काठमाडौं(एजेन्सी)–अर्जेन्टिना कोपा अमेरिकामा तेस्रो भएको छ । गएराती सम्पन्न तेस्रो स्थानको खेलमा चिलीलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो भएको हो । अत्यन्त विवादस्पद र रोमान्चक खेलमा अर्जे्न्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा सर्जियो अग्युरो र पाउलो डिबालाले एक एक गोल गरेका थिए भने चिलीका लागि अर्टूरो भिडालले एक गोल गरेका थिए ।
खेलको पहिलो हाफ अत्यन्त विवादस्पद बनेको थियो । पहिलो हाफको ३७औ मिनेटमा अर्जेन्टिनाका लियोनेल मेसी र चिलीका गरी मेडलले रातो कार्ड पाउदा दुवै टिम १०–१० खेलाडीमा सिमित भएका थिए । चिलीका खेलाडी मेडल र मेसीबिचको विवादपछि रेफ्रीले दुवैलाई रातो कार्ड दिएका थिए । कोपा अमेरिकाको फाइनल खेल भोलि बिहान आयोजक ब्राजिल र पेरुबीच हुदै छ ।
अपमानित भएर खेल्न चाहन्न – लियोनेल मेसी
अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीले यस पटकको कोपा अमेरिका ब्राजिललाई जिताउने गरि सबै कुरा ‘सेटअप’ गरिएको आरोप लगाएका छन् । चिलीविरुद्ध २(१ गोल अन्तरले जित हासिल गर्दै कोपामा तेस्रो स्थान हासिल गरेको अर्जेन्टिनाको यस खेलमा मेसीले खेलको ३७औ मिनेटमा विवादस्पद रातो कार्ड पाउदै मेसी बाहिरिएका थिए । मेसीले खेलपछि मिडियासँग कुरागर्दै कोपामा रेफ्रीले पक्षपात गरेको फेरी आरोप लगाएका छन् । मेसीले भने,’ब्राजिललाई कोपा जिताउन बनाइएको योजनामा कुनै शंका छैन । म यस्तो अपमानजनक प्रतियोगिताको हिस्सा हुन चाहान्न र अर्जे्न्टिनापनि यसरी अपमानित भएर कोपा खेल्नु हुदैन ।’
मेसीले रेफ्रीले सहि निर्णय दिएको भए आफुहरु फाइनलमा पुग्ने दाबी समेत गरे । प्रतियोगितामा रेफ्री करप्ट भएको आरोप लगाउदै मेसीले ब्राजिलविरुद्धको खेल पछि आफुले बोलेको कुरा सहि बोलेको बताए । मेसीले यस प्रतियोगिताको आयोजना बारे प्रश्न उठाउदै खेल्ने मैदान राम्रो नभएको रेफ्रीले सहि निर्णय नदिएको आरोप सुरु देखि नै लगाउदै आएका छन् । प्रतियोगितामा कुल ६ खेल खेलेका मेसी केबल एक गोल गर्दै कोपा अमेरिकाको यात्रा रातोकार्डसहित टुंगाएका छन् ।