काठमाडौं(जस)–सन् २०२२ मा एशियाली देश कतारमा आयोजना हुने विश्वकप फुटबलमा सहभागी देशको संख्या ४८ पुर्याउने योजनाबाट फिफा पछाडी हटेको छ । फिफा अध्यक्ष गिआनी इनफान्टिनो कतार विश्वकपमा खेल्ने टिमको संख्या ३२ बात ४८ पुर्याउने योजनाबाट पछाडी हटेका हुन् । फिफाले प्रतियोगिताको तयारीका लागि पर्याप्त समय नभएको भन्दै टिम संख्या बढाउने विषय स्थगित गरेको बताएको छ । ४८ टिम समावेश गर्दा बढी खेलाउनु पर्ने खेल कतारमा मात्र खेलाउन सम्भव नभएकोले फिफाले यस्तो निर्णय गरेको बताइएको छ ।
फिफाले बुधबार जारी गरेको विज्ञप्तिमा विश्वकपमा टीम संख्या बढाउने विषयमा अझै छलफल गर्नु परेकोले यस निर्णयका लागि अझै ६ महिनाको समय बढाइएको उल्लेख छ । साथै फिफाएल अब कतारमा हुने विश्वकपमा ३२ टिमले मात्रै सहभागिता जनाउने भएको उल्लेख गरेको छ ।
कतार फुटबल फेडेरेशन र फिफाका अधिकारीहरुको संयुक्त छलफल पछि कतारमा ३२ टिमले नै विश्वकप खेल्ने निष्कर्षमा पुगेकाले यसअघि अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले कतारमा हुने २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ पुर्याउने प्रस्ताव जुन ५ मा हुने फिफा काउन्सिल बैठकमा प्रस्तुत नै नगर्ने निर्णय भएको फिफाले जनाएको छ । अब विश्वकप फुटबलमा ४८ टिमको सहभागित सन् २०२६ को अमेरिकामा हुने विश्वकपमा मात्र हुने भएको छ । सो विश्वकप अमेरिका लगायत क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दै छन् ।