काठमाडौं(जस)–यस बर्षको कोपा डेल रे उपाधि भलेन्सियाले जितेको छ । गएराती सम्पन्न खेलमा भलेन्सियाले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै कोपाको उपाधि जितेको हो । भलेन्सियाको जितमा केभिन गेमेरियो र रोड्रीगोले एक एक गोल गरेका थिए भने बार्सिलोनाका लागि लियोनेल मेसीले एक गोल गरेका थिए । खेलको २१औ मिनेटमा भलेन्सियाका लागि गेमेरियोले गोल गर्दै सुरुवाती अग्रता लिएकोमा खेलको ३३औ मिनेटमा रोड्रीगोले गोल गर्दै भलेन्सियाको अग्रता दोब्बर परेका थिए ।
पहिलो हाफमा २–० ले पछाडी परेको बार्सिलोनाले दोस्रो हाफको ७३औ मिनेटमा मेसीले गोल फर्काउदै खेलमा फर्किने प्रयास गरेको थियो । तर त्यसपछि कुनै गोल भएन र फाइनल खेल भलेन्सियाले जितेको थियो । भलेन्सियाले सन् २००७(८ सिजनपछि पहिलो पटक कोपाको उपाधि जितेको छ । यो सहित भलेन्सियाले आठौ पटक कोपाको उपाधि जितेको हो ।
कोपाको इतिहासमा सबै भन्दा बढी उपाधि जित्ने टिम भने बार्सिलोना नै हो । बार्सिलोनाले अहिलेसम्म ३० पटक कोपाको उपाधि जितेको छ । बार्सिलोनाले पछिल्लो चार बर्ष लगातार कोपाको उपाधि जितेको थियो । च्याम्पियन्स लिगमा अप्रत्याशित हार पछि बार्सिलोनाले कोपाको उपाधि समेत जित्न नसकेर यस सिजनमा ला लिगाको उपाधि मात्र जितेर चित्त बुझाएको छ । यो हारपछि बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भालभेर्डोलाई राजीनामा दिने दबाब बढेको छ ।