मुम्बई(एजेन्सी)–आमिर खानको फिल्म दंगलबाट बलिउडमा आफ्नो पहिचान बनाउने सुन्दर नायिका जायरा वसिमले आफ्नो फिल्मी करियरलाई सधैंका लागि सन्यास लिएकी छिन् । यो बलिउड जगतको मात्र नभई उनका प्रशंसकका लागि पनि निकै निराशाजनक कुरा हो । जायराले सोसल मिडियामा एउटा लामो स्टेटस लेखेर यसबारे जानकारी दिएकी हुन् । जायरालाई फिल्म दंगलका लागि नेशनल अवार्डबाट पनि सम्मानित गरियो । फिल्ममा उनले गीता फोगाटको भूमिका निभाएकी थिइन् । फिल्ममा उनको अभिनयका साथै सुन्दरताको पनि निकै प्रशंसा गरिएको थियो । जायराले निकै सानो उमेरमा अवार्ड जितिन् । उनी सोसल मिडियामा पनि निकै सक्रिय रहिन्छन् । इन्स्टाग्राममा उनको तस्बिर निकै रुचाइन्छ ।
जायराको जन्म श्रीनगरको हवल इलाकामा अक्टोबर २००० को २३ तारिखमा भएको थियो । उनका पिता, जाहिद वासिम, श्रीनगरमा एक बैंक प्रबन्धकको रुपमा काम गर्छन् । उनकी आमाको नाम जर्का वसिम हो । जायरालाई स्कूले समयदेखि नै अभिनयको शौख थियो । जायरा अभिनयका साथै पढाईमा पनि अब्बल छिन् । हालै भएको १० को परीक्षामा उनले ९२ प्रतिशत अंक पाइन् । यतिबेला उनी ११ कक्षामा पढिरहेकी छिन् ।