काठमाडौं(एजेन्सी)–इङ्ल्यान्डका पूर्वकप्तान वायन रुनी अब प्रशिक्षकको भूमिकामा देखिने भएका छन् । ३३ वर्षीय रुनीलाई इङ्ल्यान्डको च्याम्पियनसिप क्लब डर्बी काउन्टीले प्रशिक्षक बनाएको छ । रुनी हाल अमेरिकाको मेजर लिग सकर क्लब डीसी युनाइटेडबाट खेलिरहेका थिए । उनी अघिल्लो वर्षमात्र डीसी युनाइटेडमा आबद्ध भएका थिए ।
रुनीले डर्बीसँग १८ महिने सम्झौता गरिसकेका छन् । उनको डर्बीका प्रशिक्षकको काम २०२० को जनवरीबाट सुरु हुने बताइएको छ । रुनीको डीसीसँगको सम्झौता सन् २०१९ को अन्तिमसम्म बाँकी छ । डर्बीसँगको सम्झौतापछि बोल्दै रुनीले यस अवसरलाई भरपुर सदुपयोग गर्ने बताए । ‘म निकै उत्साहित छु । प्रशिक्षकको रुपमा मलाई प्रमाणित गर्ने राम्रो मौका डर्बीले दिएको छ,’ सम्झौताका लागि इङ्ल्यान्ड पुगेका रुनीले भने ।
म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान समेत रहेका रुनी एभर्टनबाट गतबर्ष डीसीमा अनुबन्ध भएका थिए । रुनीले डीसीबाट ४३ खेल खेल्दै २३ गोल गरेका छन् । इङ्ल्यान्डकै पूर्वखेलाडी फ्रांक लाम्पार्डले डर्बी काउन्टीका प्रशिक्षक भर्खर छाडेपछि रुनीले मौका पाएका हुन् । ४१ वर्षीय लाम्पार्ड यही सिजन चेल्सीको प्रशिक्षक बनेका छन् । डर्बी काउन्टीमा आबद्घ भएमा रुनी खेलाडी र प्रशिक्षक दुबैको भूमिकामा सक्रिय हुनेछन् ।