काठमाडौँ । नेपालले आज आइसीसी टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको सेमिफाइनलमा युएईको सामना गर्दै छ । सेमिफाइनल खेल नेपाली समय अनुसार पौने चार बजेदेखि शुरु हुने छ । युएईसँग नेपालले अहिलेसम्म कुल ४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा नेपालले दुई जित हासिल गरेको छ भने युएईले २ जित हासिल गरेको छ । पछिल्लो पटक ग्लोबल क्वालिफायर अघि सम्पन्न चार देशीय सिरिजमा नेपाललाई युइएले २५ रनले पराजित गरेको थियो ।
तर ग्लोबल क्वालिफायरमा भने नेपालको प्रदर्शन उत्कृष्ट रहेको छ । नेपालले समुह चरणमा खेलेका तिनै खेलमा सहज जित हासिल गरेर सेमिफाइनल यात्रा तय गरेको छ । अर्को तर्फ युएईले भने समुह चरणमा २ जित र एक हार बेहोरेको थियो ।
यस खेलमा हुने जितले अस्ट्रेलियामा हुने विश्वकपको यात्रा तय हुने हुनाले पनि दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ । नेपाली खेलाडीहरुले ग्लोबल क्वालिफायरमा उच्च आत्मविश्वास देखाएर खेलिरहेका छन् । खास गरि बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जितमा भूमिका खेलेका छन् ।
ओमानविरुद्धको ११७ रन डिफेन्ड गर्ने होस् या क्यानडालाई ८० रनमा अल आउट गर्ने होस् नेपाली बलरले राम्रो लयमा देखिएका छन् । कमल सिंह ऐरीले दिलाएको शुरुवाती ब्रेकथ्रूलाई अन्य बलरले सपोर्ट गर्दै नियमित विकेट निकालीरहदा विपक्षी टिमहरुलाई क्रिजमा जम्न गाह्रो भइरहेको छ । युएईविरुद्ध पनि यहि रणनिति र आत्मविश्वासले खेलेमा नेपाललाई विश्वकपमा जान युएईले रोक्न सक्दैन ।
अर्कोतर्फ ब्याटिंगमा कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीमा बढी भर परेको देखिएको छ ।
सेमिफाइनल समीकरण
८ देश सहभागी रहेको ग्लोबल क्वालिफायरमा समुह ए बाट आयरल्याण्ड र युएई तथा समुह बि बाट नेपाल र ओमान सेमिफाइनलमा पुगेका छन् । त्यस्तै समुह ए बाट बहराइन र जर्मनी तथा समुह बि बाट क्यानडा र फिलिपिन्स भने बाहिरिएका छन् ।
समुह ए मा आयरल्याण्ड, युएई र बहराइनको समान ४-४ अंक भएपनि रनरेटको आधारमा आयरल्याण्ड पहिलो र युएई दोस्रो हुदै सेमिफाइनल पुगेका हुन् । बहराइन भने रनरेटको आधारमा समुहमा तेस्रो हुदै बाहिरिएको छ । त्यस्तै जर्मनीले भने आफ्ना तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
त्यस्तै समुह बी मा भने नेपालले आफ्ना तिनै खेल जितेर ६ अंकसहित सेमिफाइनलमा पुगेको छ भने ओमानले २ खेल जितेर ४ अंकसहित समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै यस समुहबाट क्यानाडाले केवल एक खेल जितेको थियो भने फिलिपिन्सले तिनै खेलमा हार बेहोरेको थियो । अब नेपालले सेमिफाइनलमा मंगलबार युएईसँग खेल्ने छ । खेल पौने ४ बजे हुने छ । त्यस्तै नेपालको समुहबाट आयोजक ओमान दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । ओमानले अब सेमिफाइनलमा समुह ए मा पहिलो भएको आयरल्याण्डसँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेलपनि मंगलबार नै हुने छ । अब सेमिफाइनलमा विजयी भएर फाइनलमा पुग्ने दुई टिमले आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने छन् ।