बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

ज्ञानेन्द्रले विस्फोटक अर्धशतक बनाउदा मलेसिया बिरुद्ध नेपालको शानदार जित

बुधबार, साउन ८ २०७६

काठमाण्डौं(जस)–आईसीसी टि–२० विश्वकप छनौट एसिया फाइनल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।जितसंगै नेपालको २ खेलमा १ जित र १ हार सहित २ अंक पुगेको छ। मलेसियाले यस अघि पहिलो खेलमा कुवेतलाई पराजित गरिसकेको छ र समान २ अंक रहेको छ।
पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भए पछि नेपाललाई बाँकी खेल जित्ने पर्ने दबाब रहेको थियो। वर्षाले ढिला सुरु भएपछि मात्र ९ ओभरमा छोट्याइएको खेलमा टस जितेको नेपालले मलेसियालाई ब्याटिंगको निम्तो दिएको थियो।

मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।नेपालको ब्याटिंगमा ओपनिंग ब्याट्सम्यान तथा पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिंग गर्दै ५१ रन बनाए। लगातार खराब फर्ममा रहे पनि टिममा निरन्तरता दिए पछि आलोचित मल्लले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै नेपालको जितलाई सहज बनाए।


टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मल्लको यो पहिलो अर्धशतक हो। यस्तै मल्लको अर्धशतक नेपाल ब्याट्सम्यानको टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो समेत हो। यस अघि बिनोद भण्डारीले मलेसियासंग यसै महिना टि–२० सिरिजमा २५ बलमा अर्धशतक बनाएका थिए जुन रेकर्ड मल्लले तोडेका हुन्। नेपालको लागि टि–२० क्रिकेटमा पारस खड्काले २ वटा, सुबास खकुरेल, बिनोद भण्डारी र सन्दिप जोराले १–१ वटा अर्धशतक प्रहार गरेका छन्।पहिलो विकेटको लागि ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरीले ५.१ ओभरमा ६० रनको साझेदारी गरेका थिए। मल्ल छैठौं ओभरको दोश्रो बलमा अर्धशतक पुरा गरे लगत्तै आउट भएका थिए। सोहि ओभरमा प्रदिप ऐरीलिई पनि मुमहद सहादतले आउट गरेका थिए। ऐरीले १४ बलमा १ चौका मदतले १२ रन बनाए।२ विकेट गुमेपछि दिपेन्द्र ऐरी पनि आठौँ ओभरमा २ रन बनाएर आउट भए।त्यसपछि सोहि ओभरको अन्तिम बलमा बिनोद भण्डारीले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए। बिनोदले अविजित १३ रन बनाए जुन क्रममा ८ बलमा १ छक्का प्रहार गरे। शरद भेसावकर २ बलमा ३ रन बनाएर अविजित रहे।मलेसियाको लागि ३ वटै विकेट मुम्ह्हद स्याहादतले लिए। उनले २ ओभरमा १९ रन खर्चिए।

मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रनको योगफल तयार गर्दै नेपाललाई ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।मलेसियाको लागि सयद अजिजले सर्वाधिक ३० रन बनाए जुन क्रममा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै भिरनदिप सिंहले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाए। अन्य मलेसिया ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिने जुन क्रममा २ ओभरमा २३ रन खर्चिए। यस्तै बसन्त रेग्मीले १ ओभर बलिंग गर्दै ९ रन खर्चेर २ विकेट लिए। सन्दिप लामिछाने( २.०.१७.१) र करन केसी( २.०.१२.१)समान १–१ विकेट लिए।खेलमा पारस खड्का ढाडको नसा च्यापीएको कारण खेलेका थिएनन्। ललित राजबंशीलाई पनि बाहिर राखिएको थियो। प्रदिप ऐरी र रोहित पौडेल अन्तिम ११ मा रहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार