आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : सभापति देउवा

मंगलबार, बैशाख १० २०७६

दमक(जस)–नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस जिम्मेवारसँगै सशक्त प्रतिपक्षको भूमिकाबाटै जनताको पक्षमा दृढताका साथ उभिने बताएका छन् । सोमबार झापाको दमकमा काङ्ग्रेस क्षेत्रीय समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा ६ पुराना कार्यकर्तालाई सम्मान गर्दैै उनले वर्तमान सरकारबाट जनता आशावादी होइन्, आजित हुँदै गएको आरोप लगाए । “चुनावमा अनेकौँ लालच देखाए पनि सरकारमा आएपछि गतिलो काम गर्न सकेका छैनन्”, उनले भने । उनले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको सङ्केत भएको जिकिर गरे ।
पार्टी विधानअनुसार बाँकी रहेका समिति सबैको सहमतिमै गठन गर्ने स्पष्ट पार्दै सभापति देउवाले पार्टीलाई बलियो बनाउन खाँचो रहेको औंल्याए । काङ्ग्रेसको भविष्य सबै नेता, कार्यकर्तामा रहेकाले अब काङ्ग्रेसलाई बलियो र जनताको काङ्ग्रेस बनाउन जुट्नुपर्नेमा उनले जोड दिए ।
झापाको चन्द्रगढी विमानस्थलमा सोमबार पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए । उनले भने, “काङ्ग्रेसको प्रतिपक्षी भूमिका कमजोरमा कमजोर छैन ।” काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी थियो । प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उनले भने, “यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झुट मात्र हो ।” वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनको भनाइ थियो ।
कार्यक्रममा काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको कार्यशैलीको आलोचना गरे । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, राष्ट्रियसभा सदस्य सरिता प्रसार्इं, काङ्ग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, धनराज गुरुङ, जिल्ला सभापति उद्धव थापा, महेन्द्रकुमारी लिम्बूलगायतले आ–आफ्नो धारणा राखेका थिए । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका जिल्ला, गाउँ तथा नगरका कार्यकर्ताको उपस्थिति रहेको थियो । दमक–५ स्थित पार्टी कार्यालय भवन करीब रु ३५ लाखको लागतमा निर्माण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार