रुपन्देही । नयाँशक्ति पार्टीका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले अबको निकास समावेशी विकास भएकामा जोड दिएका छन् । मगर राष्ट्रिय परिषद् नेपालको दोस्रो सङ्घीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले दिगो समृद्धि हासिल गर्न समावेशी विकासको बाटोमा अगाडि बढनुपर्ने धारणा राखे ।
“सबैले समृद्धिको अनुभव गर्न पाउनुपर्छ”, उनले भने, “समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र नभए समृद्धि प्राप्त हुँदैन ।” नेपालमा दिगो शान्ति र सुशासनका लागि पछाडि पारिएको वर्ग र क्षेत्रका समस्या समाधानका लागि सबै एक ठाउँमा उभिएर आवाज उठाउन जरुरी रहेको उनले बताए । “आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि सङ्घर्ष जरुरी छ”, डा भट्टराईले भने, “अब सदनभित्र र बाहिरबाट आवाज उठाउँ ।”
सरकारले सङ्घीयता कार्यान्वयनका क्रममा आदिवासी र जनजातिलाई पहिचानविहीन बनाएको टिप्पणी गर्दै उहाँले अझै पनि प्रदेश नं ७ को सिमाङ्कन मिलाउन सम्भव रहेको धारणा राखे । विकास बजेटसमेत खर्च गर्न नसकेको सरकारबाट धेरै आशा गर्ने ठाउँ नभएको भन्दै अध्यक्ष भट्टराईले हलेदो भनेर चिनेपछि कोट्याउन जरुरी नभएको टिप्पणी गरे ।
पार्टीको राष्ट्रिय मामिला इञ्चार्ज हिसिला यमीले सरकारले समावेशिताको मुद्धालाई कमजोर बनाएको बताईन । उनले देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका जनजातिको पहिचान दिलाउन राज्यले कन्जुस्याँइ गर्न नहुने बताईन ।
भेलामा मगर सङ्घका केन्द्रीय अध्यक्ष नवीन रोकामगर, आदिवासी जनजाति महासङ्घका अध्यक्ष जीएस गुरुङ, नयाँशक्ति पार्टीका प्रदेश संयोजक कमल खनाल, तमु राष्ट्रिय परिषद्का संयोजक विनोद गुरुङ, मगर राष्ट्रिय परिषद्का सल्लाहकार, जनजाति नेता भीमबहादुर आले, हरिकला थापा, रामबहादुर गरौजालगायतले आदिवासी जनजातिलाई पहिचान दिलाउन माग गरेका थिए ।