शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

विश्वभरका साथीहरुको आवाजलाई सम्मान गर्दै आगामी नेतृत्वको लागि तयार छु

शुक्रबार, असार १३ २०७६

कुमार पन्त
उपाध्यक्ष
गैर आवासीय नेपाली संघ (एनआरएनए)
अन्तराष्ट्रिय समन्वय परिषद

गैर आवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा दुई कार्यकाल सफलतापूर्वक नेतृत्व गरेका कुमार पन्त आगामी एनआरएनए नेतृत्वको लागि सशक्त दाबेदार हुन् । एनआरएनमा लामो यात्रा र अनुभव सँगालेका आचार्यले पहिले महासचिव भई काम गरे भने अहिलेसहित दुई कार्यकाल त उपाध्यक्ष नै भएर काम गरिसकें । वरिष्ठताको हिसावले आफु अगाडि भएको बताउने आचार्य आगामी नेतृत्वको लागि तयार भएको बताउँछन् । यसमा पनि अझ संसारभरिका एनआरएन साथीहरुको अनुरोधलाई पनि मध्यनजर गर्दै आफु आगामी नेतृत्वको लागि तयार भएको उनको भनाई छ । एनआरएनए नेतृत्वका लागि औपचारिक घोषणाको तयारी गरिरहेका आचार्यसँग एनआरएनए अभियान, आगामी निर्वाचन तथा एनआरएनएका विविध पक्षमा केन्द्रित रहेर जनसवाल दैनिकले गरेको कुराकानीको सारसंक्षेप ः

यहाँ अहिले एनआरएनए उपाध्यक्षमा दुई कार्यकाल समाप्तिको नजिक हुनुहुन्छ अब यहाँको गन्तब्य कहाँ हुन्छ एनआरएनएमा ?
मेरो एनआरएनमा लामो यात्रा र अनुभव छ । म महासचिव भई काम गरिसको र योसहित दुई कार्यकाल त उपाध्यक्ष नै भएर काम गरि सकें । वरिष्ठताको हिसावले पनि म अगाडि भएको हुँदा पक्कै पनि म आगामी नेतृत्वको लागि तयार छु । यसमा पनि अझ संसार भरिका एनआरएन साथीहरुको अनुरोधलाई पनि मध्यनजर गर्दै म आगामी नेतृत्वको लागि तयार छु तर यो औपचारिक घोषणा भने होईन । औपचारिक घोषणा पछि गर्नेछु । म एनआरएनएनको नेतृत्व लिन सक्षम छु । विश्वभरीका साथीहरु अत्यन्तै उत्साहपूर्वक ढंगले तपाईं नै नेृतत्वमा जानुपर्छ भनेर भन्दै आउनु भएको छ । गत महिना अष्ट्रेलिया पुग्दा धेरै साथीहरुले एनआरएनलाई थप उचाई दिन तपाई नेतृत्वमा हुनुपर्छ, सहयोग गर्न तयार छौं भनेर भन्नुभएको छ । साताअघि मात्रै अमेरिकासहित युरोपका देशहरुमा पुग्दा त्यस्तै खालको प्रतिक्रिया पाएको छु । साथीहरुसँग सामाजिक सञ्जाल र भिडियो कन्फरेन्समा छलफल हुँदा उहाँहरुले दर्शाउनु भएको मायाले उत्साहित बनाएको छ । अहिले साथीहरुको ‘फिडब्याक’ लिने क्रमको अन्तिम चरणमा छु ।’

नेतृत्वका लागि कस्तो कार्ययोजना बनाउनु भएको छ ?
‘भिजन २०२०’ भन्ने प्रस्ताव निवर्तमान अध्यक्ष शेष घलेले ल्याउनुभएको हो र त्यसमा एनआरएनले च्यारिटीको कामलाई कसरी अघि बढाउने भनेर स्पष्टसँग लेखिएको छ । त्यसलाई कर्यान्वयनमा लिएर जानुपर्ने मेरो कर्तव्य छ । अर्कोतर्फ हामी पछाडि धेरै ठूलो संख्याको एनआरएन दोस्रो पुस्तामा छ । त्यो पुस्तालाई स्थानीय राजनीति, व्यवसायिक , सामाजिक लगायतका क्षेत्रमा कसरी सहभागी गराउने भन्नेबारे पनि मेरो ध्यान रहनेछ । जति धेरै युवा पुस्तालाई एनआरएनमा सहभागी गराउन सकियो त्यति नै दोस्रो पुस्ताले पनि लाभ लिन सक्छन । त्यसले गर्दा नेपालले पनि फाइदा लिन सक्छ भन्ने मेरो बुझाई छ । प्रवासमा महिलाहरु निकै सक्षम छन् तर उनीहरुको उल्लेख्य रुपमा एनआरएनमा सहभागिता नभइरहेको अवस्थामा सहभागिता बढाउन पनि मेरो पहल रहनेछ ।

अहिले एनआरएनए अभियान कसरी अगाडि बढिरहेको छ ?
प्रमुख रुपमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को मुख्य दायित्व भनेकोे आफ्नै कार्यालय भवन सम्पन्न गरि सचिवालय संचालन गर्नु रहेकोमा त्यो सम्पन्न भएको छ । त्यसै गरि २०७२ सालको भुकम्पको केन्द्र बिन्दु रहेको गोरखाको लाप्राकमा ५७३ वटा घरहरु निर्माण सम्पन्न भएको छ र केही समयमा समुदायमा हस्तान्तरण हुँदैछ । काठमाडौंको शंखमुलमा रहेको एनआरएनए पार्कको परियोजना सम्पन्न गर्नुपर्ने कार्यभार हाम्रो काँधमा रहेको हुँदा उक्त कामहरु सम्पन्न गर्नेमा केन्द्रित भयौं । त्यसका अलावा बिभिन्न क्षेत्रमा हुने सम्मेलन तथा बिज्ञ सम्मेलनहरु गरि कार्ययोजना बनाउने नै हाम्रो प्रमुख कार्यभार हो अहिले ।

यहाँले आफ्नो उपाध्यक्षको कार्यकालमा उल्लेखनीय कामहरु के–के भए ?
म उपाध्यक्षमा निर्वाचित भईसके पछि मेरो जिम्मेवारीमा निर्माणाधिन एनआरएनए भवन सम्पन्न गर्नु पर्ने थियो । उक्त कार्य सम्पन्न गरि गत डिसेम्बर महिनाबाट एनआरएनए को सचिवालय आफ्नै भवनमा संचालन भईरहेको छ । त्यसै गरि अर्को जिम्मेवारी भनेको बिभिन्न मुलुकमा छरिएर रहेका नेपाली बिज्ञहरुलाई एकै स्थानमा भेला गरि बिज्ञ सम्मेलन गर्नुपर्ने मलाई जिम्मेवारी थियो उक्त काम पनि मैले सफलताका साथ सम्पन्न गरि आफ्नो जिम्मेवारी पुरा गरेको छु । संगठनले जिम्मा दिएका सबै काम ईमान्दारिताका साथ पुरा गरिरहेको छु ।

उपाध्यक्षको हैसियतले एनआरएनको अहिलेको गतिविधी बारेमा केही बताईदिनुस् न ?
बिभिन्न मुलुकामा हामीले अन्तराष्ट्रिय सम्मेलनहरु सम्पन्न गरिसकेका छौं । यस्ता सम्मेलनहरुबाट विभिन्न विषयहरुको पनि आदान प्रदान हुने र त्यसले उपयुक्त निष्कर्ष पनि ल्याउने भएकाले हामी यस्ता सम्मेलनहरुमा सहभागी भइरहेको छौ. । विश्वभर रहनुभएका एनआरएनए अभियानसँग जोडिनुभएका सबै साथीभाइहरुसँग एकाकार हुँदै हामी समग्र एनआरएनएको उद्देश्य र लक्ष्यमा केन्द्रित छौं ।

अझै पनि एनआरएनएलाई धनीको मात्रै सस्था भन्ने गरिन्छ यहाँको कार्यकालमा यहाँले ओसेनियामा रहेका नेपाली बिधार्थीको लागि के के गर्नु भयो ?
यो धनिहरुको मात्र संस्था हो भन्ने आरोप झुटो हो । उक्त विषय उठ्नुको कारण हाम्रा सामु धेरै परियोजनाहरु सम्पन्न गर्नु पर्ने चुनौती थियो । उक्त समयमा हामीहरु आर्थिक रुपले सवल साथीहरुको साथ खोज्न लागे कै हौं सोही बिषयलाई त्यस्ता हल्ला गरिए यो दुखद् विषय हो । नेपालमा विकास गर्नको लागि हामीले भिजन २०ः२० लाई आधार मानेर काम गरि रहेको अवस्था र विकास निर्माणको कामलाई तिब्रता दिने क्रममा यस्ता विषय उठेका हुन् । तर यथार्थमा त्यस्तो होईन । मेरो कार्यकालमा ओसेनिया क्षेत्रमा रहेका बिद्याथीहरुको लागि धेरै प्रयासहरु गरिएका छन् । विशेष गरि बिद्यार्थीहरुका सहज अध्ययन र भिषाका समस्याहरुलाई सहज बनाउने बिषयमा प्रम्ख काम भएका छन् ।

प्रवासमा बस्ने नेपालीलाई केन्द्रित गरेर एनआरएनले के कस्ता काम गरिरहेको छ अहिले ?
एनआरएनको मुख्य काम भनेकै प्रवास रहेका नेपालीहरुको हक अधिकारका विषयहरुलाई उजागर गर्नु हो । नेपालमा लगानी मैत्री वातावरण सुजन गर्न नेपाल सरकारसंग सहकार्य गरि तत्काल कार्यान्वयनको पक्षमा जाने तयारी गरि रहेका छौं । हामी लगानीको विषयलाई नारामा मात्र सिमित नगरी कार्यन्वयन गरेर परिणाम निकाल्ने तर्फ अगाडी बढेका छौं । यो नै प्रवासी साथीहरुको खुसीको विषय हो नी ।

एनआरएनका अहिलेका मुख्य मुद्दाहरु के–के हुन ?
एनआरएन को पहिलो विषय भनेको गैर आवासीय साथीहरुको अधिकार र संरक्षण नै हो । त्यस पछि नेपालमा लगानी भि¥याउने र आफ्नै देशमा केही गर्ने अवसर सृजना गर्नको लागि कम्पनी नै दर्ता गरि काम गरिहेरका छौं । लगानी कम्पनीमा गैर आवासीय नेपाली साथीहरुले मात्र शेयर किन्न पाउने गरि तयारी गरिरहेका छौं । यस सम्बन्धमा सानो रकम देखि ठुलो रकम सम्मको शेयर बिदेशमा बसेका नेपालीहरुले किन्न पाउने व्यवस्था सहित हामी अगाडी बढेका छौं । यो भन्दा खुसीको विषय के हुन सक्छ र गैर आसीय साथहरुको लागि ।

एनआरएनको ड्रिम प्रोजेक्ट लाप्राक प्रोजेक्टको कार्य प्रगति के कस्तो भइरहेको छ ?
लाप्राक परियोजनाको काम सकिएको अवस्था छ । हामीले नमुना बस्ती निर्माण गरिसकेका छौं । हामीले समुदायमा हस्तान्तरण पनि गरिसकेका छौं ।

एनआरएनले लगानीसँगै सीप, प्रविधि भित्र्याउने भनिएको छ नि त्यो नारामा मात्रै सिमित हो कि ?
पक्कै पनि परिणाम नआए सम्म मानिसहरुलाई विस्वास दिलाउन कठिन छ । तर हामी बोलेका बचन पुरा गर्छौं । कुनै पनि हालतमा एनआरएनले लगानीसँगै सीप, प्रविधि भित्र्याउने सवालमा कुनै दुईमत छैन । यो काम नारामा मात्र कदापी सिमित हुन दिने छैन ।

एनआरएनले नेपालमा गत अक्टोवरमा विज्ञ सम्मेलन सम्पन्न गर्यो यसले प्रवासमा बस्ने नेपालीलाई के फाईदा पुर्यायो त ?
विज्ञ सम्मेलन निश्चित रुपमा प्रवासमा रहनुभएका नेपालीहरु कै लागि आयोजना गरिएको थियो । बिज्ञ सम्मेलनबाट निर्णय गरि स्वेत पत्र नै जारी गरि हामी कार्यान्वयनको चरणमा छौं । उक्त सम्मेलनमा छलफल भएका विषयहरुलाई कार्यान्वयन गरि यथा सक्य छिटो परिणाम मुखी बनाउने तर्फ लागेका छौं । यस विषयमा ढिलाई हुने छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार