबाट सबै काम हुने भएको छ । त्यसैगरी अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्मको बाटो चीन सरकार र त्यहाँदेखि बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाद्वारा निर्माण गरिएको इञ्जिनीयर प्रदीप निरौलाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार