‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनाको घोषणा
काठमाडौं(जस)–मेगा बैंक नेपाल लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ । नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताए । अध्यक्ष शाहले विगत ९ वर्षसम्मको समीक्षा गर्दा मेगा बैंकले शाखाहरुको सञ्जाल विस्तारमा झण्डै ८ गुणा, एटीएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको बताए ।
उनले जुन उद्देश्यका साथ ९ वर्षअघि बैंकको स्थापना गरिएको थियो त्यो सोचले सार्थकता प्राप्त गरेको दावी गरे । अध्यक्ष शाहले बैंकको दीर्घकालीन रणनीति अनुसार, देशका ७ वटै प्रदेशका सबै जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक कारोबार केन्द्र, हुलाकी तथा मध्य पहाडी राजमार्ग, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका÷महानगरपालिकाहरुमा बैंकको सञ्जाल विस्तार गर्ने योजना रहेको बताए ।
सरकारद्वारा प्राथमिकता तोकिएका कृषि, पर्यटन र जलविद्युत क्षेत्रको व्यावसायिक प्रवर्धन गर्न लगानी वृद्धि गर्दै जाने तथा सोही अनुरुप व्यापार प्रवर्धन गरिएका क्षेत्रका समुदायहरुसँग अन्तरघुलित हुन सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले स्थानीय निकाय र प्रदेश सरकारहरुसँग समन्वय गरी आवश्यकता र प्राथमिकताका क्षेत्रहरुको पहिचान गर्दै प्राथमिकिकरण गरी सामाजिक उत्तरदायित्वको बजेट परिचालन गर्ने नीति लिएको अध्यक्ष शाहले स्पष्ट पारे ।
सरकारको ‘मर्जर’ नीतिलाई आत्मसात गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको अध्यक्ष शाहले बताए । उनले भने, ‘मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौँ । सोही अनुरुप मर्जर कमिटी बनिसकेको छ । मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न हामीसँग सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ शसक्त र व्यवस्थित ढंगले अगाडि बढनुको विकल्प हामीसँग छैन ।’ बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताइन् । उनले एक दशकमै मेगा बैंकले समकालिन बैंकहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मारेको बताइन् ।
उनले भनिन, ‘अत्याधुनिक प्रविधि, नवीनतम योजनाहरुका कारण पनि ग्राहकहरुको विश्वास जित्न सफल भएको मलाई अनुभूति भएको छ । अब मिडक्याप बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढ्छौँ । बैंकले डिजिटाइजेशन र नवीनतम प्रविधिहरु भित्र्याएको बताउँदै क्यूआर कोड पनि त्यसकै उदाहरण हो ।’ कार्यक्रममा सिइओ खुञ्जेलीले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनाको घोषणा पनि गरिन् । छोरीहरुको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले ‘शिक्षानै ज्योति अभियान’ अन्तर्गत प्रत्येक शाखाबाट १÷१ जना छात्राहरुलाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहायताको शुरुवात भइसकेको उनले बताइन् ।
सिइओ खुञ्जेलीले यस अभियानबाट छनौट भएका बालिकाहरुले आर्थिक अभावका कारण पढ्न नपाउने तथा बीचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिन् । बालिकाहरुको उज्ज्वल भविष्यका लागि यो छात्रवृत्ति महत्वपूर्ण सावित हुने हाम्रो विश्वास बैंकको छ । ‘छात्रवृत्ति योजना’मार्फत बैंकले आर्थिक रुपमा कमजोर १०२ जना छात्राहरुलाई समावेश गरिसकेको छ । आगामी वर्ष यस छात्रवृत्तिको संख्या बैंकको शाखा विस्तार भएसँगै बढ्दै जाने पनि बैंकले बताएको छ । ‘हलोदेखि हाइड्रो’सम्म भन्ने नारा लिएको मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन १९ अर्बबाट बढेर करिब ८२ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि १५ अर्ब ५० करोडबाट बढेर करिब ७३ अर्ब पुगेको छ । ग्राहक संख्या पनि झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको छ । कर्जाको औसत आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको बैंकले जानकारी दिएको छ । देशभर मेगा बैंकका १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । यसैगरी, १०२ वटा एटीएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय मेगा रेमिट एजेण्टहरुको सञ्जाल फैलिएको छ ।