आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

‘शाकुन्तल’ महाकाव्यमा प्रेम-सुधारस (साहित्य बिबेचना)

आइतबार, माघ २३ २०७८

भारतीय उपमहाद्वीपका महान कबि कालिदासद्वारा रचित विश्वविख्यात नाटक”अभीज्ञान शाकुन्तलम”मा जुन दिब्य प्रेमको बिराट आकाशलाई देखाइएको छ,किन्चित त्यसभित्र निहित निर्मल प्रेमज्ञान तरङ्गहरुलाई महाकबी लक्ष्मी प्रसाद देबकोटाले शाकुन्तल महाकाब्यमा देखाउन सफल भएका छन।प्रकृतिकी छाेरी शकुन्तलाकाे प्राकृतिक सहचर्या, मानव र प्रेमाभावकाे मधुर अन्तर प्रेरणाले भाबुक हुँदै महाकबिले प्रस्तुत शृंगार रस प्रधान महाकाव्य लेखेकाे हुनुपर्दछ । शाकुन्तल महाकाव्य नेपालीमा प्रकाशित सर्वप्रथम माैलिक महाकाव्य हाे ।
महाकाव्यको संरचना,लय र सौन्दर्य भावलाई हेर्दा शाकुन्तल महाकाव्यमा जम्मा २४ सर्ग छन्। पहिलो सर्ग सामान्य देवस्तुति, मङ्गलाचरणबाट आरम्भ गरिएको छ। प्रथम सर्गका ४० श्लोकसम्म शार्दूलविक्रीडित छन्द र बाँकी ४१ देखि ५० सर्गका श्लोकहरू वियोगिनी छन्दमा रहेका छन्। शाकुन्तलको दोस्रो सर्ग मालिनी छन्दबाट आरम्भ भएको पाइन्छ। दोस्रो सर्गका १६ श्लोकसम्म मालिनी र १७ औँदेखि ४९ सम्मका श्लोकमा प्रकृतिको वर्णन ज्यादै रोचक तरिकाले गरिएको छ।
पहिलो चरणमा मेनका र बिश्वामित्रको प्रेम शुरु भै सकेको हुँदैन। स्वर्गका राजा इन्द्रको योजना अनुशार अप्सरा मेनका ऋषिको ध्यान भंग गराउन धर्तीमा आएकी हुन्। उनले जसरि पनि ऋषिलाई आफ्नो माया जालमा फसाउनु थियो। त्यहि उद्धेश्य अनुरुप मेनकाले ध्यान मग्न ऋषिलाई पाउजुको आवाज सहित यसो भन्छिन्–
‘हे साधु सुन,मूर्ख छौ सब तिमी फुस्रा कुरामा पर्यौ
ढुङ्गा आसन भो हठै व्यसन भो झन् स्वर्गबाटै झर्यौ।
शैया एक बनाउनु मखमली बुट्टा भरी सुन्दर
यौटा राख त अप्सरा मृदुमुखी देखिन्छ है ईश्वर।’

यस्ता कामुक भावका श्लोक र प्रेम कम्पित आवाजले ऋषिको मनमा बिस्तारै प्रभाव जमाउन थाल्छ र केहि दिनमा नै उनको तप भङ्ग हुनपुग्छ। भुजङ्गप्रयात छन्दमा रचना गरिएको यो कामुक प्रेम अपिल सर्गमा जम्मा ९८ श्लोकहरूले ऋषिको मनोभावमा ल्याएको हलचल र तात्कालिक प्रेमपूर्ण परिवेशलाई रसिक बनाएका छन । महाकाव्यको पाँचौँ सर्ग भने केवल ४६ श्लोकमा नियन्त्रित छ ।जसमा मेनकासँग ऋषि विश्वामित्रको प्रेम झाङ्गिञ्छ। जंगलकै कुटीमा चन्द्रमुखी शिशु बालिका (शकुन्तला) को जन्म हुन्छ। पति पत्नीको बिबाद बीच विश्वामित्र र अप्सरा मेनकाको प्रेम प्रतिमुर्ती शिशु शकुन्तला मालिनी नदी सन्निकट घना जङलमा त्यागिन वाध्य हुन्छिन। हो,त्यहि बिन्दुबाट शाकुन्तल महाकाब्यको कारुणिक कथाले अब्यक्त शिराबाट करुणामय गंगा जलमा स्नान गराउन थाल्दछ ।

प्रेम मानसिक चाह र हृदय स्पर्शकाबीच अनपेक्षित बाध्यताले टुक्राटुक्रा भएर अतृप्त छटपटाहट सँगसँगै शुष्क भुमिमा पोखिन्छ।विश्वामित्र जसले घमण्ड र महत्वकांक्षा रुपि त्रिशंकुलाई अहमताको नयाँ स्वर्ग स्थापना गरिदिने आस्वाशनलाई पुरा गर्न प्रेम बिहिन तपस्यामा पुन आशन कस्छन ।

मेनका र विश्वामित्र बिच चलेको प्रेमको अन्त्य पछी उनिहरुकी सुपुत्री शकुन्तलाले युबराज दुश्यन्तसँगको प्रेमलाई सफल बनाएर बाबु आमाको अधुरो प्रेमलाई पुरा गर्छिन । शकुन्तला र दुश्यन्तको आत्मिक प्रेमदशा भित्र बिचरण गर्दागर्दै अमरत्व प्राप्त गर्न सफल भएको महाकाब्य हो सकुन्तला महाकाब्य । सकुन्तला महाकाब्य भित्र अभद्र लैङ्गिक कामुकताहरु कतै कतै देखा पर्न खोजे पनि निष्कर्षमा निश्कृय हुन्छन । निर्मल नदीको जसरी समुन्द्रमा समाहित हुनको लागि आतुरता हुन्छ,त्यस्तै आतुरता शकुन्तला र दुश्यन्तको प्रेमप्रबाहमा पनि छ। उनीहरुको प्रेम तरंगमा अभद्र कुटिल चालहरु खासै देखिंदैनन ।

कुनै योजना र मध्यस्थता बिना स्वतस्फुर्त रुपमा प्रेम महाकाव्यको अन्तसम्म बगिरहन्छ । बिशेषगरि शकुन्तलाको प्रेममा एउटा प्राकृतिक आवाज छ, नदी तथा समुन्द्र समागमको आवाज, ब्रमान्डिय परिचक्रको आवाज र धर्ती अपचलनको सौम्य, सभ्य वा परम आनन्दित सृंगारिक आवाज। शकुन्तला र दुश्यन्तको प्रेमप्रबाहमा मनको मनसँग र मस्तिस्कको मस्तिस्कसँग जोडीएको मायाको तार छ । जुन कहिल्यै टुट्दैन । आवाज-आवाज भित्रभित्रै एक फल प्रेमको रुपमा पाकेर प्राकृतिक रुपमा प्रकट हुन्छ सकुन्तला महाकाब्यमा यसरी:

‘सुन बादल भाे सुन सूर्य भए ।
सुरद्वार खुल्याे सुनकाे नभमा ।।
सुनकाे भव भाे सुनकाे जलले ।
सुन तार बजाउँछ कल्कलले ।। ‘

जल स्नानबाट फर्किंदै गरेका महामुनी कन्व प्राकृतिक नियमक र ब्रह्माण्डको ज्ञान भएका ब्रह्मर्षी हुन।’शकुन्त’ चराहरुको चौघेरा र शिशुको चिच्याहटलाई कन्व ऋषिले बिधी निर्माताको निर्देशन सम्झिन्छन।ॠषि कन्वले नियतिबाट मिल्क्याइएको अंकुरित बतिलोलाई कर्तब्यको निर्देशन सम्झी आफ्नो कुटिमा लिएर आउछन । उनले ॠषिकी बहिनी गौतमी र ज्वाँई सतानन्दको आश्रममा राख्न नहुने सुझावका बीच पनि सकुन्तलालाई आमा बाबु दुबैको बात्सल्य दिएर आँफैसँग राख्छन। ‘कुन जातको बच्चा हो’ भनेर परिचर्चा चल्दा आफ्ना चेलाहरुलाई कुनै पनी ब्रम्हज्ञानिले ‘जातको कुरा गर्नु संकिर्णताको पराकास्टा हो’ भन्दै ॠकबेदमा लेखिएको ‘मनुर्भव :’लाई मनन गर्न सल्लाह दिन्छन । दिब्य चेतना भएका ब्रह्मर्षीहरुले जात र बर्ण ब्याबस्थालाई ईन्कार गर्दथे भन्ने कुरा कंव ऋषिको ‘मनुर्भव :’ले छर्लंग पारेको छ ।

महर्षि कंव र सकुन्तलाको बीच रक्त संबन्ध भन्दा माथिको सम: भावी स्नेह छचल्किएको छ । कन्वमा त्यस्तो कुनै क्षण रहेन जसमा सकुन्तला प्रतिको बात्सल्यमा कमी भएको होस् । त्यहाँ केवल ऋषिको मानवता मात्र रहेन,अपार प्राकृतिक बात्सल्य छचल्किएको छ। कुटी वरपर प्रकृति प्रतिको सुरक्षा भाव र ममता हावा सँगै बहेको छ। जीव,जन्तु, लता, वृक्ष र चराचर जगत प्रती समान सम्मान र कर्तब्य सहितको प्रेम लहराएको छ। ब्रह्मज्ञानी महामानव केवल मानव हितको मात्र प्रयाय बनेर रहन सक्दैन । मानिसको सृजना ब्रह्माण्डका सबै चराचरलाई समान ममतामा हुर्काउनका लागि भएको हो । मानबको कर्तब्य र सृजकको चाह पनि प्रेमबाट प्रेरित छ भनेर दिब्य प्रेममा भिजाएर काब्यका हरेक स्तम्भहरु एकैसाथ उभ्याइएको देखिन्छ। यसरी वात्सल्य र प्रेमरुपी बिशाल जेलोभित्र मुख्य गरि सृंगार रसको साथै अन्य रसले समेत सिगारिएको छ सकुन्तला महाकाब्य ।

”एक फूल केवल सुन्दरता र किट भोजनको लागि सृस्‍टि गरिएको अबोध प्राण हो।” शकुन्तलाको माध्यामबाट कवि आँफै बोलेका छन् – ‘फूललाई पनि दुख्छ, नछोउ र बिना उद्यस्य टिपेर प्राण नलेउ, अरुको प्राण संकटमा पार्ने वा जीव जगतको इश्वरिय सार्बभौम स्वतन्त्रतालाई चुनौती दिने कसैको अधिकार छैन। रचनाको सुरक्षा गर्ने र सौन्दर्यताको आनन्दबाट स्नान गर्ने बिधाताबाट मानवलाई दिइएको आदेश हो ।’ जुन प्रेम तपोबनको एक हिरणसँगको वार्तालापमा सकुन्तलाले खुबै निस्पाप तरिकाले बगाएकी छन । प्रेम मित्र करणको जस्तो निस्वार्थ प्रेम, ॠषि कन्वको जस्तो बात्सल्यता र सकुन्तलाका आश्रममा रहेका अन्य सखीहरुको जस्तो हार्दिकता नै महाकाव्यका मुख्य भावहरु हुन् ।

प्रेम तपस्या हो जसले सधैं पारीजात फुलले जस्तै सुगन्ध दिइ रहन्छ। तर त्यसमा कुनै स्वार्थ,बिकार र मैलो भावनाको लेश पनि हुनुहुदैन । प्रेम भबिश्यको आशामा नदीको पानी जस्तै बगिरहन्छ । प्रेमले किनारा बिहिन समुन्द्रका तरङ्ग र छालहरु जस्तै सबै जागतलाई आँफुमा समाहित गर्न सक्दछ । दुश्यन्तले जस्तै सर्वस्व त्यागेर पनि प्रेमको उपासना र अधिनताले मनमा आनन्दको बर्षा गरिरहन्छ । त्यसैले त सकुन्तला र दुश्यन्तको प्रेम काहानीलाई पथ प्रदर्शक मानेर महाकविको कलमले पुन मुनामदन र सुनको बिहानी खण्डकाब्य जन्मायो। शाकुन्तलको एक हरफ वाक्य ‘मनुर्भब:’ ले मुनामदनमा ‘क्षेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन,मनिस ठुलो दिलले हुन्छ जातले हुँदैन’, भनेर प्रेमको सिमा रहित बिशालतालाई पुनर्जीवन दियो। ‘नछुनु त्यो कोपिला छोएमा पाप लाग्दछ’ भनेर सुनको बिहानीमा महाकबिले पस्केको’तपोवाक्य’शाकुन्तल महाकाव्य कै देन हो ।

कर्तब्य र प्रेम भन्दा बाहिर ज्ञान र मुक्ती सम्भव छैन भन्ने विश्वासमा पुगेर पनि एक बर्ष पछी कुरुचिको निष्क्रिष्टतालाई न त बिश्वामित्रले चिर्न सके न त मेनकाले नै चिर्न सकिन । ब्रहमज्ञानको खोजिमा निर्जन जंगलबिच भौतारीइ रहेका अतृप्त प्रेमाभिलासी विश्वामित्र पासा स्वरुप फ्याकिएको ईन्द्रजाल रुपी मेनकाबाट प्रेम ज्ञान लिन बाध्य भए । भविष्यको प्रेम बिज बिना नाम र बिना परिचय नि:सहाय बनाइएर भुमिमा फालियो । यसले विश्वामित्रको ज्ञानको दायरा र कंव ऋषिको चेतनाको क्षेत्रलाई तुलना गर्न नसकिने बनाइदिएको छ।

सृस्‍टिका बाटिकामा गगन भेद्ने शाकुन्त चराहरुले टुक्रा टुक्रा भएको मेनका र विश्वामित्रको प्रेमको चिनागारीलाई जोड्ने धागोको काम गरेका छन् । यो महाकाव्यले अर्को संदेश के दिएको छ भने सृष्टिदेखि बगिरहेको प्रेम हुरी जातिय अहंकार,एकल समाज र एकाङ्गी सहयोगले कदापि हुर्कन सक्दैन। सृष्टि हुर्कन प्रेम आबश्यक छ।
धर्तिका हरेक चिज वा प्राणी एक आपसमा अन्तर घुलित र उस्तै ब्रह्म तत्वबाट बन्धित छन । यी सबैको आ-आफ्नो स्वतन्त्र अस्तित्व भएर पनि भावनात्मक एकात्मकता छ। त्यो एकात्मकता प्रेमले सम्भव भएको हो। त्यसैले प्रेम आस्था हो, प्रेम दाशता हैन, यो स्वतन्त्र रुपले हुर्कन पाउनु पर्छ।यसले प्रकृतिको पूर्ण रचनामा साक्षात्कार हुन पाउनु पर्छ।मानव मानवबाट मात्र बिजित र जिवित हुन सक्दैन ।
पुरु पुत्र दुस्यन्त सकुन्तलाको प्रेम बिना अर्धपागल हुँदा र आफ्नो स्मरण शक्तिलाई गुमाउदा पनि प्रेमरुपी विश्वाशले सबै कुरालाई पुनर्जीवित गरायो। शकुन्तलासंगको प्रेमलयद्वारा उत्पन्न अमृत कोषले राजा दुश्यन्तलाई पटक पटक पुनर्जीवन दिइ रह्यो।
राजाको प्रेममा पागल भएकी शकुन्तलालाई दुर्वासा ऋषिले श्राप दिएर अझै पीडा थपिदिएको प्रसंगले यो महाकाव्यलाई अझै मार्मिक बनाएको छ ।शाकुन्तलको २४ औं अर्थात् अन्तिम सर्गमा युद्ध जितेर खुशी हुँदै आफ्नो राज्यमा फर्कने क्रममा राजा दुष्यन्तलाई कश्यप ऋषिको दर्शन गर्न मन लाग्छ र उनी कश्यपको आश्रममा जाँदा एउटा तेजिलो बालक सिंहको बच्चाको दाँत गन्दै र उसैसँग खेल्दै गरेको दृश्यले उनलाई चकित बनाउँछ। बुझ्दै जाँदा त उक्त बालक उनकै छोरा भरत हुन्छन्। यसरी अन्तमा शकुन्तलासँग राजा दुष्यन्तको सुखद मिलन हुन पुग्छ । उनी छोरा भरत र शकुन्तलालाई लिएर दरबारमा जान्छन्। यसरी शाकुन्तल महाकाव्य समाप्त हुन्छ।

त्यसैले महाकविलाई भन्नै पर्छ ‘धन्य हौ लक्ष्मी तिमी, प्रेम ब्रम्ह स्वरुप महाकाव्य भित्र केवल यौबनको प्रेमालाप मात्र देखेनौँ। तिम्रो अथाह प्रेम सागरमा फूल बोटबाट अलग्गिदा पनि तिमीलाई दुख्यो, मनको आनन्द भङ्ग भयो, प्रेम रोयो। साथी अनुशुया, करनहरुसँग शकुन्तला अलग हुँदा पनि तिम्रो प्रेम बिक्षिप्त बन्यो, बन सुन्दरी हिरणलाई बाण दागिँदा उसलाई तिम्रो प्रेमले बचायो। आस्थामा कहिल्यै बिचलन आएन, पालक कन्व प्रतिको सम्मान तिम्रै प्रेमको जलपले चम्काइ रह्यो । बंशको उज्यालोले नामाकरण सहित् जन्म लियो सकुन्तला र दुस्यन्त पुत्र भरतको रुपमा । मानवता रुपी सन्ततिको रुपमा भुमिले प्रेमको अर्को नाम पायो भारतबर्ष(आदिपर्व,पद्म पुराण) र न्यायको मार्गमा प्रेम ब्रम्हज्ञानको साक्षातकार भयो महाभारत गीता मार्फत।’

यसै सन्दर्भमा महाकबी कालिदासको यो भनाइबाट पनि ”अभीज्ञान शाकुन्तलम ” नाट्यकाब्यको काब्यरस र कथाबस्तुबारे कल्पना गर्न सकिन्छ,

‘काव्येषु नाटकं रम्यं तत्र रम्या शकुन्तला।

तत्रापि च चतुर्थोऽङ्कस्तत्र श्लोकचतुष्टयम्।।’

अन्त्यमा,तपस्या प्रेम बिनाको अहंकारमा बाँच्न सक्दैन । विश्वामित्रको अहंकार र दम्भलाई मेनकाको प्रेमले रुझाए पछी मात्र ब्रह्म ज्ञानको अभ्यास शुरु हुन्छ। ब्रह्म चेतनाले सिमा रहित प्रेम जन्माइ दिन्छ,त्यो झाङ्गिदै जान्छ र विक्षिप्त भएर विश्वामित्रको महातप प्रेमसागरमा समाहित हुन्छ। सकुन्तला-दुस्यन्त भित्रको ‘सत्यम शिवम सुन्दरम’ अर्थात ज्ञान,कर्तब्य र प्रेम अनन्तसम्म सुगन्धित भै रहने छ । विनयी भावमा महाकबिले लेखेको निम्न महाकाव्यको याचना सहित बिदा !
‘भाषा तोते छ मेरो अधखिल अधरा अन्कारै भित्र
त्यस्ती मिठी, उज्याली, विहगशिशुसँगै दाँजिदा आज भित्र
जो जो लेखेँ सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र
झल्का पाए उज्यालो नजर दुई त्यसै चिम्लिनोस् भुलभित्र।’

प्रतिक्रिया
सम्बन्धित समाचार