काठमाडौं (जस) – काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका नेपाल सरकारका विशिष्ट श्रेणी सचिव केदार न्यौपानेलाई महानगरपालिकामा आज एक कार्यक्रम गरि स्वागत गरिएको छ ।
सो स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले काठमाडौं महानगरपालिका देशको संघीय राजधानी भएकाले यसको महत्व अरु महानगरपालिकाको भन्दा भिन्न भएको बताए ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आफुसंग संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारको अनुभव रहेको भए पनि स्थानीय निकायमा आफु पहिलो पटक पदस्थापन भएर आएको बताउदै महानगरपालिकालाई राम्रो बनाउन कर्मचारीहरु नीतिगत रुपमा , प्रविधि मैत्री र आचरणमा सबल हुनु पर्नेमा जोड दिए ।
यसैगरी सो कार्यक्रममा आफ्नो भनाई राख्दै काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले प्रमुख प्रशासकीय अधिकृत न्यौपाने कार्यकालमा हाल समस्यामा रहेको कर्मचारी समायोजनको समस्याको समाधान हुने आशा गर्दै काठमाडौं महानगरपालिकाले स्थानीय निकायमा अनुभवी प्रमुख कार्यकारी अधिकृत पाएको बताए ।
कार्यक्रममा महानगरपालिकाका विभागीय प्रमुख, महानगरका महाशाखा प्रमुख र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरेका थिए ।
सचिव न्यौपाने नेपाल सरकारको मन्त्रिपरिषदको मिति २०७६ वैशाख २ गतेको निर्णय अनुसार काठमाडौं महानगरापालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका हुन । स्थानीय निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि काठमाडौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने सचिव न्यौपाने चौथो हुन ।