शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कार्यसम्पादन समिति गठनका लागि दोस्रोपटक सहमति

मंगलबार, चैत्र २६ २०७५

काठमाडौं (जस)–नेपाली काँग्रेसले कार्य सम्पादन समिति गठनका लागि दोस्रो पटक सहमति गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको अनौपचारिक बैठकले कार्यसम्पादन समितिका लागि भएको सहमतिप्रति असन्तुष्ट नेताहरुको माग सम्बोधन गर्ने सहमति गरेको छ । साथै संसदीय बोर्ड गठन, विभिन्न केन्द्रीय विभागका संयोजक पनि सहमतिका आधारमा चयन गर्ने सहमति भएको छ । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अब कार्यसम्पादन समितिमा सिटौला पक्षबाट उमाकान्त चौधरी र रामचन्द्र पौडेल पक्षबाट डा.शेखर कोइरालालाई सामेल गराउने सहमति छ ।
यद्यपि, गत शुक्रबारको बैठकमा आफूलाई ‘अपमान’ गरिएको भन्दै सिटौला सोमबारको बैठकमा सामेल थिएनन् । यसअघि शुक्रबार बसेको बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच ६०–४०को भागबण्डा मिलेको थियो । तर उक्त बैठकमा कार्यसम्पादन समितिमा पार्टी तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौलाले भाग नपाएसँग र प्रभाशाली केन्द्रीय सदस्य डा.शेखर कोइराला नअट्ने देखिएको थिए । सिटौलालाई सभापति देउवा वा पौडेल कताबाट कार्यसम्पादन समितिमा सामेल गराउने भन्नेमा विवाद थियो भने नेता कोइराला वरियता क्रमको ३४ औँ नम्बरमा थिए । २९ सदसीय कार्यसम्पादन समितिमा बरियताको आधारमा पर्ने अवस्था थिएन । बैठकमा पार्टी सभापति देउवासहित वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, विजय गच्छेदार, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वकोषध्यक्ष चित्रलेखा यादव, नेता अर्जुननरसिंह केसी र प्रवक्ता विश्वप्रकाश शर्मा लगायतको उपस्थित थिए ।
विधानतहः विभाग गठनको अधिकार सभापति देउवालाई भए पनि सबै पक्षको सहमति जुटाउन छलफल गरिएको पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । विभागका संयोजक तोक्न केन्द्रीय समिति बैठक बस्न पनि आवश्यक नभएको बताउँदै उनले केन्द्रीय समितिको आगामी बैठकअघि नै विभागका संयोजक तोक्ने तयारी भइरहेको जानकारी गराए ।
त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा शीर्ष नेताबीच सङ्ख्यामा सहमति भए पनि नामका बारेमा समेत सोमबारको बैठकमा छलफल भएको थियो । काङ्ग्रेसको नयाँ विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारीबाहेक ३१ सदस्य चयन हुने प्रावधान छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र निधि, महामन्त्री डा शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत उपस्थित थिए ।
तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । गत शनिबारका लागि तय भएको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकका कार्यसूचीमा शीर्ष नेताबीच सहमति नभएपछि बस्दै नबसी स्थगन गरिएको थियो । बैठकमा कार्य सम्पादन समिति गठन, संसदीय बोर्ड गठन, केन्द्रीय विभाग गठनलगायत कार्यसूची थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार