कास्की(जस)–गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा पदबहाली गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले मङ्गलबार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णतादिएका थिए । यसअघि नियुक्त मन्त्रीहरूको कार्यविभाजन तोकिएपछि बुधबार बिहान मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दास, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा मगरले बिहान पदबहाली गरेका हुन् ।
यसैगरी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ र कृषि तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले भने मंगलबार साँझ नै पदबहाली गरेका थिए । पदभार ग्रहण गर्दै भौतिक पूर्वाधार विकासमन्त्री चुमानले प्रदेश सरकारको गौरवका आयोजनाका रूपमा रहेको तनहुँको बन्दीपुर र देवघाट गाउँपालिकाको सिमाना सेती नदीमा बन्ने एक सय १५ मिटर लामो पक्की पुल निर्माणका लागि संक्षिप्त वातावरणीय प्रभावको अध्ययन प्रतिवेदन स्वीकृतिका लागि पेस भएको टिप्पणी सदर गरे ।
सो क्रममा उनले सङ्घीयताको कार्यान्वयनमा लाग्न र सबैखालका प्रयासमा साथ दिन आग्रह गरे । उनले भने,“अहिलेको कार्यभार सङ्घीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्नुहो । सेवाप्रवाहलाई सहज बनाउँदै जनताको छिटो सम्पन्न गर्ने गरी लाग्न विशेष आग्रह गर्दछु ।” अन्य मन्त्रीहरूलेसमेत पदबहालीसँगै मन्त्रालयसँग सम्बन्धित निर्णय सदर गरेका छन् । गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालयले बनाइएको छ । यसअघि १२ मन्त्रालय रहेकामा व्ययभार कम गर्न त्यसलाई घटाइएको मुख्यमन्त्री अधिकारीले बताए । गण्डकी प्रदेशमा सरकारले पूर्णता प्राप्त गर्दा सरकारको नेतृत्व गरेको नेकपा(एमाले)ले मुख्यमन्त्रीसहित चार मन्त्रालय, माओवादी केन्द्रले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक मन्त्रालय लिएका छन् ।
गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीले सुरुमा चार सदस्सीय मन्त्रिमण्डल गठन गरेपनि कार्य विभाजन गरेको थिएन । अधिकारी नेकपा(एमाले)का २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक गरी ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उनले संसद्मा विश्वासको मत समेत लिइसक्नुभएको छ । गण्डकीमा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख लिने गरी केन्द्रबाटनै पद बाँडफाँट गरिएको थियो । सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भइसक्नुभएको छ ।
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरी एघार सदस्यीय गठन
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आठ मन्त्री नियुक्त गर्दै मौजुदा तीन सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो । नव नियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकलाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, डम्बरबहादुर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु बिष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
विना विभागीय मत्री उद्धव थापालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको कार्यभार तोकिएकामा यसअघिनै जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार तोकिएको थियो । शपथग्रहण समारोहमा मुख्यमन्त्री जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री थपलिया र विना विभागीयमन्त्री थापा पनि उपस्थित थिए । गत पुस २६ गते मुख्यमन्त्री जमकट्टेलको नेतृत्वमा तीन सदस्यीय मन्त्री मन्त्रिपरिषद् गठन गरिएको थियो । नवनियुक्त मन्त्रीहरूले बुधबारै आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हालेो बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
कर्णालीका चार मन्त्रीले लिए शपथ
समावेशीताको सवाललाई धज्जी उडाउँदै कर्णाली प्रदेशमा आज चार जना मन्त्रीको सपथ पद तथा गोपनीयता शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मन्त्रीमण्डलमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री टेकराज पछाई र जीतबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए । यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजना मन्त्री मन्त्रीको शपथ लिए ।
यस्तै पुस २८ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका एमालेबाट विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । यो मन्त्री मण्डलमा दलित , महिला कुनै पनि सहभागी गराएको छैन । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले बुधबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।