काठमाडौं (जस)–एनसेल प्राईभेट लिमिटेडले ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पससँग सम्झौता गरेको छ । नयाँ सहमति अनुसार ईन्जिनियरिङ तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुनेछ । एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेको यस कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग पुर्याउदै दक्ष युवा जनशक्तिको विकासका लागि योगदान पुर्याउने लक्ष्य लिएको छ । यस सहमति अनुरुप एनसेलले पुल्चोक क्याम्पसमा २०७६ साल देखि २०८० साल सम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ ।
एनसेलको तर्फबाट वित्तिय प्रमुख कनिश्क गयान विक्रमा र पुल्चोक क्याम्पसको तर्फबाट ईन्जिनियरिङ अध्ययन संस्थाका डिन प्रा. रामचन्द्र सापकोटाले सोमबार (जेठ ६) पुल्चोक क्याम्पसमा आयोजित एक कार्यक्रममाझ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सहमति अनुसार एनसेलले २०७६ देखि हरेक वर्ष पाँच वर्ष सम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्यनरत उत्कृष्ट विद्यार्थीलाई १८ छात्रवृत्ति र ६ उत्कृष्टता सम्मान पुरस्कार प्रदान गर्नेछ । एनसेल छात्रवृत्तिले लगनशील र उत्कृष्ट प्रतिभालाई प्रबद्र्धन गर्न मद्दत गर्नेछ भने एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजा सहित उतिर्ण भएका विद्यार्थीहरुलाई उच्च लगन, मनोवल प्रदान गर्नेछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रहेको छ ।