शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मुगुमा पहिरोमा परेर आठ जनाको मृत्यु, बाजुरामा एकको मृत्यु

सोमबार, असोज २४ २०७९

मुगु(जस)–मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा सोमबार पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । गातार वर्षाका कारण पहिरोको डरले आठ जना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका प्रनाउ हमालले बताए । उनीहरुको सनाखत हुन सकेको छैन । पहिरोमा परी तीन जना अझै बेपत्ता छन् ।
बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ । वर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको हमालले बताए । घट्नास्थल सदरमुकामबाट तीन घण्टाको पैदल दूरीमा छ । पहिरो गएको सालिम गाउँमा झण्डै ३५ परिवारको बसोबास रहेको थियो । पहिरो आएपछि उनीहरु सबै सुरक्षित स्थानतर्फ लागेको प्रनाउ हमालले जानकारी दिए ।
जिल्लाका धेरैजसो ठाउँमा अत्यधिक वर्षाले क्षति पुर्याएको छ । जतातततै पहिरो गएको छ । बाटोघाटो अवरुद्ध तथा निरन्तर बाढी र पहिरो आएका कारण प्रहरी उद्धारमा खटिन नसकेको हमालको भनाइ छ । यसैबीच उद्धार तथा राहतका लागि सुर्खेतबाट आउने भनिएको हलिकप्टर अबेर साँझसम्म गमगढी आउन नसकेको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला कालिकोटमा समेत पहिरोमा परेकाहरुको उद्धार गर्न आएको हेलिकप्टर उतैबाट सुर्खेत फर्किएको बताइएको छ ।
मङ्गलबार बिहानै उद्धार र राहतका लागि हेलिकप्टर आउने प्रहरीले जनाएको छ । जिल्लामा विभिन्न खोलाबाट उत्पादित बिजुली बन्द छ । पहिरोले मुहानै बगाएपछि जिल्लावासी बिजुलीविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । जिल्लाामा टेलिफोन सेवासमेत अवरुद्ध छ ।
बाजुरामा पहिरोमा परी एकको मृत्यु
अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीया प्रभुलाल गिरी रहेका छन् भने उनका आमा घाइते भएकी हुन । घाइतेलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पहिरोमा परी गिरीको मृत्यु र उनकी आमा घाइते भएको जानकारी प्राप्त भए पछि प्रहरी टोलीले घाइतेको उद्दार गरिएको थियो । सोही गाउँमा पहिरोमा परी ३ परिवार बिस्थापित भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए ।
प्रहरीका अनुसार पछिल्लो समयमा परेको लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाब बढेसँगै सोही गाउँपालिका जुड्डीमा रहेको प्रहरी चौकी जुड्डी खोला र कर्णाली नदीले कटान गर्दा जोखिममा परेको छ । निरन्तर बाढीले प्रहरी चौकी उच्च जोखिममा परे पछि चौकीको टोलीलाई सोही स्थानमा निर्माणाधीन रहेको स्वास्थ्य चौकीको भवनमा सरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार