काठमाडौं(एजेन्सी)–अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलले हरायो । अल्जेरियाले दोस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो । यसअघि अल्जेरियाले सन् १९९० मा पहिलो पटक उपाधि उचालेको थियो । खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै निर्णायक बन्यो । बागदाद बोउनेदजाको प्रहार सेनेगेलका सालिफ सानेलाई ठोकिँदै गोल भएको थियो ।
खेलको सुरुवातमै अग्रता लिएपछि रक्षात्मक देखिएको अल्जेरिया अन्तिमसम्म सेनेगललाई रोक्न सफल भयो । दोस्रो हाफमा आक्रामक देखिएको सेनेगलले केही राम्रा अवसर गुमाएको थियो । दोस्रो हाफमा रेफ्रीले सेनेगललाई पेनाल्टी दिएरपनि भिएआरको सहायतामा तत्काल निर्णय बदर गरेका थिए । त्यसपछि अन्तिम मिनेटसम्म गोल फर्काउन प्रयासरत सेनेसफल गोलरहित निराश बन्यो । सेमिफाइनलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । सेनेगलले ट्युनिसियालाई अतिरिक्त समयमा आत्मघाती गोल सहयोगमा १–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
अल्जेरियाका बेनेसर बने सर्वोकृष्ट खेलाडी
अल्जेरियाका स्मेल बेनेसर अफ्रिकन कप अफ नेसन्स फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अल्जेरियालाई च्याम्पियन बनउान महत्वपूर्ण भूमिका निर्वाह गरेका मिडफिल्डर बेनेसर सर्वोकृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको हो । बेनेसर इटालियन क्लब इमपोलीबाट ब्यावसायिक फुटबल खेल्छन् । सर्वा्धिक गोल कर्ताको पुरस्कार नाइजेरियाका ओडिओन इघालोले जिते । प्रतियोगितामा सर्वा्धिक पाँच गोल गरेका उनले ‘गोल्डेन बुट’ पाए । उत्कृष्ट गोलरक्षकको पुरस्कार अल्जेरियाका रेइस एमबोल्हीले हात पारे । ‘फेयर प्ले टिम अवार्ड’ सेनेगललाई प्रदान गरिएको छ ।