मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

व्यापार र लगानी सम्बन्धमा नेपाल र भियतनामबीच सहमति

आइतबार, बैशाख २९ २०७६

हनोइ (जस)–भियतनामको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भियतनामले राजकीय सम्मानसहित गार्ड अफ अनर दिएको छ । भियतनामका प्रधानमन्त्री न्याग्युन स्वान फुच गुइजुएन जुआन फुकले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् । उनको सम्मानमा त्यहाँको सैनिक टुकडीले गार्ड अफ अनर प्रदान गरेको छ । दुई समकक्षीबीच भेटवार्ता पनि भएको छ । भेटका क्रममा नेपाल र भियतनामबीचको सम्बन्धका साथै साझेदारीको विषयमा छलफल भएको बताइएको छ । भियतनामका प्रधाममन्त्री न्युग्यन सुआन फुकको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली भियतनाम गएका हुन् । शनिबार प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिलाई त्यहाँको राष्ट्रप्रमुख निवासमा स्वागत गरिएको थियो । स्वागतपछि ओली र समकक्षी न्युग्यन सुआन फुकबीच वार्ता भएको थियो । प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रिय सभाका अध्यक्ष न्युग्यन थि किमसँग समेत भेट गरेका थिए ।
उनले होचि मिन्ह राजनीति राष्ट्रिय एकेडेमीमा साथै भियतनाम नेपालबीचको व्यापारिक मञ्चमा सम्वोधन गरेका थिए । एकेडेमीमा ओलीले होचि मिन्हप्रति श्रद्धान्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उनका कार्यको प्रशंसा गरेका थिए । प्रधानमन्त्री ओलीले आइतबार भिसाकमा संयुक्त राष्ट्रसंघीय दिवसको अवसरमा सम्वोधन गर्ने कार्यक्रम छ । औपचारिक वार्ता सद्भावपूर्ण ढंगबाट सम्पन्न भएको दुई देशको सद्भावपूर्ण सम्बन्धका बारेमा चर्चा गरिएको भेटपछि परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ । भेटमा दुवै प्रधानमन्त्रीले आ–आफ्ना देशका क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय मुद्दाको बारेमा धारणा राखेका थिए । प्रधानमन्त्री ओलीको यो भ्रमणले दुईदेशबीचको सम्बन्धमा अझ प्रगाढता थप्ने दुवैले विश्वास व्यक्त गरेका छन् । सो क्रममा प्रधानमन्त्री ओलीले भियतनामको पछिल्लो आर्थिक र सामाजिक समृद्धिको चर्चा गर्दै न्युग्यन सुआनलाई बधाई दिएका थिए ।
समकक्षी सुआनले पनि ओलीसँग भेट्न पाउँदा खुशी लागेको बताए । उनले दक्षिणपूर्वी क्षेत्रको भ्रमणमा भियतनामलाई पहिलो रोजाइ बनाएको भन्दै कृतज्ञता प्रकट गरेका थिए। उनले नेपाली जनताले लामो प्रक्रियापछि नेपालले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेकोभन्दै नेपाली नागरिकलाई बधाई दिएको मन्त्रालयले जनाएको छ । सो क्रममा दुवै देशका विदेश मन्त्रीबीच व्यापार र लगानीका क्रममा हुने भ्रमण भिसा तथा पासपोर्टका विषयमा भएको सहमतिमा हस्ताक्षर भएको थियो । भेटमा सांस्कृतिक र ऐतिहासिक समानता र बौद्ध धर्मका बारेमा चर्चा गर्नुका साथै आफ्नो अस्तित्व जोगाउन दुवै देशले गरेको संघर्ष, एकता र राष्ट्रिय अखण्डताको विषय एक अर्कासँग मिल्दोजुल्दो भएको बताएका थिए ।
सन् २०२० मा नेपाल र भियतनाम सम्बन्धको ४५ औं वर्षगाँठको अवसरको कार्यक्रमलाई भव्यताका साथ मनाउन र पर्यटन, व्यापार र दुई देशका नागरिकबीचको सम्बन्ध र सद्भाव बढाउन र सम्बन्धलाई थप उचाइ दिन दुवै देशले प्रतिवद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ। सो अवसरमा आपसी सम्बन्ध निर्माणका लागि दुवै देशका राजनीतिक दल, सरकार, संसदीय संस्था, तथा नागरिकको मैत्रीपूर्ण भ्रमण गराउने विषयमा समेत सहमति भएको छ । त्यस्तै कूटनीतिज्ञ र सरकारी अधिकारीको भिसा छुट दिने सहमति भएको छ भने च्याम्बर अफ कमर्स नवीकरण गर्ने सम्झौता समेत भएको छ। यो सहमतिले आर्थिक र व्यापारीक अंगलाई सहयोग गर्नुका साथै ऊर्जा, प्रविधि, पर्यटन, कृषि लगायतका क्षेत्रको स्तरउन्नतिमा टेवा पुग्ने विश्वास गरिएको छ । त्यस्तै भेटमा नेपाली सामग्री भियतनाम निर्यात गर्ने, भियतनामका लगानीकर्ताले नेपालमा लगानी गर्ने विषयमा छलफल भएको र भियतनामले सकरात्मक प्रतिक्रिया दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । दुवै देशले पर्यटक आदानप्रदान गर्न प्रेरित गर्ने सम्झौता गरेका छन्। भेटमा प्रधानमन्त्री ओलीले आफूलाई भ्रमणका लागि बोलाएकोमा धन्यवाद दिनुका साथै निकट भविष्यमै नेपाल भ्रमणका लागि समकक्षी न्युगेनलाई निम्तो समेत दिएका छन् ।
प्रमबाट पुस्तक विमोचन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पिस एट ह्याण्ड (नेपालमा शान्ति) शीर्षक पुस्तक शनिबार यहाँ एक समारोहमा विमोचन गरेका छन् । गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा लामो समय बस्नुभएका न जुआत बान होङ दुकले लेखेको सो पुस्तक बौद्ध दर्शनको दृष्टिकोणबाट शान्ति प्रक्रिया र द्वन्द्वबारे विश्लेषण गरिएको छ । भियतनामी र अङ्ग्रेजी दुवै भाषामा पुस्तक लेखिएको छ । समारोहमा प्रधानमन्त्री ओलीले नेपाल बुद्धभूमि मात्र नभएर बौद्धदर्शनको पनि जग भएको बताउँदै कृतिले लुम्बिनी र सगरमाथाबारे जानकारी दिने उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार