शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आगामी कार्यकालमा आईसिसी उपाध्यक्षको रूपमा रहेर काम गर्ने चाहना छ

शनिबार, साउन १८ २०७६

धर्मराज अधिकारी
संयोजक
एनआरएनए ओसियाना


धर्मराज अधिकारी, गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को ओशिनिया संयोजक हुन् । नुवाकोटको तारुकामा जन्मिएका अधिकारी आजभन्दा २३ वर्षअघि अध्ययनको सिलसिलामा अस्ट्रेलिया प्रवेश गरेका अधिकारी हाल एनआरएनए अष्टे«लिया महादेश संयोजक पनि रहेका छन । साथै, अस्ट्रेलियामा सफल व्यवसायीको रूपमा अधिकारीले आफ्नो पहिचान स्थापित गरेका छन् । अष्ट्रेलियामा डोमिनो पिज्जाको फ्रेन्चाइजी सञ्चालन गरिरहेका अधिकारी नेपाल र नेपालीकै लागि भएका कारण एनआरएनए अभियानमा सक्रिय भएर लागेको बताउँछन् । यही अगष्ट २ देखि ४ सम्म इटालीमा हुन लागेको बाह्रौ यूरोप क्षेत्रीय सम्मेलन २०१९ को सन्दर्भमा अष्ट्रेलियामा नेपाली तथा एनआरएन अभियानको समग्र विषयमा जनसवाल दैनिककालागि रामजी बगालेले गरेको कुराकानीको सारसंक्षेप :

यहाँ ओसियाना संयोजकको जिम्मेवारीमा हुनुहुन्छ, हाल के मा व्यस्त हुनुहुन्छ ?
यहाँको प्रश्नको लागि धन्यबाद । मेरो नेतृत्वमा ओसियाना सम्मेलन र बिज्ञ सम्मेलन सम्पन्न गरियो । अष्ट्रेलिया र न्यूजिल्याण्डको स्थानीय स्तरको एनआरएनएको सम्मेलन पनि सम्पन्न गरें । अव भानुआटुमा सम्मेलनको तयारी गरिरहेको छु । उक्त मुलुकमा रहने जनसंख्याको कारणले अलि सुक्ष्म रुपमा अध्ययन गर्नु पर्नेछ । अष्ट्रेलिया आफैमा ठुलो देश हो र यस देशका ६ वटा स्टेटहरुमा शान्ति पुर्णरुपमा एनआरएनको निर्वाचन सम्पन्न भइैसकेका छन् । न्युजिल्याण्डमा सामान्य विवाद भए पनि सबै साथीहरुको सहमतिमा सौहार्दपूर्ण वातावरणमा समस्या समाधान भईसकेको छ । अव हामी एनआरएनको ग्लोवल सम्मेलनको तयारीमा लागेका छौं । म यही एनआरएनए अभियान मै व्यस्त छु ।

व्यवसायिक बृत्तमा पनि यहाँको पहिचान राम्रो छ, व्यवसायिक रुपमा व्यस्त रहेर पनि एनआरएनको अभियानमा किन लाग्नुभयो ?
एनआरएनए अभियानमा लाग्नु भन्दा पनि यो दायित्वको कुरा पनि हो । हामी सबै नेपालीहरु आफ्नो मुलुक छोडिसकेपछि स्वतः एनआरएन हुन्छौं । बाहिर मुुलुकमा बसिसकेपछि संगठन पद्दती अनुसार आफ्नो देशको लागि केही गर्नको लागि नै यस अभियानमा सहभागी भएको छु । यस अभियानमा सहभागी भए पछि सामाजिक रुपमा एक खालको सञ्जाल विकास हुन्छ र सहकार्यको भावना पनि विकास हुन्छ । म एनआरएनए अभियानमा केही प्राप्त गर्ने भन्दा पनि देश र समाजलाई केही योगदान गर्न सकिन्छ भनेर लागेको हुँ । यो अभियानमा निरन्तर लागि रहेको छु । विश्व भरी छरिएर रहेका नेपालीहरुसंग एक प्रकारको सञ्जालमार्फत सम्पर्क बढ्छ । म लगायत सबै विदेशमा रहने एनआरएनए साथीहरु व्यस्त हुन्छन् । आफ्नो व्यस्तताका वावजुद पनि म यस अभियानमा निरन्तर लागिरहेको छु ।

तपाईले एनआरएनए अभियानमा लागेर गर्नुभएका कार्यहरु बिस्तृत रुपमा बताईदिनुस न ?
संगठनको जिम्मेवारीको हिसावले म अहिले ओसियाना संयोजकको रुपमा काम गरिरहेको छु । हालसम्म संगठनले विश्वास गरेर दिएका जिम्मेवारीहरु मैले पुरा गरेको छु । त्यसका अलावा सामाजिक रुपमा गर्नु पर्ने कामहरु पनि धेरै नै गरेको छु । एनआरएनको लिडरको रुपमा आफ्ना जिम्मेवारी अनुरुप आफुसँग भएका अनुभव र सीपहरु एक अर्कामा आदानप्रदान गर्ने र अरुसँग सिकेका सीपहरु आफु मातहतका साथीहरुसंग आदानप्रदान गर्ने साथै विभिन्न सभा सम्मेलन बैठक र गोष्ठीहरुमा सहभागी हुने कामहरु गरेको छु ।

ओसियाना संयोजक भईसकेपछि औपचारिक रुपमा संस्थागत हिसावले कुन–कुन ठाउँमा सहभागिता जनाउनु भयो ?
ओसियाना संयोजक भई सकेपछि प्रायः सवै क्षेत्रका बैठकहरुमा सहभागी भए । जानकारी प्राप्त भए सम्म एनआरएनए अभियानसंँग मेल खाने कुनै पनि प्रकारको क्रार्यक्रम छुटाएको छैन र सहभागी भए का कार्यक्रमहरुमा आफु र संगठनको तर्फबाट नै प्रतिनिधित्व गरेको छु । ओसियानाको नेतृत्व गरिसके पछि म एसिया प्यासिफिक क्षेत्रको बैठकहरुमा दुई पटक गएँ, अमेरिका गएँ, त्यसै गरि नेपाली दाजुभाईहरुको एकदमै ठुलो चाप रहेको मध्यपुर्वका देशहरुमा पनि गएँ र अव अर्को हप्ता युरोप जाने तयारीमा छु । त्यसैगरि एनआरएनएको प्रधान कार्यालयमा हुने प्रत्येक पटकको भिडियो कन्फेरेन्स ब्रिफिङमा निरन्तर सहभागी भईरहेको छु । र बिभिन्न प्रकारका बिज्ञ सम्मेलनहरुमा सहभागी हुने गरेको छु भने संगठनले दिएको जिम्मेवारी अनुसार मैले अष्ट्रेलियामा नै बिज्ञ सम्मेलन सम्पन्न गरेको छु । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदले सर्कुलर जारी गरेका सबै कार्यक्रमहरुमा सहभागी हुने गरेको छु ।

अव हुने ग्लोवल सम्मेलनमा भावी नेतृत्वको सवालमा यहाँको के छ योजना र तयारी ?
मानवीय स्वभाव नै हो एक पटकको एक पदको सफल कार्यकाल सम्पन्न गरिसकेपश्चात निश्चय नै त्यो भन्दा माथिल्लो तहमा काम गर्ने चाहाना हुन्छ । मैले ओसियाना संयोजकको हैसियतमा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेको छु । अव त्यही पदमा रहेर मैले गर्नु पर्ने कामहरु बाँकी छैनन् । अव निश्चित रुपमा यो भन्दा माथिल्लो संगठनको पद्दतिमा रहेर काम गर्न चाहन्छु । आगामी ग्लोबल सम्मेलनमा उपाध्यक्षको रुपमा रहेर काम गर्ने मेरो चाहना छ ।

आगामी नेतृत्वको लागि यहाँको तयारी कस्तो छ त ?
यो पहिलो चरणको चाहना मात्र हो । आफुले चाहँदैमा सबै विषयहरु पुरा हुन्छन् भन्ने छैन । यस सम्बन्धमा आफु भन्दा अग्रजहरु र साथीभाईहरुसंग सरसल्लाह गर्दै सुझव संकलनको काम गरिरहेको छु । अव आईरहेको युरोप क्षेत्रको मिटिङ सकेर अष्टे«लिया फर्केपछि ओसियाना क्षेत्रका सबै साथीहरुसंग एक प्रकारको अन्तरक्रिया गरेर सबैको राय सुझाव बमोजिम आधिकारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारीमा छु ।

यहाँको उपाध्यक्ष पदमा नै उम्मेदवारी किन र आगामी कार्य योजनाहरु के–के छन् ?
जिम्मेवारीको हिसावले सबै पदहरु उस्तै छन् । नेतृत्व जसले गर्दा पनि केही फरक पर्दैन तर पनि मानिसहरुको आ–आफ्नो कार्यदक्षता र आफुलाई फिट हुने पदको हिसावले मैले उपाध्यक्षको पद रोजेको छु । अहिलेको प्रतिष्पर्धात्मक जमानामा सबै साथीहरुको आईसीसीमा जाने चाहना पनि छ । किन सबै जना एउटै पदमा जुध्ने भनेर पनि म यो पद रोजेको छु । विधानत पनि उपाध्यक्षका पदहरु बढी छन् । अव आगामी बिधानले यस विषयलाई सम्बोधन गर्छ ।

वर्तमान अध्यक्ष भवन भट्टले आगामी कार्यकाल नदोहो¥याउने घोषणा गर्नु भएको छ, यसमा यहाँको के धारणा छ ?
व्यक्तिगत रुपमा वर्तमान अध्यक्षज्यूसंग मेरो राम्रो सम्बन्ध छ । कुनै पनि संगठनमा दुई वर्षको कार्यकाल भनेको एकदम छोटो हुँदो रहेछ । एनआरएनए अध्यक्षको लागी दुई वर्षको कार्यकाल काफी हँुदैन तर, पनि बैधानिक रुपमा हाम्रो संस्थाको निर्वाचन गर्नु पर्ने वाध्यता छ । वर्तमान अध्यक्षज्यूले सुरु गर्नुभएका कतिपय कामहरु पुरा भएका छैनन् । ती कामहरु पुरा गर्ने उहाँको चाहना हुँदाहुँदै पनि विधानमा भएको बाध्यकारी व्यवस्थाले निर्वाचन गर्नु पर्ने छ । यहाँ व्यक्तिगत रुपमा आउने जाने भन्दा व्यवस्था र प्रणालीले काम गर्ने विषयमा उहाँ विश्वस्त हुनुहुन्छ । उहाँको आगामी कार्यकाल नदोहो¥याउने घोषणाले उहाँको उदारताको चौतर्फी सम्मान भएको छ । उहाँले नेतृत्वको विषयमा छाती फराकिलो वनाउनु भएको छ । यसकार्यले उहाँ लगायत संगठनको नै राम्रो छवि भएको छ ।

अव एनआरएनको कार्यदिशा कस्तो रहन्छ ?
कुनै पनि संस्था आफैंमा मुर्त चिज होईन । त्यो अमुर्त चिजलाई चलाउने भनेको प्रणाली नै हो । तर हामीले के पाएका छौं भने नेपालको राजनितिक संस्कार र कार्यशैलीकै तरिकाले हाम्रो कार्यालय पनि चलेको छ । जुन उद्देश्यका साथ स्थापना गरिएको संस्था हो सोही बमोजिम संचालन गरे राम्रो हुन्छ । पहिलो कुरो भनेको सचिवालय व्यवस्थित नभए सम्म काम गर्न असजिलो हुन्छ । एनआरएनए व्यवस्थित तरिकाले संचालन गर्नको लागि सिस्टम बसाउनु पर्दछ । यहाँ पनि काम भन्दा कुरा बढी गर्ने प्रचलन छ । हामीले बिदेशमा सिकेको ज्ञान र सिप स्वदेशको लागी र स्वदेशको हितमा प्रयोग गर्नु पर्दछ । यो भोलेन्टियर अर्गनाइजेसन हो । यसमा सम्भावना भएका सबै प्रकारका कामहरु हामीले गर्नू पर्छ । हामीले सिस्टम परिवर्तन गर्नु पर्छ । नेपाल सरकारले लगानी भित्र्याउन पहल गरिरहेको छ । देश र जनताको हितमा स्वदेशमा सामुहिक लगानीको वातावरण सृजना गर्ने कार्यमा मेरो प्रयास जारी रहनेछ । हामीले शुरु गरेका परियोजनाहरु सम्पन्न गर्नु पर्ने छ । कार्यालय व्यवस्थापनका कामहरु गर्नु पर्नेछ । सबै कामहरु व्यवस्थित तरिकाले प्रणालीगत हिसावले संचालन गर्ने वातावरण सृजना हुनेछ ।

गैर आवासीय नेपालीहरु भित्र पनि राजनितिक विषयले बढी बढावा पायो भन्ने आरोप छ नी, यसमा यहाको भनाई के छ ?
स्वभावले नै मानिस राजनितिक प्राणी हो । कतै न कतै संलग्नता हुन्छ होला । तर विषय के हो भने मानिसको जिम्मेवारी कुन स्थान के हो भन्ने विषय महत्वपुर्ण हो । सधैं भरी एउटै विषयले समान हैसियत र माने राख्दैन । म पनि पहिले कुनै राजनित आस्थासंग नजिक थिएँ होला तर म अहिले एनआरएनए बाहेक अरु होईन । म अष्ट्रेलिया गएको २४ बर्ष भयो म राजनितीज्ञ भन्दा पनि एनआरएनए हो । राजनितिक चेतना नभएमा अन्य विषयको ज्ञान हुँदैन । आफ्नो अधिकारको विषयमा थाहा पाउन र आवाज उठाउन राजनितिक चेतनाको आवश्यकता हुन्छ तर हाम्रो एनआरएनए बृत्तमा र यसको संरचनामा राजनितिक संरचना र अवधारणा खासै छैन । अर्को विषय भनेको एनआरएनए भित्रको राजनितिले देशमा खासै के नै अर्थ राख्छ र । राजनितीले एनआरएनएलाई बिगार्दैन ।

एनआरएनएलाई धनीहरुको मात्र संस्था हो भन्ने आरोप छ, यसलाई कसरी चिर्न चाहानुहुन्छ ?
मलाई यो आरोप निराधार लाग्छ । एनआरएनए आफंैमा भोलेन्टियर अर्गनाइजेसन हो । सामाजिक रुपमा काम गर्न र आफ्नो कार्यक्षेत्रबाट बचेको समय सामाजीक कार्यमा लगाउने हो । एनअनरएनएको धेरै अभियानहरु मध्ये स्वदेशमा लगानी गर्न लगानी जुटाउने सिलसिलामा विदेशमा रहेर बिभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरुसंगको सामिप्यता बढी छ । यसै विषयलाई आधारहिन तरिकाले प्रचार गर्नु त राम्रो भएन नी । सामाजीक क्षेत्रमा लागि सके पछि आमन्त्रण गरेको ठाउँमा जानै प¥यो, ट्राभल गर्नु पर्यो, होटेलमा बस्नु प¥यो यी सबै व्यक्तिगत खर्च हुन । ग्लोवल सम्मेलनहरुमा सहभागी हुनु प¥यो चुनाव प्रचार प्रसारमा खर्च हुन्छ । सामाजीक संजालको पहुँचले गर्दा भ्रमण गरेका फोटोहरु सार्वजनिक हुन्छन् । यस्कै आधारमा बिभिन्न देश घुम्ने, हिड्ने जस्ता विषयहरुलाई नै धनीहरुको संस्था भन्न कहाँ मिल्छ र ? हाम्रो अभियानमा धनी मात्र हैनन् विश्वका विज्ञहरु, चिकित्सकहरु, ईन्जिनियर, व्यपारी बौद्धिक व्यक्तिहरु समेत सहभागी हुनुले आरोप सही होईन । यो साझा संस्था हो । यो भित्र सबै प्रकारको सम्भावना छ ।

एनआरएनएको ग्लोवल कन्फेरेन्स नजिकिदै छ, यो कन्फेरेन्समा ठुलो आर्थिक चलखेल हुन्छ भनिन्छ नी ?
ग्लोवल कन्फेरेन्स आफु रहेको मुलुक भन्दा फरक मुलुकमा हुने भएकोले स्वभाविक रुपमा नियमित हुने खर्चहरु हुन्छन् नै । यात्रा गर्न, बस्न, खान लगायतका खर्चहरु नियमित खर्चहरु हुन । जो साथीहरु निर्वाचनमा सहभागी हुनुहुन्छ उहाँहरुको निर्वाचन तयारीको लागि हुने साधारण खर्चहरु नै हुन । त्यस बाहेकको शिर्षक तोकिएको अरु ठुलो खर्च त हुँदैन । त्यही साधारण खर्च पनि जम्मा गरेर हेर्दा ठुलो भएको हो ।

यहाँले व्यवसायिक जीवन र सामाजिक जीवनलाई कसरी सन्तुलन गर्नुभएको छ ?
व्यवसायिक जीवन र सामाजिक जीवनलाईसँगै लैजान चुनौती छ । तर पनि व्यवसायिक व्यवस्थापन र समय व्यवस्थापन गर्न सक्नु पर्छ । व्यवसाय आफैमा चुनौतीपुर्ण काम हो । त्यसमाथि सेवासंग सम्बन्धित छ भने त झन् सजग हुनु पर्छ । मेरो हकमा भन्ने हो भने व्यापार व्यवसाय चलिरहेको छ । तर व्यापारमा मात्र एकत्रित भएर लागे जस्तो कहाँ हुन्छ र सामाजिक अभियानमा लाग्दा व्यपारमा केही क्षति त हुन्छ नी । तर यसलाई व्यवस्थित गर्नु पर्दछ आफैले व्यपार र सामाजिक कार्यक्रम संगसंगै अगाडी वढाउनु पर्दछ । समयलाई उपयुक्त तरिकाले ब्यवस्थापन गर्नु पर्दछ ।

अगष्ट ३ र ४ मा ईटलीको रोममा हुने १२ औं युरोप सम्मेलनमा सहभागी हुँदै हुनुहुन्छ, अपेक्षा के छ ?
हजुर म १२ औं युरोप भेलामा सहभागी हुँदैछु । युरोप भनेको सबै भन्दा बढी एनसिसि भएको मुलुक हो । जहाँ २८ एनसिसि छन् । उक्त क्रार्यक्रममा हामी पनि सहभागिता जनाउन जाने हो । युरोपका साथीहरु ओसियाना आउने र एसिया प्यासिफिकका साथीहरु युरोप जाने भने सहकार्य र सहयोग नै हो । हामी पनि सोही बमोजिम युरोप जाँदै छौं । काठमाडौंमा त झन निर्वाचनको माहोल पनि तातिसकेको अवस्था छ । कार्यक्रमका उद्देश्यहरु भनेको बिभिन्न क्षेत्र अनुसार फक फरक हुन्छ । हाम्रो सहभागिता भनेको सवैको हात एक साथ हुनुपर्दछ भन्ने भावनाले म सहभागी हुन जाँदैछु । यो कार्यक्रममा नेपाल सरकारका कानुन मन्त्री अतिथीको रुपमा सहभागी हुनु हुनेछ र विभिन्न क्षेत्रका विज्ञहरुको पनि आगमन हुँदैछ । यो कार्यक्रम हरेक दृष्टिकोणले अर्थपुर्ण छ ।

अन्त्यमा १२ औं युरोप भेलाको अवसरमा बिश्वभर रहनु भएका एनआरएनएहरुलाई के भन्न चाहनु हुन्छ ?
सम्भवतः ग्लोबल कन्फेरेन्स अगाडिको यो अन्तिम भेला हो । यस कार्यक्रममा विश्वभर रहनुभएका एनआरएनएहरुको सहभागिता रहने छ । यो कार्यक्रम ईटालीको रोममा हुनगईरहेको छ । यस पावन अवसरमा सम्पुर्ण एनआरएनएहरु र आयोजकहरुलाई बिशेष धन्यबाद सहित कार्यक्रम सफलताको शभुकामना दिन चाहन्छु र काठमाडौंमा हुने ग्लोबल कन्फेरेन्समा सहभागी हुन सबैलाई हार्दिक अपिल गर्दछु । कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक नैतिक सबै प्रकारको सहयोगको लागि पनि अनुरोध गर्दछु । यो ग्लोबल कन्फेरेन्स कार्यक्रमका लागि कार्यक्रम मात्र नभई हामी एनआरएनएहरु बिच एक अर्कामा भएका बिचार सीप आदान प्रदान गर्ने साझा चौतारो पनि हो । आफुले जाने का चित्त नबुझेका विषयहरु खुलेर छलफल गर्न र नितिनिर्माताहरुलाई आफ्ना समस्या उजागर गर्ने अवसर पनि भएकोले सहभागिताको लागि अनुरोध छ । म सम्पुर्ण एनआरएनए साथीहरुलाई ग्लोवल कन्फ्रेन्समा सहभागी हुन आग्रह गर्दछु उक्त भेलामा सहभागी भएर हाम्रा सवै समस्याका विषयमा छलफल गरौं, सवै नेपाली एकै साथ रहौं एकता नै बल हो । हामी सवै मिलेर देश विकास गरौं । धन्यबाद

प्रतिक्रिया
सम्बन्धित समाचार