राजन घिमिरे, कचनकवल – झापा बिश्वले प्रविधिमा फड्को मारिरहेको आजको दुनियामा, गाउँ सहरमा रुपान्तरित हुँदै छन । उद्योगको बिकासलाइ मात्र समृद्धिको मार्ग मान्ने हो भने खुलेका अनेकन कलकारखानाले हाम्रो कायापलट गरि सक्नु पर्ने हो। आज तर अवस्था भयावह छ, सरकारी नियमन नभएका अनेकन उद्योग हरुको मनोमानिले देशको वातावरणिय अवस्थामा ठूलो खतराको घण्टि बजाइरहेको छ । आज विश्व कार्बन इमिसनको बिकल्प खोजिरहेको छ, हाम्रो देश त झन पर्यावरणलाई स्वच्छा राख्न मनग्य बोट्बिरुवा जङ्गल भएको कारण बार्षिक अरबौ रुपैया अनुदान पाउने देश हो जस्को महत्त्व हामिले बुझ्न सकेका छैनौ। पुरातात्त्विक महत्वका सम्पदाहरुको बिनास गरि बढाइने बिकास हैन, यस्ले ईतिहास मात्र सक्दैन, अस्तित्व नै धरासायी पार्छ। आज गाउँ लाई सहरमा रुपान्तरित गरेर मनग्य अर्थोपार्जनको मार्ग खोजिरहदा हामी के छोड्दै छौ? के बाट हात धुदै छौ? के के गुमाउदै छौ जुन भविश्यमा अप्राप्य हुन्छ? त्यो बुझ्न चाहिरहेका छैनौ। म नेपालको दक्षिणी भेगमा बस्छु, जुन देशको सबै भन्दा होचो क्षेत्र पनि हो, कचनकवल को स्तम्भ गाडिएको एक ईतिहास बोकेको क्षेत्रको ब्याक्ती हो म। बिकासको फड्को आदिको नारा र ब्यवाहारिक अनुसासनको तादम्यता नमिलेको देख्दा हाम्रो देशमा कचनकवल जस्तो अस्तित्व गुमाउने क्षेत्र कति होलान, म आफैलाइ प्रश्न गर्छु। स्थानीय सरकारको स्थापना देखि, पावर स्थानिय प्रतिनिधि सम्मिलित स्थानिय सरकारको हातमा आएको छ। यो त राम्रो अभ्यास हो, आफ्नो ठाउँ स्थानिय भन्दा बढि कस्ले बुझेको हुन्छ होला र? सो स्थानको समृद्धिको लागि उनिहरु भन्दा बढी चासो कस्लाइ हुन्छ होला र? तर हाम्रो कचनकवलमा ठ्याक्क उल्टो छ। खेती उब्जनिकोलागि अत्यन्तै सुहाउदिलो माटो ले आशीर्वाद पाएको हाम्रो क्षेत्र कृषिमा आश्रीत बहुमतिय जनसंख्या बस्ने क्षेत्र हो। कृषि उत्पादनमा थप हौसला दिलाउन तत्कालिन प्रधान मन्त्री पुष्प कमल दाहालले धान सुपरजोन कार्यक्रम उद्घाटन गरेको क्षेत्र हो यो। आज यो क्षेत्र भौडी भएको छ, उब्जनीमा उल्लेखनीय रुपमा ह्रास आएको छ। लगभग ४०००० माथिको जनसंख्या प्रत्यक्ष रुपमा स्वास्थ र समग्र जिवनमा नै प्रभावित भए पनि बुझ्न सकिरहेका छैनन कि समाधान के हो? भोलीको दिनमा यो क्षेत्रमा भुकमरी नलाग्ला भन्न सक्ने अवस्था छैन। “व्यवसायिक कृषि र उद्यममा आधारित पर्यटकीय पूर्वाधार-शिक्षा, स्वास्थ्य र यातायात संजाल कचनकवल समृद्धिको आधार” यो नारा कचनकवल गाउँ पालिकाको नारा हो, जस्को सर्लक्कै उल्टो काम यहाँ भइ रहेको छ। यस पालिकाको बालुवाडी, पाठामारी क्षेत्रमा करिब २ बर्ग किमि भित्र नै ६ इटा उद्योग छन जस्ले बार्षिक कम्तिमा ९०००००० किलो कोइला डढाउछन ३६०००००० इटा उत्पादन गर्न। अब अनुमान गर्नुहोस कति माटोको आवश्यकता होला यो उत्पादनको लागि। सो माटोको आपुर्ती कचनकवल आफैले गराएको छ, त्यसैले त सयौ भौडी छन कृषि क्षेत्रमा तर स्थानिय सरकार भोट केन्द्रित राजनिती, पुजिवादी चक्रब्युहमा फसेर यो जटिलता प्रती अनदेखा गर्दै छ। स्थानियहरुले संघर्ष नगरेका हैनन, गर्दैछन, जीवन रक्षाको भिख माग्दै छन तर बेवास्ता नै गर्दैछ स्थानिय सरकार। ब्यवसायिक कृषि र उद्यमलाइ आधार मानी पर्यटकीय क्षेत्र बनाउने नारा बोकेको स्थानिय सरकारले बन्जड क्षेत्र र भौडी देखाएर पर्यटक आकर्षित गर्ला त। यहाँ त कृषि र उद्योगमा यस्तो सहकार्य छ जुन डरलाग्दो अवस्थामा पुग्दै छ। इटाको लागि माटो चाहिन्छ, एकजनाले खेत खनी माटो बेच्छ, अब माछा लगायतको कृषि फर्म दर्ता गरि सरकारी अनुदान पनि खान्छ। त्यो १० औ फिट गहिरो मा न त माछा हुन्छ न नजिकै का अरु खेतमा उब्जनी। वास्तविक कृषक रोजगारी खोज्दै भारत लगायत अन्य देशमा पलायन हुँदै गरेको तितो यथार्थ छ। स्थानिय सरकारका निकटहरुले अनुदान पाउने, आफ्ना आसेपासेले नया उद्योगको दर्ता पाउने यो क्षेत्रमा फेरि अर्को वातावरणको काल इटा उद्योग को दर्ता केही दिन अघि मात्र स्थानिय सरकारले दिएको छ। चुनावी नारा कृषी केन्द्रित गरेको स्थानिय सरकारले धान सुपरजोन कार्यक्रममा राजनितिक गन्धा खेल खेली अफिस नै रहन नसक्ने वातावरण सृजना गरेको छ। मनग्य सड्क बनायौ, पुल बनायौ भनेर फुइ लगाउने स्थानिय सरकार, भित्र भित्र धमिराको घरको खोक्रो भए झै बाहिरी ठूलो बिकासको हुइया पिट्न ब्यस्त छ। नगदेबाली फल्न छोड्दै छ यो ठाउमा, तर न प्रदेश न केन्द्र दुबै सरकारको आँखा यहाँ तानिएको छैन। संघर्षरत समुहहरु धम्किको चपेटामा पारिन्छन तथापी राजनितिक दम्भले कानुन स्थापित गराउन सकेको छैन। स्वास्थ्य र यातायात संजाल, नारामा उदृत गरेता पनि अव्यवस्थित टिपरको साघुरो बाटोमा अत्याधिक गतिको चलाइले कस्तो यातायत संजालको परिकल्पना गरिएको हो बुझ्न सकिन्न। स्वास्थ्य नारामा त छ तर प्रदुषणले निम्त्याएको खतरा सम्बोधन गरिएको छैन। यो अव्यवस्थित अवस्थामा कचनकवल सहर बन्दै छ कि भएको सुन्दर गाउँ बिग्रन्दै छ। गाउँ लाई अव्यवस्थित र कुरुप बनाएर छोडिने अवस्थालाइ सहर त भनिन्न नि। नारा अनुरुपको केही काम नभएको कचनकवलको भविष्य अब कस्ले जोगाउला जब नियमक संस्था, कार्यन्वयनको जिम्मेवारी भएको निकाय आफै भ्रष्ट दलदलमा मुसिएको छ । लेखक बनियानी निवासी सामाजिक अभियन्ता हुन।