काठमाण्डौं (जस)–विश्वकप छनोट एसिया फाइनल अन्तर्गतको उद्घाटन खेलमा आयोजक राष्ट्र सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै उत्कृस्ट शुरुवात गरेको छ ।खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको सिंगापुरले २० ओभरमा सात विकेट गुमाएर १८६ रनको विशाल योगफल तयार पार्यो भने जवाफी ब्याटिंग गरेको कतारले २० ओभरमा नौं विकेट गुमाएर १५३ मात्र बनाउन सक्यो ।सिंगापुरको जीतमा ब्याटिंग तर्फ सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रन बनाए भने बलिंग तर्फ अम्जद महबुब र जनक प्रकाशले समान ३–३ विकेट हात हात पारे । जनकले चार ओभरमा मात्र १५ रन खर्चिए ।

सिंगापुरले रोहन रंगराजनको आक्रमक पारीको मद्धतमा ६.२ ओभरमा ४४ रन जोड्दै राम्रो शुरुवात गर्यो । २० बलमा तीन चौका र दुई छक्काको मद्धतमा रंगराजनले पहिलो विकेटका लागि चन्द्रमोहनसँग मिलेर ४४ रन जोडेका हुन् । त्यस्तै ३९ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्धतमा ४७ रन जोडेका चन्द्रमोहनले दोश्रो विकेटका लागि टिम डेविडसँग ६१ रन जोड्दै सिंगापुरलाई विशाल योगफल तर्फ लगे ।
डेविड २९ बलमा ३८ रन बनाएर आउट भए भने चौथों नम्बरमा ब्याटिंग गर्न आएका विकेट किपर ब्याट्सम्यान मनप्रित सिंहले तुफानी पारी खेल्ने क्रममा १८ बलको सामना गर्दै ३४ रन बनाए ।कतारका इकबाल हुसेनले चार ओभरमा ३३ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने नौमन सर्वारले पनि दुई विकेट हात पारे । कप्तान तमोर सैजादले २९ बलमा कतारका लागि सर्वाधि ३४ रन बनाए भने फैसल जावेदले पनि १४ बलमा २९ रनको योगदान दिए ।