गैरआवासीय नेपालीहरुको सम्पत्ति अधिकार र नेपाली नागरिकता निरन्तरता विषयको बहस कार्यक्रमको तेस्रो श्रृंखला यहि फेबु्रअरी २६ तारेख आइतबार नेपाली समय अनुसार बेलुका ९ बजे भर्चुअल माध्यमबाट हुने भएको छ । सो अनुरुप अमेरीका क्यानडामा आइतबार विहान १०ः१५, युरोपमा ३ः१५, गल्फमा बेलुका ७ः१५,जापानमा रातीको १२ः१५ र अष्ट्रेलियामा रातिको २ः१५ बजे कार्यक्रम हुनेछ ।
गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय समितिसंगको समन्वयमा गैर आवासीय नेपाली संघ अमेरीका र गैरआवासीय नेपाली संघ क्यानडाले संयुक्त रुपमा शुरु गरेको कार्यक्रमको तेस्रो श्रृंखलामा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र वरिस्ठ अधिवक्ता बालकृष्ण न्यौपाने बक्ताको रुपमा सहभागी हुनुहुनेछ ।
गैरआवासीय नेपाली नागरिकता, नेपाली नागरिकता निरन्तरता एवं सम्पत्ति अधिकारका विषयमा नेपालको बर्तमान सरकारमा सहभागी प्रमुख दल नेकपा माओवादी केन्द्रको आधिकारीक धारणा समस्त गैरआवासीय नेपालीहरुका लागी उपयोगी, रोचक एवं महत्वपुर्ण हुनेछ ।
नेकपा माओवादी भित्रको वैचारिक व्यक्तित्व एवं गैरआवासीय नेपालीहरुका मुद्धालाई नजिकबाट हेरिरहनुभएका गुरुङसँगको अन्तरक्रियाबाट नेपालको ठुलो राजनैतिक दलले गैरआवासीय नेपालीहरुको समस्या बुझ्ने र नेपालको राजनैतिक दलको धारणबारे गैरआवासीय नेपालीहरुले बुझ्ने उपयुक्त अवसर मिल्ने कार्यक्रम आयोजक मध्यका गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धीसागर सुबेदीले बताए । उनले अन्य देशका एनसीसीसँग समेत समन्वय गरेर पछिका कार्यक्रमहरु तय गरिने जानकारी दिए ।
त्यस्तै वरिस्ठ अधिवक्ता बालकृष्ण न्यौपाने नेपालको कानुन, अन्तराष्ट्रिय कानुन एवं गैरआवासीय नेपालीहरुका मुद्धाका विषयमा जानकार कानुनव्यावसायी हुनुहुन्छ । गैरआवासीय नेपाली संम्वद्ध विभिन्न विषयमा खुलेर छलफल गर्न र आफ्ना जिज्ञासा सहित अमेरीका, क्यानडा तथा विभिन्न देशमा रहनुभएका गैरआवासीय नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन आयोजक मध्येका गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दिपक गौतमले सवैमा अनुरोध गरेका छन । यो कार्यक्रमलाई अझै प्रभावकारी ढंगले निरन्तरता दिने भन्दै गौतमले कार्यक्रमको गैरआवासीय नेपाली संघ अमेरीका र क्यानडाको फेसबुक पेज, युट्युब च्यानल,जनसवाल रास्ट्रीय दैनिक,माउन्ट एभरेष्ट टेलिभिजन,ग्लोबल टल्क शो, ग्लोबल नेपलिज न्युजनेटवर्कअमेरिका,नेपाल तथा युरोपबाट संचालन भइरहेका २० भन्दा बढी मिडियाबाट कार्यक्रमको लाइभ हुने जानकारी समेत दिए ।
विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता, नागरिकता निरन्तरता एवं सम्पत्ति अधिकारका बिषयमा सुसुचित गर्दै नेपालको राजनैतिक तथा प्राज्ञिक क्षेत्रलाई यसको आवस्यकताको महसुष गराउने ऊद्देस्यले यहि फेब्रुअरी १२ देखि यो कार्यक्रम शुरु गरिएको हो ।
पहिलो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रि गगन थापा एवं नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको उपस्थिति रहेको थियो भने दोस्रो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव एवं पुर्व परराष्ट्रमन्त्रि प्रदिप ज्ञवाली प्रमुख वक्ता र बरिष्ठ अधिवक्ता प्राध्यापक डा गान्धी पन्डितको उपस्थिति रहेको थियो ।