काठमाडौं(जस)–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आगामी केन्द्रीय समितिको बैठकबाट विधानको नियमावली पारित गरेपछि सबै तहको संरचना निर्माण हुने स्पष्ट पारेको छ । विभिन्न मिडियामा काँग्रेस तदर्स समिति गठन गरेर अगाडि जान लागेको रिपोर्टको खण्डन गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै काँग्रेसको विधानमा तदर्स समिति गठन गर्ने प्रावधान नरहेको स्पष्ट गरेका हुन् । विज्ञप्तिमा भनिएको छ,’ पार्टीको संशोधित विधानको अन्तिम टुंगो भए पश्चात केन्द्रीय समितिले विधानको कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आगामी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरे पश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुनेछ ।’
विज्ञप्तिमा कांग्रेसको विधानको धारा ७२ को ४ ले पार्टी संगठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको भन्दै नेपालको संविधान बमोजिमका नविन संरचनाहरु पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्था अनुरुप नै गठन हुने उल्लेख गरिएको छ । काँग्रेसले सो भन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरु निराधार रहेको भन्दै विधानमा पार्टीको नविन संरचनाहरु गठनका लागि तदर्थ समितिको कुनै प्रावधान नरहेको स्पष्ट पारेको छ ।
विधानले निर्दिष्ट गरे बमोजिम देशव्यापी रुपमा पार्टी संगठनको अन्तरिम व्यवस्था गर्दै नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा प्रविष्ट हुने भन्दै केन्द्रीय समितिको बैठक लगतै नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे जरुरी निर्णय आवश्यक परामर्श पश्चात् हुने उल्लेख गरिएको छ ।