काठमाडौं(जस)–ज्योति विकास बैंक १२ वर्षमा प्रवेश गरेको छ । बैंकको सञ्चालक समिति सदस्य, कर्मचारी तथा ग्राहकवर्गको उपस्थितिमा कमलादिस्थित कार्यालय प्राङ्गणमा एक समारोह आयोजना गरी ११औं वार्षिकोत्सव मनाएको छ । सदाझैं यस वर्ष पनि बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ जसमा १०० भन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत इ–नेबल नेपाल नामको संस्थालाई २ लाख सहयोग हस्तान्तरण पनि गरेको छ ।
उक्त रकम ३डि प्रिन्टेड प्रोस्थेटिक कृत्रिम हात निर्माण गरी हात नभएका १० बालबालिकामा जडान गर्नको लागि उपयोग गरिनेछ । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रुपमा २ लाखको चेक इ–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरे । समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित ‘हाम्रो विकास प्रवर्धन कोष’मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।
वार्षिकोत्सवकै अवसरमा बैंकले ‘हाम्रो सुरक्षित बचत खाता’ नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ । बचत संगै ५ लाखसम्म दुर्घटना बिमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले ग्राहकवर्गलाई थप सुविधा पुर्याउनेमा बैंक विश्वस्त छ । यस बचत खाता ज्योति विकास बैंकको देशभरिको शाखाबाट उपलब्ध हुने छ । सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रुपमा पदक तथा कदरपत्र प्रदान गरे । गत आर्थिक वर्षमा बैंकको व्यवसायका विभिन्न विधाहरुमा उत्कृष्ट ठहरिएका कर्मचारीहरुको पनि सोहि अवसरमा सम्मान गरिएको छ ।
वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले बैंकले आफ्नो पहिचान बनाइराखी बजारमा अझ सफल रुपमा विस्तारित हुंँदै ग्राहक, शेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि थप तल्लीन हुने बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकले गत आर्थिक वर्षमा प्राप्त गरेको सफलतालाई आगामी दिनहरुमा पनि निरन्तरता दिंदै अझ सफलताउन्मुख हुने प्रतिबद्धता व्यक्त गरे । यस क्रममा कर्मचारीहरुको उच्च गुणस्तरीय योगदानको लागि सबैप्रति कृतज्ञता प्रकट गरे । हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।