काठमाडौं(जस)– विश्व साईकल यात्री खगबहादुर खत्री काठमाडौं आईपुगेका छन् । आईतबार काठमाडौं ओर्लिएका खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । विमानस्थलमा खत्रीलाई स्वागत गर्न उनको विश्व साईकल यात्रा अभियानमा विशेष सहयोग पुर्याइरहेका विभिन्न व्यक्ति तथा प्रायोजकहरु पुगेका थिए । खत्रीको स्वागतमा जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले, एनआरएनए आइसीसी सदस्य मनोज गोरखाली, एनआरएनए मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, हिमालयन इभेन्टस प्रालिका अध्यक्ष सविन घिसिङ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

“म कतारबाट टर्की, टर्कीबाट नाइजेरीया, नाइजेरियाबाट घाना, घानाबाट युगाण्डा, युगाण्डाबाट इथोपिया हुँदै पुनः दोहा कतार पुगेर अहिले यहाँ नेपाल आईपुगे, बहुत खुशी लागेको छ” खत्रीले बताए । साथै, “मेरो साईकल यात्रामा सहयोग गर्ने विन्भन्न संघसंस्थाहरु, जनसवाल राष्ट्रिय दैनिक, विकास जलविद्युत परियोजना, ग्रीनग्रास ट्रेडिङ, अन्य विभिन्न व्यक्तित्वहरु लगायतका अन्य सबै सबै व्यक्तिहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।” विश्व शान्ति, समानता र विश्व भाईचारा अभिबृद्धि गर्ने प्रमुख अभिप्रायले विश्व भ्रमण अभियानमा लागेका खत्री बताए ।

विश्व साइकल यात्राबारे चर्चा गर्दै खत्रलिे भने– ‘मरेर लानु केही छैन, बरु बाँचुन्जेलको जीवनमा सत्कर्म अर्थात् पुण्य कर्म गरेर देशलाई केही योगदान पुराउन सकुँ भन्ने ठानेर देशप्ररेम, विश्व शान्ति, समानता र भाइचारा को मूल सन्देश बोकी विश्व साइकल यात्रामा निस्किएको हुँ । मलाई धेरैले यत्रो मान्छे किन साइकलमा हिड्छस भनेर खिसी गर्छन् । तर म भन्ने गर्छु– ‘नेपाल गरिब छ तर नेपाली मन धनी छ, नेपाली संस्कृति धनी छ, नेपाली प्रकृति धनी छ, नेपालको त्यही धनीपन विश्वमाझ चिनाउन पनि मैले साइकलमा विश्व यात्रा गर्नु पर्दछ भनेर निरन्तर आफ्नो लक्ष्यमा लागेको हुँ ।’

उनले भने–“नेपाली हुनुमा मलाई यति गर्व लाग्छ– विश्वमा कहीँ नभएको संस्कृति र संस्कार हाम्रो देशमा छ । विश्व इतिहासमा कसैको पनि गुलाम नभएको एउटा देश नेपाल । गर्वले छाती फुलिन्छ । हिमाल हाम्रै देशमा, पहाड हाम्रै देशमा, तराई हाम्रै देशमा, हरियाली घना बन हाम्रै देशमा, हिमालको चिसो कलकलाउँदो पानी हाम्रै देशमा, नदीनाला हाम्रै देशमा, सगरमाथा हाम्रै देशमा, बुद्ध हाम्रै देशमा । नेपाली धनीपनको बयान गर्न म असमर्थ छु । त्यसर्थ, यही हाम्रो धनीपन विश्वमा पुर्यााउन म साइकल यात्रामा छु,’ बताए ।

तपाईंको साईकल यात्राको मुल उद्देश्य के हो त भन्ने प्रश्नमा उनले भने– “मेरो एउटै उद्देश्य भनेको विश्वभरका मानिसहरूबीच विश्व शान्ति र भाइचारा अभिवृद्धि गर्ने हो । आफ्नो देशको विभिन्न जाति, धर्म, पेसा, प्रकृति र भूगोलको कला र संस्कृतिलाई हृदयमा बोकेर विश्व शान्ति र मानवीय भाइचाराको सन्देश फैलाउनै नै मेरो मूलभूत उद्देश्य हो । नेपालको गौरवपूर्ण इतिहासलाई विश्वमा पु¥याउने र नेपाललाई शान्तिभुमीको रूपमा पर्यटन अभिवृद्धि गर्ने पनि मेरो उद्देश्य हो । संसारभरका मानिसहरू पैसाको निमित्त एकअर्काबिच लडाइ लडिरहेको बेला शान्ति र भाइचाराको सन्देश मार्फत सबैमा प्रमभाव जागृति गराउने नै मेरो अन्तर उद्देश्य हो ।”












