बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतारमा बिष्णु खत्रीको प्रगतिशील साँस्कृतिक साँझ भव्य रुपमा संपन्न

बिहिबार, फाल्गुन ४ २०७९

दोहा । नेपाली जनप्रगतिशिल मंच, रास्ट्रीय समिती कतारको आयोजनामा २८ औं जनयुद्ध दिवसको अवसरमा दोहामा बृहत “प्रगतिशील साँस्कृतिक साँझ २०२३ ” कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ राष्ट्रिय कलाकार सर्जक,गायक,सङ्गीतकार बिष्णु खत्रीको विशेष उपस्थितिमा,स्थानिय कलाकार हरुको बेजोड प्रस्तुतिमा, नौमती पन्चेबाजा र जनयुद्धका सहिद हरुको सम्मान गर्दै अल अत्तिया स्थित फुलवारि रेस्टुरेन्टको सभाहलमा औपचारिक रुपमा कार्यक्रम गरिएको थियो ।
मंचका अध्यक्ष बुद्धि प्रसाद भन्डारीको सभापतित्व,पश्चिम एसिया संयोजक शनि कुमार ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैचारिक , सामाजिक तथा जिल्लागत संघ संस्था लगायत कतारमा कार्यरत धेरै नेपालीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ओलिले “२८ औं जनयुद्ध दिवसको” शुभकामना व्यक्त गर्दै सशस्त्र जनयुद्ध नेपालको परिवर्तनको सम्वाहक रहेको टिप्पणी गरे । न्याय र समानताको लडाइँ निरन्तर अगाडि बढ्ने क्रममा आफुहरुले “जनयुद्ध” गरेको तर अहिले विभिन्न अर्थमा परिभाषित गरेकोमा ओलिले दुख ब्यक्त गरे ।
`सान्ती सम्झौता गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (गिरिजा बाबू ) बाचेँका भए ´ जनयुद्धको बारेमा परिभाषा गर्ने थिएनन, धेरै टीका टिप्पणी गर्ने थिएनन । तर अहिले उनकै पार्टीका नेताले जङ्गली भन्दा, दु:ख लागेको ओलिले बताए ।
“हामी स्वभाविक रुपमा युद्दमा थियौ, जङ्गलमा थियौ, डाँडाकाँडा प्रयोग गर्यौ । त्यो रणनीतिक कुरा हो,जङ्गलको छेउछाउँमा बस्ने गरिव,जनजाती,दलित हरुले जनयुद्धमा ठूलो त्याग,तपस्या र बलिदान गरेको कारण देशमा राजतन्त्र हटाउन सम्भव भएको भन्दै ओलिले अब यस बारेमा धेरै बहश गर्नुपर्ने जरुरत नभएको बताए ।
कार्यक्रममा एनआरएनए आइसिसी उपाध्यक्ष आरके शर्मा,सहकोषाध्यक्ष होमनाथ शर्मा,मंचका प्रमुख सल्लाहकार रमेश भट्ट,प्रवासी नेपाली एकता मंचका अध्यक्ष रामहरी गैरे,प्रवासी नेपाली मंचका मध्यपुर्व ईन्चार्ज कमलमणि गुरागाई,विभिन्न संघ सँस्थाका पदाधिकारीहरू लगायत कतारमा स्थापित विभिन्न जिल्ला, प्रदेश, वैचारिक सङ्गठन, महिला समाज, पत्रकारहरू, सामुदायिक संघसंस्थाहरूका अध्यक्ष तथा प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका मुख्य आकर्षक रास्ट्रिय ख्याती प्राप्त कलाकार,गायक संगीतकार, गीतकार बिष्णु खत्री रहेका थिए । ३ पटक स्टेज चढेका उनले करिव १ दर्जन चर्चित लोकगीतहरु पस्किए ।
उनले जनयुद्ध, किसान,गोठाला,गाउँले, महिला विकृति, विसङ्गती, गरिबी,उत्पीडन,मायाँ प्रेम, छुवाछुत जस्ता सामाजिक मुद्दामा आधारित रहेको विभिन्न गीत,एल्बम आन्दोलनमा घाइते भएर, रोधी राम्रो, भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ ’ लगायत गीत हरुमा प्रस्तुती दिदा कार्यक्रम निकै आकर्षक बनेको थियो ।
कार्यक्रममा स्थानिय कलाकारहरु शान्ता ओलि,शृस्टि तामाङको ग्रुपिङ नृत्य, लुना खतिवडा, रेस्मा सेन्चुरी लगायतको साँस्कृतिक प्रस्तुति पनि रहेको थियो भने नेपालको मौलिक पन्चेबाजामा सबैजना कम्मर कसेर नाचेका थिए ।
अनिल परियारले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापती बुद्धि प्रसाद भण्डारीले नेपालको परिवर्तनको आधार जनयुद्ध रहेको र यहि उत्सव मंचले हरेक बर्ष मनाउने गरेको बताए । यसपटक जनगायक बिष्णु खत्रीको विशेष उपस्थितिमा भब्य कार्यक्रम गर्न सफल रहेको जनाउदै उपस्थिति सम्पुर्णमा आभार व्यक्त गर्दै कार्यक्रम समापन गरे । सन २००७ मा कतारमा स्थापना भएको मंचले स्थापना काल देखीनै विभिन्न कार्यक्रम गर्दै जनयुद्ध दिवस भब्य तरिकाले मनाउदै आएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार