आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

असन्तुष्ट कांग्रेस जिल्ला सभापतिको भेला, विशेष महाधिवेशन मागको तयारी

बिहिबार, चैत्र २१ २०७५

काठमाडौं(जस)–बुधबारदेखि सुरु भएको असन्तुष्ट कांग्रेस जिल्ला सभापतिको भेलामा विशेष महाधिवेशन माग गर्नुपर्ने पक्षमा आवाज उठेको छ । बुधबार भेलामा धारणा राखेका ४३ जिल्लाका सभापतिहरुमध्ये अधिकांशले विशेष महाधिवेशनका लागि सभापति शेरबहादुर देउवालाई दबाब दिनुपर्ने धारणा राखेका हुन् । भेलामा ५४ जिल्लाका सभापति सहभागी हुने भएका छन् । नुवाकोट जिल्ला सभापति जगदिशनरसिंह केसीका अनुसार बुधबार ५० जिल्लासभापति मध्ये ४३ जनाले धारणा राखेका छन् भने बिहीबार थप चार जिल्लाका सभापति उपस्थित हुने जानकारी दिए ।
कांग्रेसको विधानमा एक तिहाइ महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएमा आह्वान गर्नुपर्ने प्रावधान छ । महासमिति बैठकको निर्देशनविपरीत केन्द्रीय कार्यसमिति बैठकले विधान अनुमोदन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर असन्तुष्ट जिल्ला सभाहरुले विशेष महाधिवेशनबारे छलफल गरेका हुन् । गएको मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले केन्द्रीय सदस्य केन्द्रीय सदस्यहरु महाधिवेशन प्रतिनिधि हुन आफ्नो क्रियाशील सदस्यता रहेकै ठाउँबाट निर्वाचित भएर आउनु पर्ने प्रावधान राख्न निर्देशन दिए पनि केन्द्रीय कार्यसमिति बैठकले त्यसलाई लत्याउँदै स्वत प्रतिनिधि हुने प्रावधान अनुमोदन गरेको थियो ।
सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा गराएको निर्णयप्रति पौडेलले र सिटौला पक्षले नोट अफ डिसेण्ट लेखेका थिए । त्यसैको प्रतिक्रिया स्वरुव पौडेल र सिटौला पक्षधर जिल्ला सभापतिहरुले छुट्टै भेला गरेका हुन् । भेलामा महासमितिको निर्देशन कार्यान्वयन गराउन अनशन बस्ने विकल्पबारे पनि छलफल भएको केसीले जानकारी दिए । उनले भने, ‘विशेष महाधिवेशनको माग गर्नुपर्ने पक्षमा धेरै जिल्लासभापतिहरु देखिनुभएको छ । अनशसन बस्नुपर्ने विकल्प पनि आएको छ । यसबारे बिहीबार निर्णय गर्छौ ।’ नियमित अवस्थामा अर्को वर्ष कांग्रेसको महाधिवेशन गर्नुपर्ने भए पनि सभापति देउवा त्यसको पक्षमा छैनन् । विधानअनुसार कांग्रेसको महाधिवेशन प्रत्येक चार वर्षमा गर्नुपर्ने हुन्छ । देउवाले फागुनमा तीन वर्षे कार्यकाल पूरा गरेका छन् ।
सभापतिको अनौपचारिक भेलामा बारा र पर्साका हावाहुरीबाट प्रभावित बस्तीमा राहत दिने विषयमा छलफल भएको छ । बुधबारदेखि यहाँ शुरु भएको दुई दिने भेलामा हावाहुरीबाट प्रभावित बस्तीमा जिल्ला सभापतिका तर्फबाट गर्ने सहयोग र राहतका विषयमा छलफल भएको रोल्पाका जिल्ला सभापति अमरसिंह पुनले जानकारी दिए । आइतबार बारा र पर्सामा आएको हावाहुरीबाट दुई दर्जन बढी व्यक्तिको निधन भएको थियो भने सयाँै घाइते भएका थिए । खासगरी नेतृत्वलाई आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले भेला आयोजना गरिएको हो । भेलामा मुख्यरुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय उठेको उनले बताए ।
भेलामा तीन दर्जन बढी जिल्ला सभापतिको उपस्थिति रहेको बताइएको छ । यद्यपि संस्थापन पक्षका जिल्ला सभापतिको भने उपस्थिति नभएको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । उनले जिल्ला सभापतिको कुनै औपचारिक भेला तथा कार्यक्रम नभएको समेत स्पष्ट पारे । भेलामा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेला सम्पन्न भएपछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी गर्ने तयारी गरिएको छ । काङ्ग्रेस महासमिति बैठकको भावनाअनुसार पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय नभएको जिल्ला सभापतिको आरोप छ ।
महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो । उक्त भेलाका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयले भने कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार