काठमाडौं (जस)–नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव रमेश कुमार सिलवाललाई स्वागत गर्दै १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघले बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमकाबीच खेलाडीलाई स्वागत गर्दै अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो । संघले बुझाएको ध्यानाकर्षण पत्रमा सागका स्वर्णधारी, एसियन गेम्सका पदकधारी र ओलम्पियनलाई प्रोत्साहन स्वरूप दिदै आएको आजीवन भत्तालाई निरन्तरता दिदै सागका रजत र कास्य पदकधारीलाई पनि भत्ता उपलब्ध गराउन माग गरेको छ ।
यस्तै सरकारले सागमा ३ भन्दा बढी स्वर्ण जिते खेलाडीलाई मात्र नगदसहित सम्मान गरिदै आएको र ३ भन्दा कम स्वर्ण जित्ने खेलाडीलाई पनि नगद पुरस्कारबाट सम्मानित गराउन समेत माग गरेको छ । यस्तै संघले राष्ट्रिय खेलकुदका स्वर्ण विजेता खेलाडीले धेरै पछि मात्र नगद पुरस्कार पाउने गरेको बताउदै मेडलसँगै नगद पुरस्कार उपलब्ध गराउन समेत माग गरेको छ । नेपालमा आयोजना हुने १३ औं साग ४ महिना बाँकी रहदा पनि खेलाडीले उच्च स्तरको प्रशिक्षण नपाएको र खेलाडीको क्षमता अभिवृद्धि गर्ने काम कछुवा गतिमा भईरहेकोमा विषयमा गम्भीरता पुर्वक ध्यान दिनु पर्ने समेत संघले माग गरेको छ ।
खेलाडी संघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सदस्यसचिव सिलवालले मागबारे आफु पहिले नै जानकार रहेको र विस्तृत योजना बनाएर माग सम्बोधन गर्ने बताए । उनले राखेपमा थुप्रै सुधार्नुपर्ने ठाउ रहेको र यसका लागि आफु लागि पर्ने बताएको छ । उनले कतार विश्वकपको दोस्रो चरणको एसियन छनोटमा नेपालले घरेलु मैदानमा भदौंमा कुवेत र चाइनिज ताइपेइसँगको खेलका लागि दशरथ रंगशाला तयार पारिने गरी कार्य गरिने बताए । यसो हुन सके १३औं दक्षिण एसियाली खेलकुद (साग) निर्धा्रित मितिमै हुनेमा शंका नहुने उनले थपे । सदस्य सचिवलाई संघका अध्यक्ष दीपक श्रेष्ठले सफल कार्यकालको शुभकामनना दिए । संघका मानार्थ तथा निवर्तमान अध्यक्ष दीपक विष्टले पनि उनलाई सदस्यसचिव विष्टलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।