काठमाडौं(एजेन्सी)–आइसीसी टी–२० विश्वकपको फाइनलमा न्यूजिल्याण्ड र अस्ट्रेलियाबीच उपाधिको भिडन्त आज हुँदै छ । न्यूजील्याण्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ भने अस्ट्रेलिया योसहित दोस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । अस्ट्रेलिया यसअघि वेस्टइन्डिजमा आयोजित टी–२० विश्वकपको फाइनलमा ईङल्याण्डसँग पराजित भएको थियो ।
टी–२० क्रिकेटको विश्वकप २००७ मा पहिलो पटक आयोजना गरिएको थियो । दक्षिण अफ्रिकामा आयोजना गरिएको पहिलो विश्वकप महेन्द्रसिंह धोनीको नेतृत्वमा भारतले जितेको थियो । भारतले फाइनलमा पाकिस्तानलाई ५ रनले पराजित गरेको थियो । त्यसपछि २००९ मा इङल्याण्डमा आयोजित दोस्रो टी–२० विश्वकप पाकिस्तानले जितेको थियो । पाकिस्तानले फाइनलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।
त्यस्तै २०१० मा वेस्टइन्डिजमा आयोजित टी–२० विश्वकपको उपाधि ईङल्याण्डले जितेको थियो । ईङल्याण्डले फाइनलमा अस्ट्रेलियालाई ७ विकेटले पराजित गरेको थियो । त्यसपछि २०१२ मा श्रीलंकामा आयोजित चौथो टी–२० विश्वकप वेस्टइन्डिजले जितेको थियो । वेस्टइन्डिजले यस विश्वकपमा आयोजक श्रीलंकालाई ३६ रनले पराजित गरेर उपाधि जितेको थियो । अहिले दुइ पटक टी–२० विश्वकप जित्ने एक मात्र टिम वेस्टइन्डिज हो । वेस्टइन्डिजले २०१२ र २०१६ को विश्वकप जितेको थियो ।
सन २०१६ मा भारतमा आयोजित विश्वकपमा वेस्टइन्डिजले फाइनलमा ईङल्याण्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।त्यस्तै यसअघि २०१४ मा बंगलादेशमा आयोजित विश्वकपको उपाधि श्रीलंकाले जितेको थियो । श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।अस्ट्रेलिया र न्यूजील्याण्ड दुवैले अहिलेसम्म टी–२० विश्वकपको उपाधि नजितेकाले यसपटकको विश्वकपमा भने नयाँ टिमले उपाधि जित्ने भएको छ ।