काठमाडौं(एजेन्सी)–टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा अयाक्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–३ को नतिजा निकाल्दै अवे गोलको आधारमा टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । टोटनह्यामको जितमा लुकास मउराले ह्याट्रिक गरेका थिए । लुकासले खेलको ५५औ, ५९औ र ९६औ मिनेटमा गोल गर्दै टोटनह्यामलाई फाइनलमा पुर्याएका थिए । यस अघि अयाक्सले खेलको पहिलो हाफमा २ गोल गरेको थियो । अयाक्सका लागि खेलको पाचौ मिनेटमा माटथिस डी लाइटले गोल गरेका थिए भने खेलको ३५औ मिनेटमा हाकिम जिएचले दोस्रो गोल गरेका थिए ।
पहिलो हाफमा २–० ले पछि परेको टोटनह्याम दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गरेर खेल जितेको थियो । टोटनह्याम पहिलो हाफमा २ गोलले पछि परेर पनि खेलमा कमब्याक गर्ने सन् १९९९ पछिको पहिलो टिम बनेको छ । सन् १९९९ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड युभेन्टसविरुद्ध यस्तै कमब्याक गरेको थियो ।
योसँगै अब च्याम्पियन्स लिगको फाइनलमा दुई प्रिमियर लिग क्लब खेल्ने भएका छन् । जुन १ मा एथलेटिको म्याड्रिडको ग्राउण्डमा हुने फाइनलमा लिभरपुल र टोटनह्याम खेल्ने भएका हुन् । युरोपियन प्रतियोगिताको फाइनलमा दुई प्रिमियर लिग क्लब पुगेको यो तेस्रो पटक हो । यसअघि सन् १९७२ मा युइएफए कपको फाइनलमा टोटनह्याम र वोल्भ्स पुगेका थिए भने २००८ को च्याम्पियन्स लिग फाइनलआमा म्यानचेस्टर युनाइटेड र चेल्सी पुगेका थिए ।