शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

युरोपेली भेला लगानी र पर्यटन प्रर्वद्धनमा केन्द्रित हुनेछ

शुक्रबार, असार १३ २०७६

शिव बरुवाल
गैर आवासीय नेपाली संघ (एनआरएनए)
युरोप संयोजक

१२ औँ युरोपेली भेलाको तयारी के–कसरी अघि बढिरहेको छ ?
हामीले अगष्ट ३ र ४ मा भेलागर्ने तय गरेका छौं । त्यसकालागि भेन्यु पनि टुङ्गो लगाइसकेका छौं । खासगरी अहिले नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुलाई समेत निमन्त्रणा गरिसकेका छौँ । यसका साथै उद्योग वाणिज्य संघ, पर्यटन सम्बद्ध विशिष्ट व्यक्तिलगायत यूरोपसहित विभिन्न मुलुकमा रहनुभएका एनआरएनका अग्रज, सल्लाहकार, संस्थापकपूर्व अध्यक्ष एवं विभिन्न प्रतिनिधीहरुलाई प्रत्यक्ष भेटेरै निमन्त्रणा गरेका छौँ । आर्थिक पाटो सबैभन्दा महत्वपूर्ण भएकोले त्यसको व्यवस्थापन, आउने पाहुनाको व्यवस्थापन लगायतका कामहरुको पनि हामीले तयारी गरिरहेका छौँ ।

यस भेलाको मुख्य उद्देश्य के हो ?
लगानी र पर्यटन प्रवद्र्धन यस पटकको भेलाको मुख्य केन्द्रविन्दुुमा रहनेछन् । पहिलो कुरा त नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल निर्माणमा आ–आफ्नो स्थानबाट योगदान गर्न प्रोत्साहन गरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको छ भन्ने सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्य हो । यसका साथै नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्ने उद्देश्य समेत हामीले राखेका छौँ । नेपालमा पर्यटनको क्षेत्रमा अथाह सम्भावना रहेको छ । तसर्थ यूरोपमा रहेका नेपालीमात्रै नभई त्यहाँका नागरिकलाई पनि हामीले नेपाल भ्रमणका लागि अनुरोध गर्नेछौँ ।

भेलामा के–कस्ता विषयवस्तुमा छलफल हुनेछ ?
विशेषतः लगानी र पर्यटन प्रवद्र्धनमा हामी केन्द्रित रहनेछौँ । यस बाहेक यो क्षेत्रीय भेला भएकाले यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नु परेको समस्या र त्यसको समाधानका विषयमा व्यापक छलफल गरिनेछ । यसका साथै यूरोपस्थित विभिन्न राष्ट्रिय समन्वय परिषदहरुले भोग्नुपरेको समस्या र आगामी दिनमा आयोजना हुने एनसीसीका अधिबेशनका विषयमा पनि छलफल हुनेछ । र अर्को महत्वपूर्ण विषय भनेको अक्टोबरमा नेपालमा आयोजना हुन गइरहेको ग्लोबल कन्फरेन्स् सम्बन्धी गहन विषयमा पनि गम्भीरतापूर्वक छलफल गर्नेछौँ । साथै यूरोपेली क्षेत्रमा रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्यउने सरकारको रणनीति र त्यसमा हाम्रो भूमिकाबारे पनि छलफल गर्नेछौँ । अर्को महत्वपूर्ण कुरा भनेको गैरआवासीय नेपाली संघको सञ्जाल ८० वटा मुलुकमा पुगिसक्दा पनि हाम्रो संघमा आवद्ध ७० हजार नेपालीमात्रै छन् । तसर्थ सो संख्यालाई कसरी वृद्धि गर्ने, भएकाको व्यवस्थापन के कसरी गर्ने भन्ने विषयमा पनि हामीले छलफल गर्नेछौँ । र हामीसँगअझै पर्याप्त समय भएकाले पनि थप एजेन्डाबारे हामी गृहकार्य गरिरहेका छौँ ।

विगतमा हुने भेलाभन्दा यस पटकको भेलामा के भिन्नता रहनेछ ?
खासगरी क्षेत्रीय बैठक भएकाले पनि यसअघि हामीले यूरोपमा रहेका गैरआवासीय नेपाली समुदाय केन्द्रित विषयमा छलफल गथ्र्यौ । स्वभाविक रुपमा यसपटक पनि यी विषय हाम्रो प्राथमिकतामा छन् । तर, अहिले भने हामीले बढी जोड दिएको विषय भनेको लगानी र पर्यटन प्रवद्र्धन नै हो । यसर्थ पनि यसपटकको भेलाबिगतको भन्दा पृथक हुने अपेक्षा हामीले राखेका छौँ ।

भेलाका कति प्रतिनिधी सहभागी हुनेछन् ?
यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, नेपाल सरकारका विशिष्ट व्यक्तित्व, एनआरएनअग्रज, सल्लाहकार, संस्थापकतथापूर्व अध्यक्ष, वर्तमान अध्यक्षलगायतविभिन्न पदाधिकारीको उपस्थिती भेलामा रहनेछ । यसका साथै मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकबाट समेत एनआरएन लगायत पत्रकार र कलाकार गरी करीब ५ सय जना प्रतिनिधी सहभागीहुने अपेक्षा हामीले राखेका छौँ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
यसपटक बैठकमार्फत हामीले तय गर्ने निर्णयहरुले समग्र संस्थालाई संस्थागत गर्न मात्रै नभई मुलुककै समृद्धिमा समेत योगदान दिन सफलहुने अपेक्षा हामीले राखेका छौँ । नेपालमा लगानी, पर्यटन, ज्ञान सीप र दक्षता भित्र्याउने सन्दर्भका विविध विषयमा हामी सबै मिलेर घनीभूत रुपमा छलफल गर्न गइरहेका छौँ । तसर्थ यस १२ औँ यूरोपेली भेलामा सहभागीभई आफ्ना महत्वपूर्ण विचार र धारणा आदानप्रदान गर्न म सम्पूर्ण गैरआवासीय नेपाली समुदाय, सम्बद्ध व्यक्ति सबैलाई विशेष अनुरोध गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार