आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

धरहराको अवशेष संरक्षण गर वा नष्ट, मधु लम्सालको विचार

मंगलबार, जेष्ठ २४ २०७९

विशेष महत्वको ऐतिहासिक सम्पदा धरहराको तत्कालिन स्वरुप हामीबीच नरहे पनि त्यसको अवशेष बाँकी छ । २०७२ को विनाशकारी भुकम्पले धरहरा निमोठेर लग्यो । त्यस नजिकै धरहराको स्वरुपमा कंक्रिटको टावर धरहराकै नामबाट ठडीएको छ आगामी पुस्ताका लागि ।
जर्मन सरकारले पूर्व र पश्चिम जर्मन एकिकरण हुनु अघि लगाइएको बर्लिन पर्खाल भत्काएता पनि पछिल्लो पुस्ताका लागि भनेरै पर्खालको अवशेष राखिराखेको छ संरक्षणका साथ । बर्लिन पर्खालको अवशेष त्यहाँ पुग्ने विदेशी पर्यटकले बढो चासोका साथ नियाल्ने गरेका हुन्छन् भने कतिपयले त बिक्रीका लागि राखिएको बर्लिन पर्खालको ढुंगा किन्ने पनि गर्छन् ।
प्रथम प्रधानमन्त्री भिमशमसेरले बनाउन लगाएको धरहरा भुकम्पले दुई दुई पटक ढालिदियो । पछिल्लो पटकको भुकम्पले त अवशेष मात्र बाँकी राखिदिएको अवस्था छ । ऐतिहासिक महत्व बोकेको धरहरा ढलेपछि त्यहाँका इट्टा, ढुंगा, काठपात कता हराए ? कोकसले लगे ? पत्तो छैन ।
अवशेष टिनले ओढाएर त राखिएको छ, तर आवश्यक संरक्षणको अभावमा त्यहाँ झारपात पलाएर त्यो पनि कुनदिन ढल्ने हो पत्तो छैन ।
धरहरा बनाउने नाममा कोही प्रधानमन्त्रीले मेरो धरहरा मै बनाउँछु भन्दै डोनेशन उठाए, कति उठ्यो, कति खर्च भयो ? लेखाजोखै रहेन । सत्ताच्यूत हुने संकेत देखेपछि ४० प्रतिशत निर्माण कार्य पनि पूरा हुँदा नहुँदै उद्घाट्न गर्न हतार भयो, तत्कालिन प्रधानमन्त्रीलाई । अहिलेका प्रधानमन्त्रीको सायद त्यो धरहरा तिर ध्यानै गएको छैन होला जस्तो लाग्छ । नत्र त निर्माण कार्यले आवश्यक गति लिनु पर्ने थियो ।
जे होस्, विगतमा तत्कालिन प्रधानमन्त्री भिमशमशेरले बनाइदिएर राजधानीमा एउटा पर्यटकलाई लोभ्याउने धरहरा उभिएकै थियो, भुकम्पले ढालिदियो । पछिल्लो कंक्रिटकै टावर भए पनि धरहराकै नामबाट अर्काे धरहरा ठडीएकै छ, त्यसको आवश्यक र समयानूकुल निर्माण एवम् वास्तविक धरहराको अवशेषको संरक्षण राज्यको दायित्व होइन र ? होइन भने हरिविजोग देखाएर राख्नु भन्दा धरहराको अवशेष हटाइदिनु नै उचित होइन र ?
त्यस्तै विगतमा भुकम्पले धरहरा ढालिदिएको अवस्थामा धरहराको झझल्को दिन कोही कसैको प्रयासमा सुनधारा शहिदगेट चोकमा बनाएको उस्तै दृश्यको फुच्चे धरहरा अबका दिनमा हटाइदिँदा उचित हुन्थ्यो होला । कंक्रिट टावरको धरहराकै अगाडी फुच्चे धरहराले गिज्ज्याइँरहेको आभाष हुन्छ, त्यहाँ पुग्ने जोकोहीलाई ।

प्रतिक्रिया
सम्बन्धित समाचार