शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

१२ बूँदे निर्णय गर्दै गैरआवासीय नेपाली संघको ७ औं एशिया प्रशान्त क्षेत्रीय बैठक एवं दोश्रो महिला भेला सम्पन्न (निर्णयहरुसहित)

आइतबार, असार २२ २०७६

काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ ७औं एशिया प्रशान्त क्षेत्रीय बैठक एवं दोश्रो महिला भेला सफलतापूर्वक सम्पन्न भएको छ । बैठक संघका क्षेत्रीय संयोजक किरण विक्रम थापाको सभापतित्व, म्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री महामहिम उ क्याउ तिनको प्रमुख आतिथ्यता, म्यानमारका लागि नेपाली राजदुत महामहिम भिम उदास, प्रतिनिधि सभाका सांसद मा. डा. सूर्य पाठक, पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतको विशेष आतिथ्यता, परराष्ट्र मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेल, संघका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो पदाधिकारी सल्लाहकार एवं अभियान्ताहरुको समुपस्थितिमा आज ७ जुलाई २०१९ मा म्यानमारको यांगुनमा सम्पन्न भएको हो । बैठकमा २३ देशका करिब २५० जना गैरआवासीय नेपालीहरुको सहभागिता थियो ।

बैठकमा उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा.बद्री केसी, सचिव डिवि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा.हेमराज शर्मा लगायत अन्य पदाधिकारी एवं सदस्य र अभियन्ताहरुको सहभागिता रहेको छ । यसैगरी भेलामा एनआरएनए आइसिसी सल्लाहाकर गोबिन्द सुबेदी, एनआरएनए ओसेनिया संयोजक धर्मराज अधिकारी,मध्यपूर्व संयोजक आर के शर्मा, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, पूर्व एसिया प्यासिफिक डिआरसी गोबिन्द श्रेष्ठ, एनआरएन जापान अध्यक्ष टासी वाङ्ग्दि लामा, आइसिसी सदस्य मनोज गोर्खाली , महेश श्रेष्ठ, बिश्व राई, सुदिप कार्की, कपिलदेब थापा, राजु सैयद, मुकेश बरुवाल, एनआरएनए एसिया महिला संयोजक जुनु गुरुङलगायत दर्जनौ देशबाट सयौ प्रतिनिधी तथा सहभागीहरु भएका थिए ।

म्यानमारको यान्गोनमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्रशान्त क्षेत्रीय बैठकको आज औपचारिक उद्घाटन भएको छ । नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीहरुको भूमिका विषयमा केन्द्रित रहने बैठकको म्यानमारका अन्तर्रा्ष्ट्रिय सहयोग मन्त्री चो टिन, नेपालका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, संघीय संसदका माननीय सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत तथा संघका संस्थापक महासचिव भीम उदास, संघका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा.उपेन्द्र महतोले संयुक्त रुपमा रिवन काटेर पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै म्यानमारका मन्त्री टिनले म्यानमार र नेपाल विकासको चरणमा प्रवेश गर्दै गरेका मुलक भएकाले मिलेर काम गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताए । नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन म्यानमार सरकारको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउँदै म्यानमारका जनता पनि विदेश जाने क्रम बढ्दै गरेको अवस्थामा गैरआवासीय नेपालीहरुको अभियानबाट धेरै कुरा सिक्न सकिने धारणा राखे । संघीय संसदका सदस्य माननीय डा.सूर्य पाठकले विशेष अतिथिका रुपमा सम्बोधन गर्दै गैरआवासीय नेपालीहरु नेपालको सम्पत्ति भएकाले अव यो समुह नेपालको विकासको साझेदार हुनुपर्ने बताए । गैरआवासीय नेपालीहरुले तपाईहरुका विषयमा कसले के भने भन्ने तिर नलागी संविधानमा के लेखेको छ त्यसलाई हेरेर कार्यान्वयनको प्रतिक्षामा बस्न आग्रह गर्दै संविधानको भावना अनुसारका कानूनहरु बनाउन आफूहरु कटिबध्द भएको विश्वास व्यक्त गरे । त्यसै गरी अर्का विशेष अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले हामीले विदेशमा रहेका नेपाली वा नेपाली मुलका नेपालीहरुलाई नेपालमा अधिकतम अधिकार सहित नेपालसँगको सम्बन्धलाई जोडी राख्नु जरुरी भएको र त्यसले नेपाललाई नै फाइदा हुने हो भन्ने सबैले बुझ्नु जरुरी भएको धारणा राखे ।

म्यानमारका लागि नेपाली राजदुत भीम उदासले म्यानमारमा नेपाली मुलका म्यानमारी नागरिकले नेपाली भाषा कला संस्कृतिको जसरी जगर्ना गरिरहेका छन् त्यो उदाहरणीय रहेको उल्लेख गर्दै दुई देशका बीचमा धेरै समानताहरु भएकाले आपसमा सहकार्य गरेर काम गर्ने वातावरण निर्माण गर्नु पर्नेमा जोड दिए । संघका अध्यक्ष भवन भट्टले उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लागि पर्ने बताए। उनले नेपालको समृध्दिका लागि हामी सबै एकजुट हुनु्को अव अर्को कुनै विकल्प नभएको पनि उल्लेख गरे । त्यसैगरी संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले व्यक्तिगत सफलताले व्यक्ति धनी भए पनि राष्ट्र समृद्ध नभएसम्म त्यसको केही महत्व नहुने भएकाले नेपाल राष्ट्रको समृध्दि मात्रै हाम्रो लक्ष्य हुनुपर्ने बताए ।

उद्घाटनमा विभिन्न नेपाली गीत र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । म्यानमारमा २ लाख बढी नेपाली भाषी रहेका छन् । ‘नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीहरुको भूमिका’ विषयमा केन्द्रित रहने बैठक जुलाई ६ र ७ गरी दुईदिने आयोजना भएको हो । बैठकको औपचारिक उद्घाटन आज भएपनि शनिबार एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषदको प्रतिवेदनको प्रस्तुति र महिला तथा युवासँग सम्बन्धित कार्यक्रम सम्पन्न भएको थियो । शनिबारको बैठकको सुरुवात केन्द्रिय अध्यक्ष भवन भट्टको सम्वोधनबाट भएको थियो भने सभापतित्व क्षेत्रीय संयोजक किरणविक्रम थापाले गरेका थिए । शनिबारको बैठकमा मुलत प्रवासमा रहेका नेपाली समुदायको क्रियाकलाप नेपाली समुदायले भोग्ने गरेका समस्या र नेपालको कला संस्कृति तथा भाषा प्रवर्धनका कामहरुबारेमा सहभागीहरुले छलफल गरेका थिए । सयौं वर्षको इतिहास बोकेको म्यानमारको नेपाली समुदायले नेपालीहरुको संस्कृति बचाएर राख्न सकेको कुराको सबैले प्रशंसा गरेका थिए । खासगरी थाइल्याण्ड र म्यानमारमा धेरै पहिले देखि नेपालीहरुको बसोवास रहेकाले अन्य मुलुकका नेपालीको भन्दा फरक मुद्दाहरु समेत भएकाले ति विषयमा संघ र सरकारको समेत फरक चासो हुनुपर्ने धारणा बैठकमा उठेको थियो । महिला सत्रमा गैरआवासीय नेपाली अभियानमा महिला तथा युवाहरुको भूमिका अग्रणी हुनु पर्ने नेपाली आमाबाट जन्मेका सबैले नेपाली नागरिकताको अधिकार पाउनु पर्ने आवाज उठाइएको थियो । त्यसै गरी युवा सत्रमा दोस्रो तेस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली अभियानमा सक्रिय गराउनु पर्ने धारणा व्यक्त गरियो । मुलत युवाहरुको विश्वासको तह बढाउनु पर्ने र विभिन्न मुलुकमा रहेका युवाहरुबीच अनुभवहरुको आदानप्रदान गर्दै सहकार्यको वातावरण बनाउनु पर्ने कुरामा जोड दिइएको थियो । क्षेत्रीय बैठकमा एसिया क्षेत्रका जापान, चीन, मकाउ, मलेसिया, थाइल्याण्ड, हङकङ, दक्षिण कोरिया र आयोजक राष्ट्र म्यानमारको सहभागिता रहेको छ भने अन्य क्षेत्र अमेरिका, युरोप, मध्यपूर्व र ओसिनियाको समेत प्रतिनिधित्व रहेको छ । शनिबारको बैठकको संचालन क्षेत्रीय उपसंयोजक पारशमणि पोख्रेल र गणेश शर्माले गरेका थिए ।

बैठकले निम्न निर्णयरु गरेको छ

निर्णयहरु
१. बैठकको प्रमुख अतिथ्यता एवम नेपाली डायस्पोराको भूमिकाको उच्च कदर सहितको सारगर्भिक सम्बोधनका लागि यो बैठक म्यानमार युनियनका अन्तर्रा्ष्ट्रिय सहयोग मन्त्री महामहिम उ क्याउ तिनमा हार्दिक कृतज्ञता प्रकट गर्दछ । बैठकको आयोजनामा ठूलो सहयोग पुर्याउनु भएकोमा म्यानमारका लागि नेपाली राजदूत महामहिम भिम उदास, श्रीमति रंजना उदास एवम नेपाली राजदूतावास परिवार प्रति यो बैठक हार्दिक आभार प्रकट गर्दछ । साथै बैठकमा पाल्नु भएका विशिष्ट अतिथिहरु प्रतिनिधि सभाका सांसद मा. डा. सूर्य पाठक, पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, परराष्ट्र मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेल लगायत समस्त अतिथिगणमा यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।
२. बैठकले नेपाली मुलका विदेशी नागरिकहरुलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय गर्दछ । साथै नेपालको कला, संस्कृति, भाषा, रहनसहन सहितको आफ्नो पहिचान कायम राख्न म्यान्मारका नेपाली गोरखा समुदायको सफलताको यो बैठक उच्च संमान गर्दछ । यसवाट अरु देशमा रहेका नेपालीहरुले समेत धेरै सिक्न सक्ने संभावना रहेको यस बैठकको ठहर छ ।
३. मुलुकको विकासमा डायस्पोराको महत्वपूर्ण भूमिका रहने कुरालाई मनन गर्दै डायस्पोरालाई १/२ पुस्तामा मात्र सीमित नगरी गैरआवासीय नेपालीको परिभाषा भित्र नेपालबाट विदेशमा आई बसोबास गरेका व्यक्तिका संततिलाई समेट्न सक्ने गरी कानुनी व्यवस्था गर्न नेपाल सरकारलाई यो बैठक अनुरोध गर्दछ ।
४. नेपालको समृद्धिका लागि विदेशबाट सिकेको ज्ञान, सीप, आर्जित गरेको साधन श्रोत प्रयोग गर्ने वातावरण बनाउन निरन्तर प्रयास गर्ने प्रण यो बैठक गर्दछ । नेपालमा रु. १० अर्बको कोष भएको सामुहिक लगानी कंपनी सफल पार्न यो बैठक प्रतिबध्दता प्रकट गर्दछ । बैठकले नेपालको जल बिद्युत, पर्यटन, कृषि क्षेत्रमा लगानी प्रवर्धन गर्ने निर्णय गर्दछ । साथै नेपाललाई मेडिकल टुरिजमको केन्द्रका रुपमा विकास गर्नका लागि आवश्यक नीतिगत सुधार गर्न नेपाल सरकार समक्ष बैठक अनुरोध गर्दछ ।
५. गौतम बुध्दको जन्मस्थान लुम्बिनीप्रति म्यानमारी जनताको अगाध आस्थाको मनन गर्दै म्यानमार लुम्बीनी सिधा हवाइ सम्पर्कको व्यवस्था गर्न दुवै सरकार एवं हवाइ कम्पनीहरुमा यो बैठक आव्हान गर्दछ ।
६. आधा आकाश ओगटेको महिलाहरुको शसक्तिकरण बिना मुलुकको समृद्धि र गैरआवासीय नेपाली अभियानको सफलता संभव छैन । यो बैठक अभियानमा महिलाहरुको सहभागिता अभिबृद्धि गर्ने कार्यमा तत्परताका साथ लाग्ने प्रण गर्दछ ।
७. युवाहरु अभियानको वर्तमान र भविष्यका निर्धारणकर्ता हुन् । गैरआवासीय युवाहरुलाई नेपालको समृद्धि अभियानमा जोड्नु अति आवश्यक भएको यो बैठक महशुस गर्दछ । जुन सुकै मुलुकमा भएपनि नेपाली समुदायको व्यक्तिको सफलताले संपुर्ण नेपाल र नेपालीको मान सम्मान बढाउंदछ । युवाहरुलाई अभियानमा सामेल गराउनका लागि युवाको चासोका विषयहरु संघका गतिविधिमा समावेश गर्न र संघका आगामी सम्मेलन तथा बैठकहरुमा युवाका चासोका बिषयहरु समावेस गर्ने यो बैठक निर्णय गर्दछ ।
८. नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डायस्पोराको भूमिका महत्वपूर्ण छ । संसारको पर्यटन बजारमा ख्ष्कष्त या ँचष्भलमक बलम च्भबितष्खभक एक महत्वपूर्ण अंश हो । यो बैठक धेरै भन्दा धेरै गैरआवासीय नेपालीहरुलाई नेपाल भ्रमण गर्न र आफ्नो साथी र छिमेकिहरुलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्नको लागि आह्वान गर्दछ ।
९.विदेशमा गएका नेपालीहरु कुनै दुर्घटनामा परि फर्कनु पर्दा वा कुनै पनि कारणवस मृत्यु भएमा पार्थिव शरिर फर्काउनु पर्दा धेरै कठिनायी आउने गरेका छन् । त्यस्तो अप्ठेरो अवस्थामा प्रयोग हुने गरी अनिवार्य बीमाको व्यवस्था गर्न यो बैठक सरकार समक्ष आह्वान गर्दछ ।
१०. डायस्पोरा नेपाली कुटनीतिको ठूलो संवाहक बन्न सक्तछ । नेपालको समृद्धिको लागि अब नेपालले डायस्पोरा कुटनीति अपनाउनु पर्ने धारणा यो बैठक व्यक्त गर्दछ ।
११. बैठकले आगामी एशिया प्रशान्त क्षेत्रीय बैठक चीनमा र त्यसपछिको बैठक कोरियामा गर्ने समेत निर्णय गरेको छ ।
१२. यो बैठक सफलतापूर्वक संपन्न गर्न बैठकको आतिथ्यता गर्ने राष्ट्रिय समन्वय परिषद म्यानमार प्रति आभार प्रकट गर्दछ । साथै सम्मेलन को सफलताका लागि खटिने संघका सदस्य र नेपाली समुदायको यो बैठक सम्मान गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार